+
+
बाल स्वास्थ्य :

‘बच्चालाई हार्न नसिकाउँदा आत्महत्याको घटना बढ्यो’

विजय ज्ञवाली विजय ज्ञवाली
२०७८ फागुन २७ गते ११:००

हिजोआजका बच्चाहरुमा अत्यधिक चकचके व्यवहार देखाउने, स्कुल जान नमान्ने, एकान्त मनपराउने, घरमा ढोका लगाएर बस्ने जस्ता असामान्य व्यवहार देख्ने गरिएको छ । घरमा पाहुना आउँदा पाहुनासँग कुराकानी गर्ने बच्चाहरु कमै भेटिन्छन् । बरु पाहुना देखेर अर्काेतिर लुक्न जाने जस्ता समस्या धेरै बालबालिकामा भेट्न सकिन्छ ।

बालबालिकामा देखिने यस्ता यावत समस्याहरु कोरोनापछि निम्तिएको सामान्य समस्या मानेर अभिभावकहरु बस्ने गर्छन् । तर यो मनोसामाजिक हिसाबले हेर्दा चिन्ताजनक देखिन्छ ।

तीन लहरको कोरोनाको महामारी सकिएर अहिले स्थिति सामान्य बन्दै गएको छ । तर अझैपनि बच्चाहरुले स्कुलको ‘रुटिन अफ लाइफ’लाई पहिलेकै अवस्थामा ढाल्न सकिरहेका छैनन् । समयमा होमवर्क नगर्ने, झूट बोल्ने, अत्यधिक चकचके व्यवहार देखाउने, स्कुल जान नमान्ने जस्ता समस्या लिएर आउने अभिभावकहरुको संख्या पनि बढ्दै गएको छ ।

किशोरावस्थामा पुगिसकेकाहरुमा पनि विद्यालयबाट फर्किएपछि एकान्त मन पराउने, घरमा ढोका लगाएरमात्रै बस्ने, पाहुना आउँदा सामाजिक व्यवहार देखाउन नसक्ने जस्ता समस्या धेरैमा देख्न सकिन्छ । यसलाई हामीले सामान्य सम्झिएर बेवास्ता गर्यौं भने उनीहरुको जीवनमा गम्भीर समस्या पैदा हुन सक्ने देखिन्छ ।

मनोसामाजिक समस्या बालिकामा धेरै

नेपाल प्रहरीको तथ्यांकलाई विश्लेषण गर्ने हो भने पछिल्लो ५ वर्षमा बालबालिकाको आत्महत्या बढ्दो अवस्थामा छ । गत आर्थिक वर्षसम्म आइपुग्दा त कूल आत्महत्याको १० प्रतिशत हिस्सा बालबालिकाले ओगटेका छन् । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा ६ हजार २७९ जनाले आत्महत्या गरेको रेकर्ड छ । त्यसमध्ये पुरुष ३ हजार ४१९ जना र महिला २ हजार १९८ जना रहेका छन् । जसमा ६६२ जना बालबालिकाले आत्महत्या गरे । त्यसमध्ये बालक २५२ जना र बालिका ४१० जना छन् ।

कूल आत्महत्याको १० प्रतिशतसम्म बालबालिकाले आत्महत्या गर्नु र त्यसमा पनि बालकको तुलनामा बालिकाको संख्या झण्डै दोब्बर हुनुमा मनोसामाजिक समस्या नै मुख्य कारक देखिन्छ । यसमा बालक र बालिकालाई अभिभावकले गर्ने व्यवहारले मुख्य प्रभाव पारेको छ ।

जीवनमा हार र जित दुवै हुन्छ । अहिलेको शिक्षा प्रणालीले हार्न पनि सिकाइरहेको छैन । अहिले हार्न नसिकाउँदा मान्छे हारेको बेला निराश बन्ने गर्छ, मानसिक तनावमा हुन्छ र उसले आत्महत्या जस्ता अप्रिय कदम समेत चाल्न सक्छ ।

