
१३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले रुस र युक्रेनबीच जारी युद्धले कोभिड महामारीपछि तंग्रिन थालेको विश्व अर्थतन्त्रसामू निकै ठूलो जोखिम थपेको भन्दै चेतावनी दिएकी छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा जारी युद्धले ‘पूर्वी युरोप र सारा विश्वभर निकै ठूलो आर्थिक जोखिम थपेको’ भन्दै चेतावनी दिएकी हुन् । युद्धले युक्रेनी नागरिकमाथि पार्ने असरबाट आफू निकै चिन्तित भएको पनि उनको भनाइ थियो ।
‘युक्रेनमा भइरहेको घटनाले म निकै चिन्तित भएकी छु र खासगरी निर्दोष मानिसमाथि पर्ने असरबाट निकै चिन्तित छु’, जर्जिभाले ट्विटरमा लेखेकी छन्, ‘यसले उक्त क्षेत्र र विश्वभर निकै ठूलो आर्थिक जोखिम थपेको छ । हामीले असरको लेखाजोखा गरिरहेका छौं र आवश्यक परेको अवस्थामा आफ्ना सदस्यलाई सहयोग गर्न तयार छौं ।’
संकटका बेला ऋण प्रदान गर्दै आएको आईएमएफले जुनमा सकिन लागेको आफ्नो कर्जा कार्यक्रमअन्तर्गत युक्रेनलाई दुई अर्ब २० करोड अमेरिकी डलर प्रदान गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4