+
+

बन्नासाथ भत्काउनुपर्ने गरी बन्दैछन् पुल

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ फागुन २६ गते २०:५८
नुवाकोटको कोल्पु खोलामा बन्दै गरेको पुल ।

२६ फागुन, काठमाडौं । समयमै गुणस्तरीय काम गरेको भए यतीबेला नुवाकोटको कुमरीबाट धादिङको जीवनपुर जोड्ने पुलमा गाडी चलिरहेको हुने थियो । तर, बनिसकेको पुल अब भत्काएर नयाँ बनाउनुपर्ने अवस्था आएको छ ।

तोकिएको मापदण्ड मिचेर गुणस्तरहीन तवरले बनाएको भन्दै सडक डिभिजन नुवाकोटले नागार्जुन–जयबाबा–काष्ठमण्डप जेभीलाई पुलको एक भाग भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ ।

१ असार २०७३ मा आठ करोड १४ लाख रुपैयाँमा ठेक्का लागेको पुलको दुईमध्ये नुवाकोटतर्फको स्पान भत्काएर नयाँ बनाउन भनिएको नुवाकोट सडक डिभिजन प्रमुख अमृतमणि रिमालले बताए । उनका अनुसार, ३० मिटरको स्पान ढलानपछि चर्किएको छ ।

कमसल बालुवा र तोकिएभन्दा कम सिमेन्ट प्रयोगले समस्या भएको विभागको ठहर छ । गुणस्तरहीन काम रोक्न निर्देशन दिंदादिंदै थप निर्माण गरेपछि झन समस्या भएको नुवाकोट डिभिजन रिमालले बताए ।

सही निर्माणस्थल छनोट नगर्ने, डिजाइन नै गलत गर्ने, सही प्रविधि प्रयोग नगर्ने, गुणस्तरहीन सामग्री प्रयोग गर्ने, समयमै सुपरीवेक्षण नगर्ने र दिएका निर्देशन मापदण्ड पालना नगर्ने प्रवृत्तिका कारण कमजोर पुलहरु बन्ने गरेका छन् ।

बनिरहेका र बनिसकेका धेरै पुलमा गुणस्तरको धेरै समस्या देखिन थालेका छन् । बनेका पुल प्रयोग अयोग्य ठहर भइरहँदा जथाभावी तवरले निर्माण गर्ने प्रवृति झन् मौलाइरहेको छ ।

हुलाकी राजमार्गमा कमला नदीमाथि धनुषा र सिरह जोड्न बनिसकेको पुल पनि प्रयोगमा नआउँदै भत्काउनुपर्ने अवस्था छ । गत असार १७ गते आएको बाढीमा पुलको एउटा स्पान भासिएको थियो ।

ठेकदारले एउटा स्पानमा मात्र समस्या आएको, बाँकी भाग ठिक रहेको जीरह गरिरहेको २ कात्तिकमा अर्को स्पान पनि त्यसैगरी भासिएपछि पुरै संरचना भत्काएर बनाउनुपर्ने ठहर सडक विभागले गरेको छ ।

संघीय राजधानी काठमाडौं मै पनि बनिसकेको पुल प्रयोग गर्न अयोग्य ठहर भएर अलपत्र अवस्थामा छ । विष्णुमति (टेकु)मा बनेको पुल भत्काउने निर्णय भइसकेको छ ।

सडक विभाग र परामर्शदाताले सञ्चालनको लागि अयोग्य ठहर गरेपछि बनिसकेको पुल तीन वर्षदेखि पार्किङमा परिणत भएको छ । सवारी दुर्घटनाको जोखिम हुन सक्ने भन्दै सरकारले बल्ल यो पुलमाथि पर्खाल लगाएको छ ।

टेकुस्थित बिष्णुमति खोलामाथि बनेको भत्काउनु पर्ने पुल/फाइल तस्वीर

ठेकदार कम्पनी पप्पु कन्स्ट्रक्सनले पुल निर्माणमा गम्भीर त्रुटि गरेको भन्दै विभागले त्यसलाई भत्काएर अर्को बनाउनुपर्ने अडान लिंदै आएको छ । रेट्रोफिट गरेर यो पुल सञ्चालनयोग्य बनाउन नसकिने विभागको ठहर छ ।

