
१४ फागुन, काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने दावी गरेका छन् । एमसीसीमा मध्यमार्ग नहुने भन्दै उनले पक्ष र विपक्षमध्ये आफूहरु विपक्षमा रहेको बताए ।
शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरुसँग छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘के के हुन् मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईटा मार्ग छन् । एस वा नो को मार्ग । हामी यथास्थितिमा नो भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए एस भन्ने पक्षमा छौं ।’
एमसीसीमा मध्यमार्गको खोजी भएको विषय आफूले पनि सञ्चार माध्यमबाट थाहा पाएको भन्दै उनले कसकसले मध्यमार्ग खोजेको हो आफूलाई जानकारी नभएको बताए ।
नेता खनालले सरकार छोड्ने कि नछोड्ने भन्ने विषय एमसीसीको मुद्धा कसरी टुंगिन्छ त्यसमा भर पर्ने बताए ।
‘सरकार छोड्ने बारेमा केही कुरा गरेका छैनौं । अब एमसीसीको मुद्धा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निर्णय गर्छ । त्यसो हुनाले एमसीसीको मुद्धा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं’ उनले भने ।
प्रतिक्रिया 4