+
+

युक्रेनबाट नेपालीहरुलाई उद्धार गर्न सफल भएका छौं : राजदूत खड्का

वसन्त रानाभाट वसन्त रानाभाट
२०७८ फागुन १७ गते ७:३६

१७ फागुन, बार्सिलोना । युक्रेनमा संकट गहिरिएसँगै त्यहाँ रहेका नेपालीहरु पोल्याण्ड स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश गर्ने क्रम बढेको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार सोमबार दिउँसोसम्म १ सय ८५ जना नेपालीहरुले युक्रेन छाडेका छन् ।

दूतावासले हालसम्म युक्रेनमा रहेका २ सय ५८ जना नेपालीहरु सम्पर्कमा आएको जनाएको छ । नेपाल सरकारले बोर्डरसम्म आउन सुझाव दिएको भए पनि त्यहाँ आइपुग्न निकै जटिल रहेको केही नेपालीहरुले गुनासो गर्दै आएका छन् ।

तर जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले स्थानीय स्तरमा जारी सूचनालाई आधार बनाएर यात्रा गर्न सुझाव दिएका छन् । ‘युक्रेनको राजधानी किएभ र खार्किभमा स्थानीय स्तरमा लगाइएको कर्फ्युको कारणले ठ्याकै आफैंले चाहेको बेला निस्कन कठिन देखिएको हो,’ राजदूत खड्काले अनलाइनखवरलाई भने, ‘सुरक्षाको दृष्टिकोणबाट एड्भाइजरी अनुसार नै ट्रेनहरु प्रयोग गर्नुपर्छ ।’

उनले दूतावासबाट हालसम्म ३८ वटा ट्राभल डकुमेन्ट जारी गरेर युक्रेनबाट नेपालीहरुलाई उद्धार गरिएको बताए । ‘हाम्रो पहिलो प्राथमिकता सुरक्षित ठाउँमा पुर्याउने हो । लगभग त्यो काम सफल भएको भन्ने मलाई लागेको छ,’ राजदूत खड्काले भने, ‘अब एनआरएनसँग सहकार्य गर्दै इच्छुकलाई घर फर्काउने तयारी पनि गर्नेछौं ।’

उनले भारतसँग नेपाल सरकारको तुलना नगर्न भन्दै आफ्नो स्रोत साधनले भ्याएसम्म उद्धार गर्न नेपाल सफल भएको दावी गरे । ‘भारतका विद्यार्थीहरुको संख्या युक्रेनमा ठुलो छ । हाम्रो चार सयको संख्या र उनीहरु चार हजार । तुलना हुनै सक्तैन । उनीहरुलाई जे जरुरी थियो र त्यो गरे,’ राजदूत खड्काले भने, ‘यहाँबाट नेपाल फर्किन पाउँ, बेखर्ची भएँ भन्ने गुनासो एक/दुई जना बाहेक कसैको आएको छैन ।’

प्रस्तुत छ, युक्रेन संकटबाट प्रभावित नेपालीहरुबारे राजदूत खड्कासँग अनलाइनखबरकर्मी बसन्त रानाभाटले गरेको कुराकानीको सम्पादित अंश ।

अहिलेसम्म कति नेपालीहरुले युक्रेन छाडेका छन् ?

२ सय ५८ जना हाम्रो सम्पर्कमा आउनुभएको छ । त्यसमध्ये सोमबार दिउँसो १ बजेसम्म १ सय ८५ जना युक्रेनबाट सुरक्षित रुपमा अर्को देश पुग्नु भएको छ । जसमध्ये १ सय ३१ जना पोल्याण्ड प्रवेश गर्नु भएको छ । अन्य ४०-५० जना पोल्याण्ड बोर्डरको लाइनमा नै हुनुहुन्छ । २७ जना स्लोभाकिया जानुभएको छ । केही संख्या अझै त्यतै जाने प्रक्रियामा हुनुहुन्छ । हंगेरीमा ४ जना र रोमानियामा २३ जना पुगिसक्नुभएको छ ।

त्यसो भए बाँकी अझै युक्रेनमा नै छन् भनेर बुझ्दा हुन्छ ?

