
१७ फागुन, काठमाडौं । कुनैबेला अभिनेत्रीहरु केन्द्रीय भूमिकामा रहेर निर्माण भएका बलिउड चलचित्रको व्यापार खासै सुखद् मानिंदैनथ्यो । तर अहिले अवस्था फेरिएको छ । बलिउडमा अभिनेत्रीहरु नैै मुख्य भूमिकामा रहेका चलचित्र धमाधम निर्माण भइरहेका छन् ।
नायिका केन्द्रित चलचित्रको निर्माण बढिरहेको समयमा नायिकाहरुबीच बलिउड साम्राज्यमा राज गर्ने अभिलाषा बढ्नु स्वभाविक नै हो । करिना कपूरपछि दीपिका पादुकोणले सम्हालेको बलिउडको नम्बर १ अभिनेत्रीको पगरी अब कसको पोल्टामा जाला भन्ने चर्चा पनि चलिरहेको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’को व्यापार र अभिनेत्री आलिया भट्टको कामको प्रशंसाले भारतीय मिडिया रंगिएका छन् । योसँगै अब बलिउडमा आलियाको राज चल्ने चर्चा समेत चल्न थालेको छ ।
‘गंगुबाई काठियावाडी’ले शुक्रबार १०.५० करोड भारुको व्यापार गर्यो । आलियाको नै केन्द्रीय भूमिका रहेको चलचित्र ‘राजी’को भन्दा ‘गंगुबाई काठियावाडी’को व्यापार केही करोडले बढी हो ।
चलचित्रले मंगलबारसम्म आइपुग्दा ५० करोडको व्यापारिक आँकडा पार गरेको छ । चलचित्रले चाँडै नै सय करोडको व्यापार गर्ने विश्लेषण बलिउड पण्डितहरुको छ । यसका साथै यो चलचित्रबाट आलियाले आगामी वर्षका धेरै अवार्ड जित्ने समेत विश्लेषण गर्न थालिएको छ ।
दीपिका पादुकोणको सुस्ताउँदै गएको क्रेज अब आलियाको पोल्टामा गएको टिप्पणी हुन थालेको छ ।
प्रतिक्रिया 4