प्रि–स्ट्रेस प्रविधिमा बनेको पुल भएकाले यसमा रेट्रोफिट गर्दा पनि जोखिम घटाउन गाह्रो हुने देखिएको विभागका अधिकारीहरु बताउँछन् ।

झण्डै २० करोड खर्च गरेर बनेका दुबै पुलमा विभिन्न प्राविधिक गल्ती भएका छन् । यो पुलको पक्की आधार संरचना (प्रि स्ट्रेस कंक्रिट ग्रिडर र केबलको ज्याकिङ)को गुणस्तहीन भएको विभागको ठहर छ । आयोजनासँग परामर्श तथा सल्लाह नगरी पुलको डेक स्ल्याब निर्माण गरिएको विभागको निष्कर्ष छ ।

पुलको परामर्शदाता कम्पनीले यो पुल ढलानका क्रममा तारको ज्याकिङ नमिलेको रिपोर्ट दिएको थियो । निर्माण सामग्रीहरुको ल्याब टेस्ट नगरिएको र पटक–पटक निर्देशन दिँदा ठेकेदारले रातारात ढलान गरेको विभागका अधिकारीहरू बताउँछन् ।

ठेकेदार पप्पु कन्सट्रक्सन भने आफूमाथि अन्याय भएको भन्दै मध्यस्थता परिषद् (डिस्प्युट बोर्ड) मा पुगेको छ । सडक विभागकै सुरीवेक्षणमा गुणस्तरीय पुल बनाएको उसको दाबी छ ।

गुणस्तरको जिम्मेवारी कसले लिन ?

२३ चैत २०७७ मा तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशूली नदीमाथि बनिरहेको पुल भत्कियो । भत्किएको भाग मर्मत गर्ने क्रममा १३ वैशाख २०७८ अझ भत्किंदा दुई श्रमिक त्रिशूलीमा बेपत्ता भए ।

उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ सिवाइको त्रियुगा नदीमा निर्माणाधीन पुलको दुई स्पान १८ असार २०७८ मा भत्कियो । भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामा निर्माण भइरहेको पुल बन्दाबन्दै गत १२ मंसिरमा भत्कियो ।

वैशाखयता मात्रै सडक विभाग, प्रदेश सरकार, स्थानीय तहसहित विभिन्न निकायले बनाएका करिब २ दर्जन पुल क्षतिग्रस्त भएका छन् । जबकी, ती पुलहरु ८० वर्षको आयु हुनेगरी बनाइएका वा बनाइँदै गरेका थिए ।

करोडौं करोडका ति संरचना निर्माणमा भइरहेको लापरबाहीको जिम्मेवारी लिने वा जिम्मेवार बनाउने काम कतैबाट भएको छैन ।

कहाँ हुँदैछ त्रुटि ?

पछिल्लो समय पुलहरु बनिसकेपछि प्राविधिक त्रुटि भेटिने क्रम बढेको सडक विभाग बताउँछ । बनेपछि भत्काउनुपर्ने अवस्था मात्रै छैन, कति पुल निर्माणाधीन अवस्थामै भत्किरहेका छन् । बनिसकेका पुल बग्ने क्रम पनि बढेको छ ।

निर्माणाधीन र भर्खरै बनेका पुलहरु भाँचिने, बग्ने घटना बर्सेनि बढ्दै गएका छन् । विज्ञहरु यस्ता घटनालाई पाठका रुपमा लिएर अघि बढ्न सुझाव दिएपनि सरकारले बलियो अनुगमन समेत गरेको छैन ।

पुल बनिरहेका समयमा पर्याप्त अनुगमन नगर्ने र भत्किएपछि सबै दोष परामर्शदाता र ठेकेदारलाई लगाएर उम्कने प्रवृत्ति सरकारी निकायमा छ । ठेकेदारले दक्ष जनशक्ति नलगाउँदा पनि यस्तो समस्या दोहोरिने गरेको विज्ञहरु बताउँछन् ।

अपर्याप्त बजेट र कमजोर डिजाइनमै काम गराउन तम्सिंदा पनि यस्ता घटना हुने गरेका छन् । बजेट नै कम राखेर लागत तयार गरिएको टेन्डरमा ४० प्रतिशतसम्म घटेर ठेक्का लिने प्रवृत्ति पनि बढेको छ ।