होइन, होइन् । धेरैजसो बोर्डरमा नै हुनुहुन्छ । ठूलो संख्यामा पोल्याण्डको बोर्डरमा आफ्नो पालो पर्खेर बस्नुभएको छ ।

केहि चाहिं युक्रेन भित्रै तर अलि सुरक्षित क्षेत्रमा नै रहेको बुझिएको छ । तर अलि असुरक्षित ठानिएको किएभ र खार्किभतिरबाट प्रायः सबै बाहिर निस्किसक्नुभएको सूचना प्राप्त भएको छ । विद्यार्थीहरु, रोजगार भिसामा काम गर्न आउनु भएका वा त्यहींकै स्थायी बासिन्दाहरु पनि अन्यत्र जानुभएको बुझिएको छ ।

३-४ दशकदेखि त्यहीं स्थायी रुपमा बसोबास गर्दै आएका केही नेपालीहरू जस्तोसुकै परिस्थितिमा पनि राजधानी नछोड्ने मनस्थितिमा हुनुहुन्छ भन्ने सुनिएको छ, त्यो संख्या कस्तो छ ?

युक्रेनमा स्थायी रुपामा बसोबास गर्दै आएको नेपालीको संख्या ३८ हो । त्यहाँको गैरआवासीय नेपाली संघको अध्यक्ष हरी मल्ल ज्यू पनि केही दिनका लागि सिफ्ट हुने क्रममा नै हुनुहुन्छ । हिजो एक जना नेपाल फर्किसक्नुभएको छ । युक्रेनमा नै विवाहित पत्नी र बच्चाहरु लिएर उहाँ नेपाल र्फकनु भएको हो ।

अहिलेको संकटपछि युक्रेनबाट नेपाल र्फकने नेपाली पनि हुनुहुन्छ । त्यस्तै आज दुईजना डाक्टर साबहरु नेपाल जाँदै हुनुहुन्छ । स्थायी रुपमा बस्दै आउनु हुने नेपालीले युक्रेन नै नछोडेको भन्ने चाहिं होइन । तर युक्रेनमा नै बस्नेले पनि अलि सुरक्षित ठाउँहरु रोज्नुभएको छ ।

युक्रेनबाट पोल्याण्ड पुग्नुभएका एक विद्यार्थीले दिएको सूचना अनुसार एक गर्भवती नेपाली महिला पनि हुनुहुन्छ, जसले यसै महिना बच्चा जन्माउँदै हुनुहुन्छ । उहाँ पनि बोर्डरतिर आइरहनुभएको छ भन्ने सुनिन्छ । दूतावासलाई त्यस्तो कुनै जानकारी छ ? उहाँलाई व्यक्तिगत रुपमा कुनै सल्लाह, सहयोग वा सुझाव दिनुभएको छ ?

त्यो चाहिं अहिलेसम्म जानकारी प्राप्त भएको छैन । महिलाहरु त धेरै जना नै सम्पर्कमा आउनुभएको छ । तर तपाईंले भनेजस्तो कुनै पनि जानकारी छैन ।

सरकारले सजिलै गरी ल अब बोर्डरतिर आऊ भन्दिने, तर बोर्डरसम्म आउन, कति जोखिम छ भन्ने कुरा सरकारले नबुझेको भन्दै कतिपयले गुनासो गरेका छन् नि ?

