+
+

भिसा र पासपोर्टविनै विमान चढेको घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १९:२८

२२ फागुन, काठमाडौं। पासपोर्ट र भिसा नभएको व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानभित्रै पुगेको घटनाको अनुसन्धानका लागि गठित समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ ।

छानबिन समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन गृहमन्त्री खाँणलाई बुझाएका हुन् । फागुन ९ गते राति हवाइजहाजको टिकट र भिसा नभएका व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि सुरक्षामाथि प्रश्न उठेको थियो ।

गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थल सुरक्षा अवस्था तथा सुधारका उपाय सम्बन्धमा सिफारिस गर्न समिति गठन भएको थियो ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णमणि आचार्य, हवाइ सुरक्षा निर्देशक बासुदेव भट्टराई, नेपाल बायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य हुन् ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ,’ गृहमन्त्री खाँणले भने, ‘सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’

उनले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी भएको हो ? कसको कमजोरीले भएको हो ? पर्यटन, अर्थसहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने गृहमन्त्री खाणले बताए ।

अब पर्यटकको आगमन बढ्ने भन्दै गृहमन्त्री खाणले जति आगमन बढ्यो, त्यति सुरक्षा संवेदनशीलता बढ्ने भन्दै सचेत रहन सम्बन्धित निकाय चनाखो रहनुपर्ने बताए ।

प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, अभियुक्तलाई विमानस्थलमै पुर्‍याएर लिएको जानकारी तथा सीसीटिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?