+
+
कथा :

कमरेड बाबाको र्‍याइँर्‍याइँ

यतिखेर बाबा र उनका अनुयायी एकनास एकतारे रेटिरहेका देखिन्छन् । उनीहरुको एकतारेबाट एउटै ध्वनि गुञ्जिरहन्छ- र्‍याइँर्‍याइँ र्‍याइँर्‍याइँ ।

प्रकाश तिवारी प्रकाश तिवारी
२०७८ फागुन २१ गते १८:२८

राम मन्दिर नजिकैको सत्तलमा एकजना जेष्ठ नागरिक देखिन्छन् । हेर्दा सत्तरी आसपास पुगेजस्ता । शरीरमा पीत वस्त्र । लामा जटा, लामै दाह्री । हातमा एकतारे बाजा । उनको एकतारेबाट एउटै ध्वनि निस्किन्छ- र्‍याइँर्‍याइँ र्‍याइँर्‍याइँ ।

बाबालाई झरी बादलले छुँदैन । कस्तै हृदयविदारक घटनाले पनि उनको मन रुँदैन । अलिअलि निर्दयी जस्ता । धेरथोर लहडी जस्ता । निधारमा चरुभष्म लेपन । खुट्टामा घुँघरुको खनखन । कतिपय भन्छन्- उनी तेस्रोलिङ्गी हुन् । पहिरन पनि अनौठो छ उनको । कहिले उनी पहेँलो लवेदा सुरुवालमा भेटिन्छन् त कहिले पहेँलै गुन्युचोलोमा देखिन्छन् ।

केही वर्षअघिसम्म बाबा आत्मकथा लेख्ने मुडमा थिए । आधाआधी लेखे पनि । अहिले भने उनको विचार बदलिएको छ । जब मस्कोबाट नेपाल फर्किए, बाबा हरदम एकतारेको धुनमा निमग्न रहन्छन् । उनी आसपासको वातावरणमा एउटै ध्वनि गुञ्जिरहन्छ- र्‍याइँर्‍याइँ र्‍याइँर्‍याइँ !

बाबाको जन्म पूर्वी नेपालमा भएको थियो । न्वारानको नाम थियो– चन्दनप्रसाद । चन्दनप्रसाद सानैदेखि वाकपटु थिए । एकैछिन गफ चुट्न पायो भने जो कोहीलाई सजिलै पट्याउँथे । उनले युवा उमेरमै हँसिया हथौडायुक्त झण्डालाई साक्षी राखेर मार्क्सवाद लेनिनवादको सपथ खाएका थिए । उमेर तीनबीस कटेपछि भने उनको चन्दनप्रसाद नाम ओझेल पर्‍यो । उनी चन्दनप्रसाद भन्दा ज्यादा मारफेल नामले चिनिन थाले । यसो हुनुको पछाडि एउटा कहानी छ ।

चन्दनप्रसाद खसीबोका मारहान्नमा सौखिन थिए । जस्तै ठूलो खसीबोका होस् एकै चोटमा छप्काउँथे । परिआउँदा सानातिना राँगा पनि मार हान्थे । गाउँमा खसीबोका, राँगा मार हान्नु परे सबैजना चन्दनप्रसाद उर्फ मारफेललाई सम्झिन्थे । तर क दिन अचम्मको घटना घट्यो ।

दशैँको समय थियो । छिमेकमा आदिवासी समुदायले राँगो किनेर ल्याएका थिए । राँगो मार हान्ने जिम्मा मारफेलले नै पाए । उनले तरबार उठाई राँगोको गर्दनमा छप्काए । तर घाँटीको छाला पनि काटिएन । उनले पुनः दोस्रो पटक राँगाको गर्दनमा मार हाने । यसपटक पनि उही हाल भयो ।

राँगाको घाँटी छिनाल्नु त कता हो कता, गर्दनको रौँ पनि काटिएन ! उल्टै रन्थनिएको राँगो बेपत्तासँग भाग्यो । गाउँलेहरु राँगोको पछिपछि कुदे तर भेट्न सकेनन् ।

महिनौं बित्यो, राँगाको कुनै अत्तोपत्तो मिलेन । त्यही घटनापछि उनको चन्दनप्रसाद नाम छायाँमा पर्‍यो । गाउँलेहरुले चन्दनप्रसादलाई मारफेल नाम दिए । मारफेल अर्थात मार हान्न फेल (असफल) भएका व्यक्ति !

