+
+
अग्रपथ :

आपको पञ्जाब-दिग्विजयको अभिप्रेरणा

सञ्जय हामीलाई भन्दैथिए- ‘भारतमा अब कुनै कम्युनिस्ट छ भने खाँटी कम्युनिस्ट यही आप हो । पुराना कम्युनिस्ट त खत्तम भइसके । तिनीहरूमा न इमान रहृयो न जमान । न समयलाई बुझ्न सक्ने क्षमता रहृयो, न डेलिभरी गर्ने व्यवस्थापन सीप । आपमार्फत हामी राजनीतिको भाष्य मात्र हैन, यसको परिभाषा र व्याकरण नै बदल्दैछौं ।’

डम्बर खतिवडा डम्बर खतिवडा
२०७८ फागुन २९ गते १८:०५

भर्खरै हाम्रो दक्षिणी छिमेकी देश भारतमा ५ प्रदेशमा विधानसभा निर्वाचन सम्पन्न भएको छ । त्यसमध्ये उत्तराखण्ड र उत्तरप्रदेश नेपालसँग सिमाना जोडिएका प्रदेश थिए । गोवा, मणिपुर र पञ्जाबमा पनि सँगसँगै चुनाव भएको थियो ।

पाँचमध्ये चार प्रदेशमा केन्द्रमा सत्तारुढ हिन्दु-राष्ट्रवादी दल भारतीय जनता पार्टी (बीजेपी) ले उल्लेखनीय सफलता हासिल गरेको छ । उत्तरप्रदेशका ४०३ सिटमध्ये २५५ सिट बीजेपीले जित्यो । यहाँ बहुमत प्राप्त गर्न २०२ सिट पर्याप्त हुन्थ्यो । यहाँ पूर्वमुख्यमन्त्री अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी १११ सिट सहित प्रमुख प्रतिपक्षी दल बन्न पुग्यो । भारतीय राष्ट्रिय कांग्रेस २ सिटमा सीमित भयो । उत्तरप्रदेशमा कांग्रेसका लागि यो इतिहासकै शर्मनाक हार हो ।

उत्तराखण्डका ७० मध्ये बीजेपीले ४७ सिट जित्दै प्रष्ट बहुमत हासिल गरेको छ । यहाँ १९ सिटसहित कांग्रेस प्रमुख प्रतिपक्षी दल बनेको छ । गोवाका ४० मध्ये २० सिट बीजेपीले जितेको छ । एकल सरकार हासिल गर्न एक सिटको अभाव भएको छ । यहाँ ११ सिटसहित कांग्रेस दोस्रो स्थानमा छ भने दुई सिट हासिल गरी आम आदमी पार्टी (आप) तेस्रो स्थानमा आएको छ । उत्तरपूर्वी राज्य मणिपुरमा पनि बीजेपीले ६० मध्ये ३२ सिट हासिल गरी प्रष्ट बहुमत ल्याएको छ भने कांग्रेस पाँच सिटमा सीमित भएको छ ।

सबैभन्दा रोचक निर्वाचन परिणाम भने पञ्जाबमा आएको छ । पञ्जाबका ११७ सिटमध्ये आपले एक्लै दुईतिहाइ ९२ सिट र ४२ प्रतिशत लोकपि्रय मत हासिल गरेको छ । १८ सिटसहित कांग्रेस दोस्रो स्थानमा छ भने केन्द्रको सत्तारुढ दल बीजेपी २ सिटमा मात्रै सीमित भएको छ ।

भारतीय राजनीतिमा आप एक नयाँ, फरक र वैकल्पिक राजनीतिक दल मानिन्छ । आपको निर्माण सन् २०१२ को अन्ना हजारे नेतृत्वको भ्रष्टाचारी विरोधी जनलोकपाल बिल आन्दोलनको क्रममा भएको थियो । आपका संस्थापक संयोजक तथा दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवाल त्यो बेला अन्ना हजारेका मुख्य सहयोगी मध्ये एक थिए । हजारे आन्दोलनमा जोडिएको व्यक्तित्वहरूलाई समेटेर केजरीवालले सन् २०१२ को नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए । यो पार्टी गठन भएको १० वर्ष मात्र पुग्दैछ । तर, एक दशकभित्रै पार्टीले भारतीय राजनीतिमा आश्चर्यजनक उन्नति मात्र गरेको छैन कि दक्षिण एशियाली राजनीतिलाई नै तरंगित बनाइदिएको छ ।

