
२१ फागुन, काठमाडौं । मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वातावरण तथा जलवायु अनुकुल विकासमा नेपाली युवा परियोजना सुरु भएको छ ।
युथ इन्नोभेसन ल्याब, रेस्टलेस डेभलपमेन्ट नेपाल, क्रियसन र सीडीएमएस नामक संस्थाको साझेदारीमा चार वर्षसम्म सञ्चालन हुने परियोजनाको शुक्रबार औपचारिक कार्यक्रम गरी सुरुवात गरिएको हो ।
कोभिड-१९ को महामारीपछिको यो समयमा यो परियोजनाले मधेश, कर्णाली र सुदूरपश्चिममा रोजगारीको अवसर सिर्जना गर्ने युथ इन्नोभेसन ल्याबले जनाएको छ ।
युवामार्फत स्थानीय तहको जलवायु परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्नेछ ।
परियोजनाको, जलवायु-मैत्री उद्यमशील कार्यक्रम मार्फत युवाहरुलाई संलग्न गरी रोजगारीहरू प्रदान गर्न, जीविकोपार्जनको स्तरोन्नति गर्न र उद्यम, जलवायु परिवर्तन र सुशासनका क्षेत्रमा युवाहरुलाई सहभागी गराउने पनि जनाइएको छ ।
शुक्रबार गरिएको परियोजना सुरुवात कार्यक्रममा युथ इन्नोभेसन ल्याबबाट परियोजना प्रमुख, गोमा कार्कीले परियोजनाको उद्देश्य र परियोजना भित्र रहेका विभिन्न कार्यक्रमबारे जानकारी गराएकी थिइन् ।
त्यस अवसरमा सञ्चालित सुशासन तथा उद्यमशीलतामा युवाको सहभागिता विषयक प्यानल छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले मन्त्रालय र स्थानीय सरकारको सम्बन्ध अझै प्रगाढ बनाई विपद व्यवस्थापनमा दीर्घकालीन योजना निर्माण गर्नुपर्ने बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जलवायु परिवर्तनले आर्थिक अवस्था, जीविकोपार्जन र विपदको क्षेत्रमा असर गर्ने हुनाले जलवायु परिवर्तन र विपद व्यवस्थापनको काम संग-संगै लैजानुपर्ने बताए ।
राष्ट्रिय युवा परिषदको प्रतिनिधि उपसचिव कमला ज्ञवालीले युवाहरू नविन विचारको खानी हुने हुनाले यस्ता विचार र स्रोतको सदुपयोगले देशलाई लाभकारी हुने जनाउदै युवाहरुलाई देशमै काम गर्न प्रेरित गर्नुपर्छ भन्ने विचार व्यक्त गरिन् ।
युरोपेली संघको प्रतिनिधित्व गर्दै कार्यक्रम व्यवस्थापक रोजाल्बा टुसियोले मधेश प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको संकटासन्नता र जोखिमका मापदण्डका आधारमा छानिएको बताइन् ।
युरोपेली संघका हेड अफ कोअपरेसन मार्को जेम्मरले युरोपेली संघको पात्रोमा २०२२ युवाहरुको वर्ष भनि तोकिएको भन्दै यस वर्षयुवा लक्षित कार्यक्रमहरु अगाडि बढाउने बताए ।
प्रतिक्रिया 4