पूर्वसिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय नेपालमा समग्र निर्माण सामग्रीको गुणस्तर परीक्षण गर्ने भरपर्दो प्रयोगशाला समेत नभएको बताउँछन् । त्यसमाथि सस्तैमा ठेका दिने–लिने प्रवृत्तिले सिर्ध कामको गुणस्तरमा प्रहार गरेको उनले बताए ।

विज्ञहरु अध्ययन, डिजाइन, निर्माण र सुपरीवेक्षणको पाटो बलियो नबनाएसम्म कमजोर पुल बन्ने क्रम नरोकिने बताउँछन् । भूगर्भप्रविधि इन्जिनियर भेषराज थापा १०० वर्षको सम्मको मात्र पानीको बहावको मात्रै हिसाव गरेर पुल डिजाइन गर्दा समस्या देखिएको बताउँछन् ।

अब २०० वर्षमा आउनसक्ने बाढीको हिसाब गरेर पुलहरु बन्नुपर्ने उनको मत छ । डिजाइन र निर्माण पनि त्यही हिसाबको हुनुपर्ने बताउँछन् ।

उनका अनुसार ठेकदारमा नयाँ प्रविधि नअपनाउने, अपनाएपनि विज्ञलाई संलग्न नगराउने प्रवृत्ति छ । वैज्ञानिक तथ्यमा आधारित भूगर्भ परीक्षण नगरिंदा पनि पुलहरुमा समस्या देखिने गरेको उनले बताए ।

सही डिजाइनका पुल निर्माणमा पनि ठेकेदारको लापरवाही भेटिन्छन् । निर्माणको क्रममा हुने ढिलाइ र कमजोर गुणस्तरका सामग्री प्रयोगले पनि पुलहरु भत्किने क्रम बढेको छ ।

निर्माणको बेला सरकारी सुपरीवेक्षण नहुने र परामर्शदातासँग ठेकेदारले मिलेमतो गर्ने प्रवृत्ति पनि दोषी रहेको जानकारहरु बताउँछन् ।

निर्माण व्यवसायीहरु भने महामारीपछि सिर्जित अप्ठेरोमा काम गर्न नसक्दा बनिरहेको पुल बाढीले बगाउने क्रम बढेको दाबी गर्छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह कतै नयाँ प्रविधिमा पनि समस्या देखिने गरेको बताउँछन् ।

‘प्रि–स्ट्रेस प्रविधिमा पुल बनाउँदा २८ दिनसम्म टेकोमा स्ल्याब अड्याएर दुवै साइडबाट तार तान्नुपर्छ,’ उनी भन्छन्, ‘यो काम गर्दा नै धेरै ठाउँमा समस्या देखा परेको थियो ।’

कतिपय पुल गलत डिजाइनको शिकार भएको हुनसक्ने अध्यक्ष सिंहले बताए । कमला लगायत स्थानमा पुल डिजाइन गर्दा नदीको वास्तविक अवस्था नहेरिएको उनको विश्लेषण छ ।

‘पूर्वपश्चिम राजमार्गक कमलामा ७०० मिटरको पुल छ, हुलाकी राजमार्ग कमलामा ४७० मिटरमा खुम्च्याइएको छ’, सिंह भन्छन्, ‘यसरी हचुवामा डिजाइन गर्ने कामले पुलहरु समस्याग्रस्त बनेका छन् ।’

यस्तो अवस्थामा निर्माण कम्पनीलाई मात्रै दोषी देखाएर सरकारी पक्ष उम्कन नमिल्ने उनको भनाइ छ ।

सडक विभागका अधिकारीहरु नेपालमा नयाँ प्रविधिका पुल बन्न थालेकाले आवश्यक ज्ञान र सावधानी नपुग्दा बीचैमा बग्ने, भाँचिने, भासिने घटना बढेको बताउँछन् ।

‘आरसीसी पुलमा पिल्लरहरुको दुरी २५ मिटर हुन्थ्यो, प्रि–स्ट्रेस प्रविधिमा अहिले ५५ मिटरसम्म दुरी राखिन्छ,’ सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवप्रसाद नेपाल भन्छन्, ‘ठेकेदारले डिजाइन र प्रविधिअनुसार सावधानीपूर्ण र वैज्ञानिक तवरले काम नगर्दा भत्कने समस्या बढेको हो । कतिपय अवस्थामा अनुगमनको पाटो पनि कमजोर भएको हुनसक्छ ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?