सन् २०१३ को दिल्ली विधानसभा निर्वाचनमा यो पार्टीले पहिलोपटक भाग लिएको थियो । पहिलोपटक भाग लिएको चुनावमा नै २९.४९ प्रतिशत भोट र ७० मध्ये २८ सिट हासिल गरी आपको विजयी सुरुवात भएको थियो । २०१४ को लोकसभा चुनावमा चार सिट जितेर संघीय संसदमा पार्टीको प्रतिनिधित्व प्रारम्भ गरेको थियो ।

सहज थिएन विकासक्रम

कतिपयले सोचेजस्तो आपको विकासक्रम अत्यन्त सहज तरिकाले भएको भन्ने हैन । पार्टी स्थापना गर्नु करिब १४ वर्ष अघिदेखि केजरीवाल कुनै न कुनै प्रकारले सार्वजनिक जीवन र सामाजिक आन्दोलनमा जोडिएका थिए । मूलतः उनले सूचनाको हक, शहरिया गरिब (झोपडपट्टीवाला) को जीवनस्तर सुधार, सरकारी कार्यालयमा हुनुपर्ने पारदर्शिता र कार्य प्रभावकारिता, भ्रष्टाचार विरोधी अभियान र सार्वजनिक सेवा विशेषतः शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुलीको मुद्दालाई गम्भीर रूपमा उठाउने गरेका थिए । पार्टी गठनपछि पनि मूलतः उनले यिनै एजेण्डा समाते ।

राजनीतिक दलका रूपमा आपको विकासक्रम भने निकै जटिल प्रकृतिको थियो । दल निर्माणको प्रारम्भिक समयमा नेतृत्वदायी भूमिकामा सक्रिय कैयौं चर्चित नेताहरूले सन् २०१४ को लोकसभा निर्वाचनमा असफलतापछि पार्टी छोडेर हिंडेका थिए । यसरी पार्टी छोड्नेमा शान्ति भूषण, प्रशान्त भूषण, योगेन्द्र यादव, कवि कुमार विश्वास, पत्रकार आशुतोष, साजिया इल्मीलगायत थुप्रै थिए । तथापि यसका मूल नेता अरविन्द केजरीवाल र उनका मुख्य सहयोगी मनिष सिसोडियाले आत्मविश्वास गुमाएनन् । उनीहरू निरन्तर लागिपरे ।

केजरीवालमाथि मोडालिटीको दबाव

सन् २०२० को दिल्ली विधानसभा निर्वाचनका समयमा हामी केही साथी दिल्ली चुनाव हेर्न गएका थियौं । चुनाव प्रचारप्रसारको ‘पिक पिरियड’ मा ७ दिन बसेर मतदान हुने अघिल्लो दिन फर्किएका थियौं । त्यो छोटो अवधिमा मैले केही आपसँगै रहेका र आप छोडेका व्यक्ति-व्यक्तित्वलाई भेट्ने र उनीहरूका अनुभव सुन्ने अवसर पाएको थिएँ ।

तीमध्ये एक थिए चर्चित पत्रकार- आशुतोष । आप गठनको प्रारम्भिक अवधिमा उनी आपको प्रवक्ता थिए । सन् २०१४ को लोकसभा चुनावमा दिल्लीको चर्चित चाँदनी चोक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । शानदार दोस्रो मत ल्याएका थिए । तर, उनी पार्टी छोडेर ‘सत्य हिन्दी डटकम’ नामको अनलाइन चलाउन थालेका थिए । उनको अनलाइनको कार्यालय नोयडाको एक भव्य अपार्टमेन्टको २०औं तलामा थियो । उनलाई भेट्न हामी त्यहीं पुगेका थियौं ।

