+
+
सिनेमा–फेसन :

कस्ट्युम डिजाइनिङ : नेपाली फिल्मले ध्यान नदिएको पाटो

सम्झना विक सम्झना विक
२०७८ फागुन २७ गते ९:००

२७ फागुन, काठमाडौं । ‘कस्ट्युम खाली कपडा मात्र नभएर पात्रको व्यवहार, सोच, संस्कृति र भूगोलको पहिचान हो,’ निर्देशक मनोज पण्डित भन्छन्, ‘कथाको मनोविज्ञान, राजनीति, संस्कृति सबैलाई प्रतिनिधित्व गर्ने भएकाले फिल्मका लागि कस्ट्युम डिजाइन आधारभूत आवश्यकता हो ।’

तर, निर्देशक पण्डितले भनेजस्तै नेपाली फिल्मले कस्ट्युम डिजाइनिङमा ध्यान दिन सकेको छ त ?

२०६० को दशकसम्म नेपालमा कस्ट्युम डिजाइन भनेकै गीतमा नायक–नायिका र साइड डान्सरका लागि मात्र हो भन्ने बुझिन्थ्यो । त्यसपछि फिल्म क्षेत्रमा नयाँ पुस्ताको आगमनसँगै यसप्रति थोरै गम्भीर हुन थालेको फिल्मकर्मीहरु बताउँछन् । विशेषगरी नाटकबाट फिल्ममा आएका कलाकार र निर्देशकले कस्ट्युम डिजाइनलाई महत्व दिन थालेको देखिन्छ ।

निर्देशक पण्डित अगाडि भन्छन्, ‘नेपालमा सिनेमाको भाषा बुझेको कस्ट्युम डिजाइनर अभाव छ । अझै पनि लुगा भनेको राम्रो देखाउन र देखिनको लागि मात्र हो भन्ने मानसिकता छ ।’

अर्का निर्देशक दीपेन्द्र के खनाल फिल्मको कथा, पात्र र परिवेशअनुसार नेपालमा पहिरन निर्धारण गरेको नपाइने बताउँछन् । ‘सेटदेखि कपडा डिजाइनको राम्रोसँग अभ्यास सकेको छैन,’ उनी भन्छन् । कलाकारले लगाएको कपडासँगै त्यसको रंग कति गहन हुन्छ भनेर विस्तृतमा अध्ययन गर्ने परिपाटी नै नबसेको उनको भनाइ छ ।

हाल आएर नेपाली सिनेमामा कपडाको गुणस्तरसँगै आकर्षक पनि देखिनुपर्छ भन्ने चेतना आएको छ । तर अझै पनि कस्ट्युम डिजाइनरलाई सिनेमाको अभिन्न अंग हो भनेर बुझ्ने गरेको पाइँदैन ।

त्यसो त, नेपाली फिल्ममा कस्ट्युम डिजाइनका लागि भनेर बजेट नै कम छुट्याइन्छ । कलाकारले लगाउने लुगा मात्रै होइन, पटकथा पढेर पात्रको रंग, मनोदशा र परिवेश सोच्ने व्यक्ति चाहिने निर्देशक खनाल बताउँछन् ।

अभिनेत्री सुरक्षा पन्त फिल्म छायांकनका क्रममा केही समयअअघि डोल्पा पुगिन् । उनलाई प्रोडक्सन टिमले कपडा कहाँबाट ल्याउने भनेर सोध्यो ? डोल्पाको असली कथामा फिल्म बन्दैछ, तर त्यहाँका मानिसले लगाउने लुगा र गहनाको व्यवस्थापन गरिएको थिएन । पछि आफ्नो सुझावअनुसार निर्माण टिमले स्थानीयवासीबाट कपडा किनेको र गरगहना सापटी लिएर काम गरेको उनी सुनाउँछिन् ।

‘पहिरनले आफूले निभाउने पात्रको महसुस हुन्छ । पात्रको चरित्र, रंगअनुसारको पहिरन छनोट गरियो भने न्याय हुन्छ,’ उनी भन्छिन् ।

फिल्मका लागि पहिरन छनोट गर्दा वास्तविक जीवनलाई आधार मानेर गर्नुपर्नेमा त्यसो हुन सकेको देखिंदैन । अभिनेत्री पन्त भन्छिन्, ‘मुख्य समस्या बनेको सिनेमा उद्योगमा फेसन डिनाइनर बर्गेल्ती हुनुहुन्छ । तर उहाँहरुको सोच जसरी भएपनि ग्ल्यामरसँगै सुन्दर देखाउने भन्ने मात्र हुन्छ । गाँउको पात्रको भूमिका गर्दा पुरानो प्रयोग भइसकेको कपडा लगाउनुपर्ने हो, तर हामीकहाँ त्यसका लागि पनि नयाँ लुगा खरिद गर्ने चलन छ ।’

कस्ट्युम डिजाइनका साथै मेकअपमा पनि समस्या रहेको फिल्मकर्मीहरु बताउँछन् । कलाकारहरुको पात्र र अनुहारको बनोटअनुसार मेकअप नहुँदा उनीहरु उमेरभन्दा बढी नै परिपक्क देखिरहेका हुन्छन् ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा फिल्म निर्माण गर्दा हरेक पक्षसँग समन्वय हुनुपर्नेमा त्यो भइनरहेको बताउँछन् । उनी भन्छन्, ‘उत्कृष्ट चलचित्रको हरेक पक्ष बीचमा सहकार्य हुनु जरुरी छ । तर हाम्रो यो संस्कार जति बस्नुपर्ने त्यति हुन सकेको छैन । कस्ट्युम डिजाइनरको व्यवस्थापन गर्ने दायित्व निर्माता–निर्देशकको हो । तर उहाँहरुले यसमा एकदमै कम बजेट छुट्याउने गरेकाले सोचेजस्तो काम भइरहेको छैन ।’

फिल्ममा देखिने मुख्य कुरा कस्ट्युम नै हो । अन्य प्राविधिक कुरासँगै यसबाट पनि सिनेमाको गुणस्तर निर्धारण हुन्छ । तर नेपालमा भने कस्ट्युम डिजाइनरलाई लिएर पटकथाअनुसार डिजाइन गरेको त्यति नपाइने फेसन डिजाइनर आलिया गिरी बताउँछिन् ।

‘सिनेमा क्षेत्र राम्रो भयो भने हाम्रो पनि विकास हुन्छ भन्ने सोच प्रोडक्सन हाउसदेखि फेसन डिजाइनर सबैले सोच्नुपर्छ,’ गिरी भन्छिन् ।

कस्ट्युम डिजाइन फिल्मको गहना भएकाले यसमा निर्माता–निर्देशकले कन्जुस्याइँ गर्न नहुने फेसन डिजाइनर युबी थापाको पनि भनाइ छ । उनी भन्छन्, ‘हाल आएर नेपाली सिनेमामा कपडाको गुणस्तरसँगै आकर्षक पनि देखिनुपर्छ भन्ने चेतना आएको छ । तर अझै पनि कस्ट्युम डिजाइनरलाई सिनेमाको अभिन्न अंग हो भनेर बुझ्ने गरेको पाइँदैन, यसमा नेपाली सिने उद्योग संवेदनशील हुन जरुरी छ ।’

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?