छ महिनापछिको कुरा हो, दश कोस परको गाउँबाट एउटा बटुवा त्यही बाटो भएर आएको थियो । बटुवाले ठीक त्यही हुलियाको राँगो भीमसेन मन्दिरमा सुरक्षित रहेको जानकारी दियो । उसले भीमसेन मन्दिरको पुजारीले राँगोको संरक्षण गरी राखेको सुनायो ।

साथै ‘उक्त राँगो कालगतिले बाहेक अन्य कारणले मर्न नसक्ने र कसैले उसको प्राण हरण गर्न खोजे हरणकर्ताकै मृत्यु हुने’ भनी भीमसेन मन्दिरको पुजारीले गरेको भविष्यवाणी बतायो ।

बटुवाको कुरा सुनेपछि मारफेलको भोक निद्रा हरायो । उनी भयङ्कर पिरसुर्तामा पर्नथाले । हमेसा झोक्राएर बस्ने गर्थे । डरलाग्दा सपना देख्थे । राँगो सपनामा मारफेललाई लखेट्न आउँथ्यो ।

सिङले उधिन्थ्यो । शरीरमाथि परेड खेल्थ्यो । फलतः मारफेल मनोवैज्ञानिक समस्याले ग्रस्त हुनपुगे । उपचारका लागि भएभरका धामी झँक्रीलाई देखाइयो । भूत, प्रेत, मसान, डंकिनी मन्साइयो । तर बीसको उन्नाइस भएन । तब उनी उपचारार्थ काठमाडौंस्थित मानसिक अस्पतालमा भर्ना गरिए ।

अस्पतालमा राधा नाम गरेकी नर्स थिइन् । सुन्दरतामा कमलको फूलजस्ती । सिस्टर राधाको रुप लावण्य स्वर्गकी अप्सरालाई माथ दिने खालको थियो । उनको बोलीवचन अमृतपान तुल्य थियो । राधाको कोमल हातको स्पर्श मात्रले मनोरोगीको आधा रोग गायब हुन्थ्यो ।

अस्पतालमा सिस्टर राधाले मारफेलको सक्दो हेरविचार गरिन् । राधाको मधुर बोलीवचन, माया–प्रेमका कारण मारफेलमा जीवनप्रतिको आशा जाग्यो । उनी विस्तारै पहिलेको अवस्थामा फर्किन थाले ।

मारफेल गफास्टक थिए । राधालाई देख्यो कि जोक चुटकिला सुनाउँथे । मारफेल राधाको दिल दिमागमा मोहनी मन्त्र बनेर गुञ्जिन थाले । केही महिनामै त्यसले तिलस्मी परिणाम ल्यायो । राधा र मारफेल प्रेमी प्रेमिकामा बदलिए । दुई ज्यान एक प्राण भनेजस्तै भए ।

मारफेलले राधासँग विवाह गर्न चाहेको बाबुआमालाई सुनाए । तर मञ्जुरी मिलेन । कि त राधालाई छोड्नुपर्ने, कि गृहत्याग गर्नुपर्ने कठिन अवस्थामा पुगे मारफेल । कारण थियो अन्तर्जातीय विवाह । बाहुन थिए मारफेल । राधा नेवारकी छोरी थिइन् ।

मारफेल घर छोड्न तयार भए, तर राधालाई छोड्न सकेनन् । मारफेलले राधाको साथ मधुमास बिताए । राधा र मारफेल परेवाका जोडीजस्तै थिए । उनी राधालाई ज्यानभन्दा प्यारो ठान्थे ।

यस्तैमा राधाले माथिल्लो शैक्षिक डिग्री अध्ययनका लागि मस्को प्लान पाइन् । मारफेल पनि राधासँगै मस्को गए । मारफेलले मस्कोमा लेनिनको शालिक अघि उभिएर कम्युनिष्ट अन्तर्राष्ट्रिय गीत गाए । लेनिनवाद जिन्दावादको नारा लाए ।

