+
+

विकासको फूल फुल्न नसकेको दाङको फूलबारी

रासस रासस
२०७८ फागुन २६ गते १६:३१
तस्वीर : रासस

२६ फागुन, तुलसीपुर । दाङमा तीन उपत्यका छन् । एउटा देउखुरी, अर्को दाङ र तेस्रो तुइ दाङ । तुइ दाङ हालको तुलसीपुर उपमहागनरपालिका–१३ स्थित फूलबारी हो । जसले जिल्लाका सबै क्षेत्रको बनावटलाई प्रतिनिधित्व गर्छ । वरिपरि चुरे पहाडले घेरिएको एउटा बस्ती । हेर्दा निकै सुन्दर भएपनि विकासका हिसाबले निकै पछाडि परेको, तर औद्योगिक क्षेत्रका नाममा ज्यादै बहस भएको क्षेत्र हो ।

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी भन्छन्, ‘म नगरप्रमुखका लागि २०७४ सालमा उम्मेदवार हुँदा फूलबारीलाई औद्योगिक क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएको थिएँ, किनकि यो स्थल औद्योगिक क्षेत्रका लागि अति उपयुक्त छ ।’

त्यहाँ पानी पर्याप्त हुनाका साथै धुलो तथा धुवाँको प्रदूषण कम गर्ने जङ्गल रहेको र आवश्यक जग्गा तथा मजदुर पनि पाइने भएकाले उद्योग स्थापनाका लागि विज्ञहरूले उपयुक्त भएको बताएका थिए । नगरप्रमुख घनश्याम पाण्डे र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले पनि फूलबारी औद्योगिक क्षेत्र विकासका लागि उपयुक्त स्थान भएको भन्दै अवलोकन तथा छलफल गरेका थिए । सरोकारवालाले पनि यस विषयलाई जोडतोडका साथ उठाएका थिए ।

फूलबारी एकान्त पनि भएकाले त्यहाँको बस्तीलाई अन्यत्र स्थान्तरण र  औद्योगिक क्षेत्रका रूपमा विकास गर्न  पटक–पटकको  बहस   बहसमै सीमित भयो । त्यहाँ अन्य विकासका कार्य अझै पनि नभएकाले औद्योगिक क्षेत्र बनाएमा त्यहाँका बासिन्दाको जीवनस्तर उकासिनेमा स्थानीयवासी अझै पनि आशावादी छन् । ‘कि त यहाँ राम्रोसँग विकास गरिदिए हुन्थ्यो, कि त औद्योगिक विकास गरेर हामीलाई अन्यत्र व्यवस्थापन गरे निकै सहज हुने थियो,’ तुलसीपुर–१३ साजकुट्टी निवासी जुद्धबहादुर केसीले भने । अन्य स्थानीयवासीको भनाइ पनि यस्तै छ ।

फूलबारीमा दुई क्षेत्रको लडाइँ प्रष्ट देखिन्छ । सबै विकास पश्चिम फूलबारीमा मात्रै हुने गरेको, तर पूर्व फूलबारीलाई कुनै पनि चासो नदिने गरेको पूर्वतर्फका बासिन्दाको गुनासो छ। पश्चिमतर्फ विकासले फड्को मारेको, विद्युत्, पानीलगायतको सुविधा भएपनि पूर्वी फूलबारी भने अझैसम्म अन्धकारमा रहेको उनीहरुको गुनासो छ । ‘सबै विकास पश्चिममा हुन्छ, नेताहरु पनि सबै पश्चिमतिर छन्,’ स्थानीयवासी केसीले भने, ‘पूर्वतर्फ त हामीलाई  नेतृत्वमा पनि राख्दैनन्, विकास पनि एकदमै शून्य छ ।’ यहाँ विद्युतका पोल गाडिएको छ तर राम्रोसँग सबै ठाउँमा बत्ती बलेको छैन ।

‘खोलाको पानी पिउन बाध्य छौं  । पूर्व हुँदै तुइखोला बगेको छ । हामीले  नौ पटकसम्म त्यो खोला तर्नुपर्छ । नजिकै विद्यालय छैन, पढ्नका लागि घोराही रज्जे वा मन्नामे जानुपर्छ, कि भने बराखुट्टी आउनुपर्छ । बराखुट्टी जाँदा नौवटा खोला तर्नुपर्छ,’ वसन्त खेत निवासी निर्मला नेपालीले भनिन्, ‘खोलाले बगाउने हो कि भन्ने चिन्ता उत्तिकै छ, वर्षा लाग्यो भने आवतजावत गर्न पनि सकिने अवस्था रहँदैन ।’