युक्रेनको किएभ नगरपालिका र खार्किभमा स्थानीय स्तरमा लगाएको कर्फ्युको कारणले ठ्याकै आफैंले चाहेको बेला निस्कन कठिन देखिएको अवस्था हो । तर जतिखेर ट्रेनहरु चल्दैनन्, त्यो बेला एड्भाइजरी गरिएको हुन्छ । जस्तो आज (सोमबार) बिहान ८ बजेदेखि त्यहाँबाट बाहिर जाने मानिसहरुका लागि विशेष ट्रेनको व्यवस्था गर्दै आह्वान नै गरिएको थियो । त्योबारे स्थानीयस्तरमा नै चनाखो र अपडेट हुन जरुरी छ । द्वन्द्वको बेला यो फरक अवस्था हो । जति बेला सुरक्षाको दृष्टिकोणबाट एड्भाइजरी जारी हुन्छ, त्यही अनुसार नै यात्रा गर्नुपर्छ । स्थानीयस्तरमा त्यहाँस्थित एनआरएनका पदाधिकारीहरुले पनि सूचना दिएर सहयोग गरिरहनुभएको छ ।

बोर्डर पुर्‍याउन सहयोग गर्नुहोस् भनेर दूतावासको सम्पर्कमा दैनिक कति नेपाली आउनुहुन्छ ?

आज एकजना हुनुहुन्थ्यो । हिजो ४ जना हुनुहुथ्यो । हामीले उहाँहरुलाई सुझाव दियौं र आज बिहानै चार जनाले नै ट्रेन चढिसक्नुभयो । त्यस्तै एकजना ब्यवसायीले पनि सम्पर्क गर्नुभएको थियो । उहाँ भिजिटमा आउनुभएको रहेछ अप्ठ्यारोमा परेको भन्दै सम्पर्क गर्नुभएको थियो । एड्भाइजरी जारी भएपछि सम्भवतः उहाँ पनि अपडेट हुनुभएको छ ।

दूतावासको सम्पर्कमा आउने संख्या अब कम हुँदै गएको हो ?

पहिले जस्तो छैन । हामीलाई लाग्छ अब खार्किभ र किएभबाट नेपालीहरु बाहिरिसक्नु भएको छ । अब लगभग बाँकी हुनुहुन्न ।

बोर्डर पार गराउन दूतावासले कागजी प्रक्रियामा पनि सहयोग गरेको छ ?

दूतावासले आजसम्म ३८ वटा ट्राभल डकुमेन्ट जारी गरेको छ । त्यसमध्ये दुई वटा रोमानियास्थित ओनरी कन्सुलरबाट जारी भएका छन् । उहाँहरुलाई सुरक्षित स्थानमा लैजानका लागि उहाँहरुसँग सम्पर्कमा रहनेदेखि कागजी प्रक्रियामा पनि यथाशीघ्र सहयोग गर्दै आएका छौं ।

ट्राभल डकुमेन्ट नै बनाउनु परेपछि उनीहरु युक्रेनमा अवैधानिक रुपमा रहेको भनेर बुझ्दा हुन्छ ?

त्यसरी पनि बुझ्नु भएन । कतिपयले ब्याग हराएको भन्नुभएको छ । कतिपयले इमिग्रेसनमा डकुमेन्ट पेश गरेको र प्राप्त नभइसकेको बताउनुभएको छ । वर्किङ भिसामा आउनेहरुको एजेन्टले पासपोर्ट राखिदिएको भन्ने पनि सूचना आयो । तर अहिलेको अवस्थामा उहाँहरुलाई कसरी सुरक्षित राख्ने भन्नेमा नै हाम्रो ध्यान केन्दि्रत भएको छ । त्यही अनुसार नै दूतावासबाट सेवाप्रवाह भएको छ ।

उता भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काइसक्यो, नेपालले केही गर्न नसकेको भन्दै आलोचना भएको छ नि । पीडितहरुले नै गुनासो गर्दै आउनुभएको छ ।

तपाईंहरुले बुझिराख्नु पर्ने कुरा के छ भने । हाम्रो ध्वजावाहक विमान युरोपको आकाशमा प्रतिबन्धित छ । नेपाल एयरलाइन्सको जहाजबाट सम्भव छैन । अरु कम्पनीको जहाज रिजर्भ गरेर लैजान अति धेरै खर्चिलो हुन्छ । यहाँबाट नेपाल फर्किन पाउँ र बेखर्ची भएको गुनासो एक-दुईजना बाहेक कसैको आएको छैन । त्यसैले अहिले हाम्रो पहिलो प्राथमिकता भनेको उहाँहरुलाई सुरक्षित ठाउँमा पुर्याउने हो । लगभग त्यो काम सफल भएको भन्ने मलाई लागेको छ ।