यसरी दुई वर्ष बित्यो ।

विस्तारै विस्तारै राधा र मारफेलको सम्बन्धमा चिसोपना आउनथाल्यो । एउटै छानामुनि रहेर पनि बिरानो जस्तो हुनथाले । अध्ययनको क्रममा राधाको रुसी कमरेडसँग इलुइलु सुरु भयो । अन्ततः राधाले मारफेललाई त्याग्ने कठोर निर्णय लिइन् ।

यसप्रकार मानसिक अस्पतालबाट सुरु भएको मारफेल र राधाको प्रेम कथा वियोगान्तमा टुङ्गियो ।

मारफेल मुटुमाथि ढुङ्गा राखी मस्कोबाट नेपाल फर्किए । नेपाल आगमनपछि उनको जीवनले यू-टर्न लियो । नास्तिक मारफेल पूर्ण आस्तिक हुनपुगे । उनले मार्क्स, एङ्गेल्स, लेनिनको सट्टा ब्रह्मा, विष्णु, महेश्वरलाई गुरु मान्न थाले । अनि काठमाडौं विशालबजार गएर एकतारे बाजा किनिल्याए । त्यस उपरान्त उनको पाइला अयोध्यापुरी राम मन्दिरतिर सोझियो ।

राम मन्दिर प्रवासपछि उनको नाम बदलियो । भक्तजनले उनलाई कमरेड बाबा नाम दिए । मन्दिर पसिरमा उनका सयौं भक्त–अनुयायी छन् । झट्ट हेर्दा सत्तरी आसपास पुगेजस्ता । शरीरमा पीत वस्त्र । लामा जटा, लामै दाह्री । हातमा एकतारे बाजा । राम मन्दिर परिसरमा कमरेड बाबाको एकतारेबाट एउटै ध्वनि निस्किरहन्छ- र्‍याइँर्‍याइँ र्‍याइँर्‍याइँ ।

बाबाले राम मन्दिर प्रवेश गरेकै साल देशमा ठूलो बाढी पहिरो आयो । तराईको सारा भूभाग डुबान भयो । लाखौं बेघरबार भए । सयौं मरे । त्यही साल परेको बेमौसमी असिनापानीले काट्ने बेला भएको धान खेतमैँ सोत्तर बनायो । किसानहरुबीच हाहाकार मच्चियो ।

त्यही वर्ष अर्को घटना पनि घट्यो । नेपाली महिलाको अस्मिता लुट्ने अमेरिकी विरुद्ध दूतावास अगाडि प्रदर्शनमा उत्रिएका नागरिकमाथि अमेरिकी सेनाले चलाएको गोली लागि तीन जना नेपाली ठहरै भए ।

तर बाबालाई यस्ता कुनै कुराले छुँदैन । कस्तै हृदयविदारक घटनाले उनको मन रुँदैन ।

अलिअलि निर्दयी जस्ता । धेरथोर लहडी जस्ता । निधारमा चरुभष्म लेपन । खुट्टामा घुँघरुको खनखन । कतिपय भन्छन्- बाबा तेस्रोलिङ्गी हुन् । पहिरन पनि अनौठो छ उनको । कहिले उनी पहेँलो लवेदा सुरुवालमा भेटिन्छन् त कहिले पहेँलै गुन्युचोलोमा देखिन्छन् ।

त्यसो त बाबामा पहिले पनि मानसिक समस्या देखिएको हो । राधाले छोडेपछि उनको स्थिति थप पेचिलो बन्न पुग्यो । गएको तीन दिनदेखि बाबाले राधा फिर्ता नपाएसम्म नतोड्ने गरी भोक हडताल सुरु गरेका छन् । यस कार्यमा उनलाई सयौँ भक्तजनको साथ मिलेको छ ।

यतिखेर बाबा र उनका अनुयायी एकनास एकतारे रेटिरहेका देखिन्छन् । उनीहरुको एकतारेबाट एउटै ध्वनि गुञ्जिरहन्छ- र्‍याइँर्‍याइँ र्‍याइँर्‍याइँ ।

यतिखेर राजधानीको अखबारमा भने एउटा सनसनीपूर्ण समाचार छापिएको छ– ‘कमरेड बाबाको र्‍याइँर्‍याइँ विरुद्ध पश्चिम नेपालको डाक्टरद्वारा आत्मदाह !’

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?