+
+

हिमाल र पहाडी शैलीका घरमा ठोरी जंगल रिसोर्टको स्वागत

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन २४ गते १८:४३

२४ फागुन, काठमाडौं । प्रशस्त सम्भावना भएर पनि पर्यटन प्रवर्द्धनमा पछि परेको पर्साको ठोरी क्षेत्रमा पछिल्लो समय ठूला लगानीका होटलहरु खुल्न थालेका छन् । ८ करोड रुपैयाँ लगानी गर्ने लक्ष्यसहित ठोरी गाउँपालिका–२ मा ‘ठोरी जंगल रिर्सोट’ सञ्चालनमा आएको छ । ठोरीकै चार जना स्थानीय युवाले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरी उक्त रिसोर्ट सञ्चालनमा ल्याएका हुन् ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीलाई भगवान रामको किम्वदन्तीसँग जोडेर चर्चा गरेपछि राष्ट्रिय स्तरमै ठोरीको प्रचार भयो । यसै मौकामा ती चार जना स्थानीय युवाले एक सपना देखे । ठोरीलाई ‘पर्साको सौराहा’ किन नबनाउने ? ठोरी र सौराहाका धेरै विशेषता मिल्छन् । पर्यटकलाई घुमाउन जंगल सफारी गर्न सकिन्छ । चितवनमा हात्ती सफारी सामान्य भयो, यसलाई मधेश प्रदेशका मानिसबीच लोकप्रिय किन नबनाउने ?

यस्तै, प्रश्नहरुसँग घोत्लिंदा/घोत्लिंदै जन्मिएको हो, ठोरी जंगल रिर्सोट । रिर्सोट सञ्चालकमध्ये एक सुदीप थापाका अनुसार केही होमस्टे र लज रहेको यो भेगमा स्तरीय आतिथ्य सेवाको अभाव परिपूर्ति गर्न रिर्सोट कोशेढुंगा सावित हुने छ । थापाका अनुसार यो रिर्सोटलाई हिमाल, पहाड र तराईको संस्कृतिको अनुभव एकै स्थानमा गर्न सकिने संगमका रुपमा विकास गर्ने लक्ष्य छ ।

रिर्सोटले अहिले ६ वटा ‘जंगल टेन्ट’ र रेष्टुरेन्टबाट सेवा थालेको छ । जसमा अहिले २० भन्दा बढी पाहुनालाई सेवा दिन सकिन्छ । ३ बिघा क्षेत्रफलमा फैलिएको रिर्सोटमा अहिले ६ वटा भवनहरु बनिरहेको छ । यी भवनलाई हिमाली र पहाडी भेगमा बन्ने परम्परागत मोडलमा निर्माण गरिँदैछ । ‘तपाईं ठोरीमा पहाडको झल्को पाउनु हुनेछ, हिमाल पुगेजस्तै हुनेछ,’ थापा भन्छन्, हामी नेपालको पहिचान यो सानो क्षेत्रबाट प्रचार गर्नेछौं ।’

पर्साको ठोरी, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संगम स्थल हो । नेपालको भूगालेका हिसावले ठोरी तराईमा पर्छ । तर, पहाडको यात्रा एक पटक पनि नगरेका भारतीय र नेपालीका लागि ठोरीमै पहाडको झल्को पाइन्छ । अर्थातः यो एक ‘मिनी उपत्यका’ पनि हो । पछिल्लो समय मधेश प्रदेशको सम्भवतः सबैभन्दा बढी चर्चामा रहेको क्षेत्र हो ।

८ करोड लगानी

ठोरीमा चार जना स्थानीय युवाको सपनामा ठोरी जंगल रिर्सोट ठडिएको हो । अधिकतम ८ करोड रुपैयाँसम्म खर्च गर्ने लक्ष्यका साथ काम थालेका युवा लगानीकर्ता ५ जंगल टेन्ट र रेष्टुरेन्टको चहलपहलबाट उत्साहित छन् । ठोरी भारतसँग सिमाना जोडिएको क्षेत्र हो । जंगल रिर्सोट करिव पूर्ण क्षमतामा चलिरहेको र यसमा ५० प्रतिशत पाहुना भारतीय रहेको थापा बताउँछन् ।