बालक र बालिकाको बीचमा अभिभावकले गर्ने व्यवहारमा नै फरक पाउन सकिन्छ जसले बालकभन्दा बालिकाले आफूलाई कमजोर महसुस गरेर आत्महत्यासम्मको बाटो अपनाउने गरेका छन् ।

सामान्यतया त केटालाई हुर्काउने तरिका र केटीलाई हुर्काउने तरिकामै अन्तर देखिन्छ । हामी छोरीलाई हुर्काउने बेलामा खेलौना दिंदा भाँडाकुँडा वा त्यस्तै घरभित्रका सामग्रीहरु दिन्छौं । केटाहरु हुर्काउने बेलामा गोली वा अन्य त्यस्तै हतियारहरु खेलौनाको रुपमा दिइन्छ । यसरी बच्चा उमेरमै केटा र केटीको कामको विभाजन गरिएको हुन्छ । यसले मानसिक रुपमा गहिरो असर पारिरहेको हुन्छ । हुर्काइको प्रक्रियामा नै विभेद हुने हुँदा पनि बालिकाहरुको आत्महत्या बढी भएको हो भन्न सकिन्छ ।

स्क्रिनको लत 

कोरोनाका कारण केटाकेटीहरु स्कुल जान पाएनन्, लामो समय घरभित्रै बस्न बाध्य भए । यो समयमा उनीहरुको शारीरिक अभ्यास पनि न्यून भयो र साथीहरुबीच भेटघाट हुँदा हुने भावनात्मक वृत्तिविकासमा पनि कमी आयो ।

कोरोना कालमा केटाकेटीमात्रै होइन, आमाबाबु पनि घरमै सीमित भए । चार भित्ताभित्रै सबै परिवार सँगै त बसे तर पनि भावनात्मक रुपमा कोरोनाले गर्दा सबै जोडिन सकेनन् । परिवारले आर्थिक वा मनोवैज्ञानिक दबावको महसुस गर्दा बालबालिकालाई गुणस्तरीय समय दिन सकेनन् । एकल परिवारमा हुर्किएका बच्चाहरुलाई बाबुआमाले गुणस्तरीय समय दिन नसक्दा भावनात्मक रुपमा उनीहरु कमजोर बन्न पुगे । बच्चाहरुले अभिभावकसँग कुरा गर्न खोज्दा मोबाइल दिएर हुन्छ या अरु स्क्रिनयुक्त प्रविधि दिएर भुलाउन खोजे । यसले गर्दा बच्चा र अभिभावकहरुमा एउटा ग्याप देखियो । जसले गर्दा बच्चाहरुले सामाजिक बन्नै सकेनन् ।

कोरोना कालमा बच्चाहरुले सबैभन्दा धेरै स्क्रिनको प्रयोग गरे । जसले उनीहरुमा स्क्रिनको लत बढ्न थाल्यो । स्क्रिनको लत बढ्दै जाँदा मान्छेमा इन्स्टेन्ट ग्रापिफिकेसन अर्थात् क्षणिक रुपमा तृप्त हुने मनोविज्ञानको विकास भयो । बालबालिकामा हुने मनोवैज्ञानिक समस्याको यो पनि एउटा कारण हो ।

विद्यालयमा अनावश्यक प्रतिस्पर्धाले पनि बच्चाहरुमा मनोसामाजिक समस्या निम्त्याउने गर्छ । अहिलेको हाम्रो स्कुले शिक्षा प्रणालीले बच्चालाई सफलताको लागि मात्रै तयार पारिरहेको छ । जुन मानसिक रुपमा कमजोर बनाउने एउटा कारण मान्न सकिन्छ । मनोवैज्ञानिक भाषामा मानसिक लचकता भन्ने एउटा अवस्था हुन्छ । मानसिक लचकताले मान्छेलाई प्रतिकूल समयमा पनि जितेर अघि बढ्न सिकाउँछ । तर अहिलेको स्कुले शिक्षा प्रणालीले मानसिक लचकतालाई खासै महत्व दिने गरेको पाइँदैन । सफल विद्यार्थीको तस्वीरसहित ठूलो विज्ञापन गरिन्छ । अर्थात् सफलतालाई अहिलेका स्कुलहरुले बिजिनेस मोडलको रुपमा प्रयोग गरिरहेका छन् ।

