
२३ फागुन, काठमाडौं । युट्युब च्यानलमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘सेलेब नेपाल’ नामक युट्युब च्यानलका सञ्चालक राहुल थापालाई पक्राउ गरेको हो ।
अभिनेत्री रेखा थापाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । यस्तै युट्युबमार्फत अभिनेत्री थापामाथि गालीगलौज गरेको अभियोग लागेकी काठमाडौंको बालाजु बस्दै आएकी शर्मिला बाइवालाई भने पक्राउ पूर्जी जारी भइसकेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए ।
शुक्रबार रेखाले ‘सेलेब नेपाल’ युट्युब च्यानलका सञ्चालक थापा, वाइबासहित तीन जनाविरुद्ध आफूमाथि गालीगलौजको जाहेरी दिएकी थिइन् ।
पल शाहविरुद्ध बलात्कारको मुद्दा दर्ता गरेकी नाबालिकाको पक्षमा बोलेको भन्दै उक्त युट्युब च्यानलले लिएको अन्तर्वार्ताका क्रममा शर्मिला वाइबाले रेखामाथि गालीगलौजको शब्द प्रयोग गरेको जाहेरीमा उल्लेख छ ।
पक्राउ परेका राहुलमाथि थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद लिएको ब्युरोले जनाएको छ ।
* यसअघि प्रकाशित समाचारमा ‘सेलेब नेपाल’ युट्युब च्यानलका सञ्चालक राहुल थापा प्रहरी नियन्त्रणमा हुनुपर्नेमा भूलवस शर्मिला वाइबा उल्लेख हुन गएकोमा क्षमा माग्दै सच्चाइएको छ ।
प्रतिक्रिया 4