नेपालबाट भने मकवानपुर, बारा, पर्सा, रौतहट र चितवनबाट बढी पाहुना आइरहेको उनी बताउँछन् । ‘ठोरी पर्यटक आइरहने क्षेत्र हो, तर रात बिताउने सुविधा सम्पन्न होटल नहुँदा यहाँ रोकिने पर्यटक ज्यादै कम थिए,’ सञ्चालक थापा भन्छन्, ‘अब यो विकल्प हामीले दिएका छौं ।’

रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि न्यूनतम ५० जना स्थानीयले रोजगारी पाउने अपेक्षा लगानीकर्ताको छ । ठोरीको स्थानीय उत्पादन खपत हुने र रिर्सोटका माध्यमबाट यस भेगलाई देश÷विदेशसम्म चनिाउने लक्ष्य लिइएको थापाले बताए ।

के-के छन् सुविधा ?

१ सय क्षमताको रेष्टुरेन्ट र २० जना मानिस बास बस्न सक्ने क्षमताको जंगल टेन्ट अहिले सञ्चालनमा छ । निर्माणाधिन भवनहरुको काम आगामी ६ महिनामा पूरा भएपछि एक साथ ७०/८० जना पाहुना बास बस्न सक्ने थापाले बताए । उनका अनुसार यहाँ १ सय जनासम्म बसेर कार्यक्रम गर्न सक्ने सभाहल समेत बन्दैछ । स्वीमिङ पुलसमेत निर्माणको चरणमा छ ।

ठोरीमा पर्यटकलाई स्तरीय सेवा दिन क्रमशः सेवा थप्दै जाने योजना रहेको उनले बताए । स्थानीय माछा र हाँसको परिकारलाई समेत ‘सिग्नेचर पकवान’ बनाउने योजना रिर्सोटको छ । तामाङ, मगर, गुरुङ र थारु समुदायको बाहुल्य रहेका कारण सो संस्कृति झल्कने सांस्कृतिक कार्यक्रमको समेत योजना बनिरहेको छ ।

ठोरीको आकर्षण के हो–कसरी पुग्ने ?

ठोरी आउने पर्यटकलाई जीप सफारी गराउन थालिएको छ । जंगल सफारीका लागि पर्सा राष्ट्रिय निकुञ्जको अनुमति लिने प्रक्रिया समेत सुरु भइसकेको थापाले बताए । यस भेगलाई सौराहामा जस्तै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिन्छ भन्ने सपना युवा व्यवसायीले देखेका छन् । यसमा भारतीय पर्यटक उनीहरुले देखेको सबैभन्दा ठूलो बजार हो ।

ठोरी ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक महत्व बोकेको ठाउँ पनि हो । ठोरीमा रहेको ‘रेड हील’, ‘ह्वाइट हील’ र सिनेही पर्वत विशेषतः पर्यटक आकर्षित गर्ने मुख्य स्थल हो । तीन वटै डाँडा चढेर नेपालको उत्तरमा रहेका विभिन्न हिमालको दृश्यावलोकन गर्न, चितवन राष्ट्रिय निकुञ्जको चारकोसे झाडी हेर्न, दक्षिण तर्फ रहेको छिमेकी मुलुक भारतीय समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ ।

सडकमार्ग हुँदै बाराको जीतपुर, वीरगञ्ज र चितवनबाट ठोरी पुग्न सकिन्छ । बाराको जीतपुर र वीरगञ्जबाट ठोरी करिब ६५ किलोमिटर दुरीमा पर्छ । निजी वा सार्वजनिक सवारीमार्फत झण्डै दुई घण्टामै ठोरी पुग्न सकिन्छ । वीरगञ्ज–ठोरी हुलाकी सडक बनेसँगै पछिल्लो समय ठोरी पुग्न सहज भएको छ ।

यस्तै चितवनको भरतपुरबाट माडी हुँदै झण्डै ६८ किलोमिटरको सडक यात्रा पार गरेपछि ठोरी पुग्न सकिन्छ । यो सडकखण्डमा पनि निजी वा सार्वजनिक सवारीमार्फत ठोरी पुग्न सकिन्छ । तर यो सडकखण्ड भएर ठोरी जाँदा दुई खण्डमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछ । जसले गर्दा यात्रा गर्दा जंगली जनावरको डर भने हुन्छ ।

छिमेकी मुलुक भारतको नरकटियागञ्जबाट जमुनिया सडकखण्ड हुँदै करिब २८ किलोमिटर यात्रा पार गरेपछि ठोरी आउन सकिन्छ ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?