तर त्यसले बाँकी विद्यार्थीहरुमा पार्ने मानसिक अवस्थालाई भने समेट्न सकेको पाइँदैन । अर्थात् हाम्रो शिक्षा प्रणालीले जीवन जिउन सिकाइरहेको छैन कि केवल जीवनमा सफल हुन मात्रै सिकाइरहेको छ ।

अहिलेको शिक्षा प्रणालीले हार्न पनि सिकाइरहेको छैन । जीवनमा हार र जित दुवै हुन्छ । अहिले हार्न नसिकाउँदा मान्छे हारेको बेला निराश बन्ने गर्छ, मानसिक तनावमा हुन्छ र उसले आत्महत्या जस्ता अप्रिय कदम समेत चाल्न सक्छ । हारेर उठ्न नसिकाउँदा पनि मान्छेले आत्महत्याको बाटो अपनाउन सक्छ । त्यसैले जित्ने कसरी भन्ने मात्रै होइन, जीवनमा आउने हार–जितलाई कसरी अघि बढाउने ? भन्ने कुरालाई पनि हामीले ध्यान दिनुपर्छ ।

समाधान कसरी खोज्ने ?

माथि उल्लेखित समस्या धेरैले भोग्नु भएको छ । अब कुरा आयो समाधान कसरी खोज्ने भन्ने । समाधानको लागि मुख्य कुरा अभिभावक र बच्चाको बीचको जुन माथि भनिएको ग्याप छ त्यसलाई हटाउनु नै मुख्य समाधानको बाटो खोज्नु हो ।

यसमा अभिभावक समक्ष पनि अनेक कठिनाइ छन् । सधैं काममा व्यस्त हुँदा धेरै अभिभावकहरुले बच्चालाई समय दिन सक्दैनन् । त्यो स्वाभाविक कुरा हो । तर यसको समाधानका लागि बच्चालाई धेरै समय दिन सकिंदैन भने उनीहरुलाई जति समय दिइन्छ त्यो समय गुणस्तरीय हुनुपर्छ । ‘क्वान्टिटी अफ टाइम’ दिन नसके पनि दिएको समयमा बच्चासँगै खेल्ने, उनीहरुलाई कथाहरु सुनाउने र उनीहरुलाई नयाँ कुरा सिकाउन प्रेरित गर्ने गर्नुपर्छ ।

हामी एक वर्षमा यति सिक्नै पर्छ भन्ने दबाबबाट बच्चालाई मुक्त राखौं । बरु सिकेको कुरा कति प्रभावकारी छ ? भन्नेतिर ध्यान दिन सकियो भने यसले बढी अर्थ राख्छ । हाम्रा बच्चालाई गणितका समस्या समाधान गर्न सिकाउँछौं तर चिया पकाउँदा ग्याँस बाल्न बच्चाहरुले जान्दैनन् । कुनै समस्या पर्दा सबै समाधान हामी खोजीदिन्छौं तर उनीहरुले नै त्यो समस्याको समाधान खोजी गर्न सक्छन् भने पनि उनीहरुलाई प्रयास गर्न दिँदैनौं ।

त्यसैले यही समस्या समाधान गरेर आफैंले समाधान गर्न सक्ने समस्या छ भने उनीहरुलाई नै समाधान गर्न छाडिदिने हो भने बच्चामा पनि समस्यासँग खेल्ने सोचको विकास हुन्छ र बच्चाहरु सिर्जनशील बन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?