खोलाको कुनै पनि स्थानमा पुल छैन । खोलामा बनेका स्ल्याब पनि वर्षातमा बगाउने गर्छ ।  सिमलखुट्टीबाट रणीयापुर पुग्दासम्म नौपटक खोला तर्नुपर्छ । टेलिकमको टावर निर्माण भएपनि अझै त्यो टावर सञ्चालनमा आउन सकेको छैन । सडकको अवस्था उस्तै छ । ट्रयाक खोलिएपनि स्तरोन्नतिका लागि कसैबाट पनि पहल नभएको गुनासो पनि बढेको छ । अहिले पश्चिमको बराखुट्टीबाट साजखुट्टीसम्मको सडकमा ग्राबेल गर्न ह्युमपाइप राख्नका लागि तीन करोड बजेट रुपैयाँ निकासा भएको छ ।

‘अहिलेसम्म यो सडकलाई कसैले पनि हेरेका थिएनन्,’ स्थानीयवासी लालबहादुर केसीले भने, ‘धेरैपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले हेर्नुभएको छ, हामी निकै खुसी भएका छौं ।’ उनले फूलबारी महत्वको स्थल रहेकाले यसको विकास गर्न आवश्यक भएको  भन्दै बजेट उपलब्ध गराउन पहल गरेका थिए ।  फूलबारी कृषि उत्पादनका लागि पनि उपयुक्त छ, वातावरण पनि एकदमै राम्रो छ ।

यहाँका बासिन्दाको  आय वृद्धिका लागि स्वरोजगारमुखी कार्यक्रमसमेत ल्याउनुपर्ने माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका १३ नम्बर वडा कमिटका नेता देवबहादुर विकले बताए । फूलबारीको पूर्वतर्फ साजखुट्टी, वसन्तखेत, सिमलखुट्टी, पनालीबोट छन् । यहाँ विकासका योजना नपरेपछि गाउँले आफैंले सक्रिय भएर पनि बाटो खन्न थालेका छन् । त्यहाँ सरकारी जागिरे, पढेलेखेका व्यक्तिसमेत उत्पादन हुन नसकेको स्थानीय अगुवा दीपशिखा घर्तीले बताए । विकासका हिसाबले पछाडि परेपछि शिक्षा, स्वास्थ्यमा पनि निकै असर परेको उनले बताए ।

तुइ दाङ

देख्दा सुन्दर देखिन्छ ‘फूलबारी’ । चारैतिर चुरेपहाड अनि बीचमा बसेका सुन्दर बस्ती । देख्ने जति सबैलाई मन लोभ्याउने ठाउँ हो यो । समग्र दाङको झल्को दिने भौगोलिक अवस्था भएकाले पनि यसलाई तुइ (सानो) दाङले चिनिन्छ । यो स्थल घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको सिमानामा पर्छ । दाङका तीनवटै सहर तुलसीपुर, घोराही र लमहीको यो केन्द्र भागमा पर्छ ।

देख्दा सबैले बयान गर्ने त्यो ठाउँको वास्तविक व्यथा भने फरक छ । उपमहानगरपालिकाको एउटा वडा भएपनि सडक सञ्जालका हिसाबले निकै नाजुक रहेको स्थानीयवासी दीपशिखाले बताए । ‘ट्रयाक खोलिएको छ, तर त्यसको स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन,’ उनले भने, ‘नाम फूलबारी छ, तर सिंचाइको उचित व्यवस्थापन नहुँदा फूलबारीमा फूलहरू नै फुल्न छाडे ।’

केही ठाउँमा स्यालो ट्युबेल जोडिएपनि ती ट्युबेलमा पनि पानी आउन छाडेको छ । सिंचाइ नहुँदा हजारौं बिघा जग्गा आकाशे पानीको भरमा खेती गर्नुपर्ने वा बाझै छाड्नुपर्ने बाध्यता छ । फूलबारीको उत्पादनले वर्षमा तीन महिना मात्रै खाना पुग्ने र बाँकी नौ महिनासम्म कसरी चलाउने भन्ने चिन्ता रहने गरेको अर्का स्थानीयवासी मोहन पौडेलले बताए । ‘अहिले युवाहरू गाउँमा छैनन् । युवामध्ये कोही भारततिर, त कोही विदेश गएका छन्,’ उनले भने, ‘ज्येष्ठ नागरिक र महिलाले नै गाउँ धानेका छन् । जागिरे तथा आम्दानीको अन्य स्रोत नभएका मात्रै यहाँ बस्ने गरेका छन् ।’

विकास निर्माणले पछाडि पर्दा यहाँका बासिन्दाको जीवनस्तर पनि उकासिन सकेको छैन । गाउँका युवा अहिले भएको जग्गा पनि बाँझो राखेर विदेशमा पसिना बनाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी देवबहादुर विक गुनासो गर्छन् । ‘ठाउँ–ठाउँमा खोला छन्, तर ती खोलामा पुल बन्न सकेका छैनन् । केही खोलामा बन्ने प्रक्रियामा छन् भने केहीमा पुल कहिले बन्छन् भन्ने निश्चित छैन ।’ स्वास्थ्य संस्था, खानेपानी र सञ्चार सुविधाको अभावमा यहाँका बासिन्दाले अहिले पनि गुज्रनु परेको उनी बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?