दोस्रो कुरा भारतका विद्यार्थीहरुको संख्या युक्रेनमा ठुलो छ । हाम्रो चार सयको संख्या र उनीहरु चार हजार । तुलना हुनै सक्तैन । उनीहरुलाई जे जरुरी थियो र त्यो गरे । त्यसैले भारतसँग हाम्रो तुलना आवश्यक छैन । हाम्रो स्रोत साधनले भ्याएसम्म हामीले काम गर्ने हो ।

अर्कोतर्फ नेपाल नै र्फकन चाहने नेपालीको संख्या ठूलो भएमा हामीले अझै पनि पहल गर्न तत्पर छौं । भारतले स्वदेश फर्कायो नेपालले केही गरेन भनेर आवश्यकता भन्दा बढी प्रचार भयो कि भन्ने मलाई लाग्दछ ।

त्यसो भए अब पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाका रहेका नेपालीहरु त्यहाँ कति समय बस्छन् ?

मुलुकैपिच्छे नियम फरक-फरक छ । १५ दिनदेखि ९० दिनसम्मको भिसा दिएको छ भन्ने सुनिएको छ । पोल्याण्ड जाने धेरै नेपालीहरुले एक महिनाको पाइयो भन्ने सुनेको छु । व्यक्तिको डकुमेन्ट, त्यहाँ युक्रेनमा बसेको स्टाटस हेरेर फरक-फरक निर्णय हुनसक्छ । १५ दिनदेखि ९० दिनसम्म सुविधा छ । अर्कोतर्फ रुस-युक्रेन द्वन्द्वको अवस्थालाई मध्यनजर राख्दै बाँकी विषयमा उहाँहरुकै इच्छा अनुसार हामीले पनि सहयोग गर्नेछौं ।

अहिलेको यो संकटमा परराष्ट्रस्तरबाट कुन-कुन मुलुकहरुसँग समन्वय गर्नुभयो ?

अन्तर्राष्ट्रिय समुदायसँगको कुराकानी गर्दा, हामीले जर्मनस्थित परराष्ट्र मन्त्रालय, पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाका परराष्ट्र मन्त्रालयहरु, युक्रेन, पोल्याण्ड र रोमानियास्थित भारतीय दूतावासहरुमा पनि पत्राचार गरेका थियौं । यहाँस्थित युक्रेनको दूतावाससँग पनि हामी सम्पर्कमा रहेका छौं । पोल्याण्डको दूतावाससँग पनि सम्पर्कमा नै छौं । हामीले आवश्यकता अनुसार यी मित्र राष्ट्रहरुका परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर काम गरेका छौं ।

अनि एनआरएनसँगको सहकार्य ?

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदसँग समन्वय गरेर काम कारवाहीलाई अगाडि बढाएका छौं । मेरो अध्यक्षता र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्व रहने गरी उच्चस्तरीय रेस्क्यू कमिटी पनि गठन गरेका छौं । त्यसमा बिभिन्न देशका एनसीसी पदाधिकारीहरु पनि रहनु भएको छ । उहाँहरुले आफ्नो क्षेत्रगत विज्ञताको आधारमा लिड गर्ने गरी काम गरिरहनु भएको छ । कानुनी परामर्श, स्वास्थ्य सम्बन्धी परामर्श, आर्थिक सहयोग लगायतका सबै प्रयोजनका लागि कमिटीले आफ्नो काम गरिरहेको छ ।

यदि नेपाल र्फकने इच्छा छ तर आर्थिक अवस्था कमजोर छ भने ?

उच्चस्तरीय कमिटी त्यसका लागि प्रतिवद्ध रहेको छ । एनआरएनए केन्द्रीय पदाधिकारीहरुले आर्थिक रुपमा पनि सहयोग गर्न संघ तयार रहेको बताउँदै आउनुभएको छ ।

लेखकको बारेमा
वसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?