+
+

सत्ता गठबन्धन तोड्न भयंकर षडयन्त्र : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १२:५४

२५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएका छन् ।

काठमाडौंमा जारी पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले भने, ‘गठबन्धनमा रहेका दलहरुको बीचमा विश्वास छ । तर, गठबन्धन तोड्नका लागि भयंकर षडयन्त्रहरु भइरहेका छन् ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने बेलामै गठबन्धन फुटाउन खोजेको तर ब्याख्यात्मक घोषणामार्फत एमसीसी अनुमोदन गरेर गठबन्धन बचाउन सफल भएको उनको भनाइ छ ।

‘एमसीसीका नाममा गठबन्धन तोड्ने प्रयास भएको थियो, सुरुमा (एमसीसी) संसदमा लैजाने केपी ओली नै हो । अहिले निःशर्त समर्थन गर्ने पनि ओली नै हो’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले एमसीसीमा ब्याख्यात्मक घोषणा भएकाले पार्टीले उठाउँदै आएको एजेण्डा सम्बोधन भएको रुपमा बुझ्न समेत नेता/कार्यकर्तालाई आग्रह गरेका छन् । ‘एमसीसीका विषयमा पार्टीले निर्णय गरिसकेको छ । पार्टीको निर्णय सबैले मान्नुपर्छ’ उनले भने ।

‘प्रतिस्पर्धामा हामीले जित्यौं, ओलीले हारे’

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीसँगको लडाईं आफूहरुले जित्दै आएको पनि बताएका छन् । एमालेमै रहेर केपी ओलीविरुद्ध उम्मेदवार खडा गरेर बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यलाई जिताउन सफल भएको उनले बताए ।

बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित राम बहादुर थापाले दल तयाग गरेपछि खाली भएको पदमा भएको निर्वाचनमा एमालेबाट स्वयं बादल र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाबीच प्रतिस्पर्धा भएको थियो ।

देवकोटालाई माधव नेपालको सिफारिसमा सत्ता गठबन्धनले साझा उम्मेदवारका रुपमा जिताएको थियो ।

‘एमालेमै रहेर राष्ट्रिय सभा सदस्यको निर्वाचनमा केपी ओलीसँग प्रतिस्पर्धा हामीले नै गरेको र हामीले नै केपी ओलीलाई हराएको हो,’ नेपालले भने ।

यस्तै, माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी दर्ता गरेपछि भएको भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि एमालेका उम्मेदवारहरु सत्ता गवठबन्धनका उम्मेवारहरुसँग पराजित भएको सुनाए ।

यही प्रसंग जोड्दै नेपालले थपे, ‘केपी ओली र हाम्रो प्रतिस्पर्धामा हामीले जितेका छौं । जहाँ प्रतिस्पर्धा, त्यहाँ हामीले जित्यौं, केपी ओलीले हारे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?