हाम्रो पहिलो जिज्ञासा त यही थियो कि त्यति छिटो र छोटो अवधिमै आप किन छोड्नुभयो । आशुतोषले भनेका थिए- ‘पार्टी छोडे पनि म बडो विश्वासका साथ भन्न सक्छु, भारतका पार्टीमध्ये आप सबैभन्दा असल र केजरीवाल सबैभन्दा इमानदार नेता हुन् । हामी केजरीवालालाई बादशाह अकबर बनाउन चाहन्थ्यौं, उनी बहादुर शाह जˆफर बन्ने बाटोमा लागे, त्यो हाम्रो उद्देश्य थिएन, त्यसैले मैले आप छोडें ।’

यो ‘बादशाह अकबर’ र ‘बहादुर शाह जˆफर’ को मिथ मैले बुझिनँ र त्यसको व्याख्या सोधें । उनले हाँस्दै भने- अहिले भारत सिंगो देशलाई विकल्प चाहिएको छ । हाम्रो लाइन थियो कि केजरीवालले दिल्लीको मुख्यमन्त्रीको लोभ नगरेर राष्ट्रिय अभियानमा निस्कनुपर्दछ । बीजेपी बनाउँदाको अटल बिहारी बाजपेयी जस्तो हुनुपर्दछ । तर, उनी दिल्लीकोे मुख्यमन्त्रीको लोभमा फसे । देशले विकल्प पाएन । बादशाह अकबरको पालामा भारत कश्मिरदेखि कन्याकुमारीसम्म थियो । बहादुर शाह जˆफरको समयमा आइपुग्दा दिल्लीमा सीमित भयो । त्यो पनि इष्ट इन्डिया कम्पनीले खाइदियो । दिल्लीमा मात्र सीमित केजरीवाललाई जो-कसैले जुन-कुनै बेला खाइदिन सक्छ ।

नोयडाबाट दिल्ली फर्किएर आप छोडेका आशुतोषको ठीक यही गुनासो हामीले आपका सामाजिक सञ्जाल विभाग प्रमुख अंकित लाललाई सोधेका थियौं । उनको मुख बिग्रिएको थियो । आशुतोषको तर्कसँग उनी सहमत थिएनन् । उनले स्पष्टीकरण दिंदै भनेका थिए- उनीहरूकै कुरा मानेर अरविन्दजी मोदीसँग लोकसभा चुनाव लड्न बनारस गए, खै के परिणाम आयो । हामीले हाम्रो औकात हेर्नुपर्दछ । भारत एक विशाल देश हो । यहाँ रातारात सबैतिर विकल्प दिन सकिंदैन । दिल्लीमा हामीले राम्रो गरेर देखायौं भने त्यसको प्रभाव नजिकका प्रदेशमा पर्दछ । विस्तारै हामी फैलिन सक्दछौं । देशभरि एकैपटक अभियान गर्ने स्रोत, साधन र क्षमता नै हामीसँग कहाँ छ र ? देशका धनीमानीहरू हामीलाई सडक छाप फटिचरहरूको पार्टी ठान्दछन् । उनीहरूको सहयोग अहिले पनि कांग्रेस र बीजेपीलाई हुन्छ । तसर्थ हामी दिल्लीमा जरा गाडेर विस्तारै फैलिन चाहन्छौं ।

आशुतोष र अंकितलालको भनाइमा दुई फरक मोडालिटीको प्रष्ट चित्र थियो । केजरीवालमाथि योमध्ये कुन रोज्ने भन्ने दबाव थियो । उनले दोस्रो मोडालिटी रोजेका थिए । यसपटक पञ्जाबको ‘क्लिन स्वीप’ ले सम्भवतः केजरीवालले रोजेको मोडालिटीलाई अनुमोदन गरेको छ ।

आपको कार्यशैली

आपका केन्द्रीय सदस्य सञ्जय वसुले हामीलाई आपको निर्वाचन प्रचारप्रसार कार्यालय देखाएका थिए । उनी बंगाली युवा थिए । करिब १३ वर्षदेखि पेशा-व्यवसायका लागि दिल्लीमा बसेका थिए । उनकै भनाइमा पश्चिम बंगालमा उनको परिवार सीपीआई (एम)को समर्थक र भोटर थियो । निर्वाचन कार्यालयको गेटमा उनीसँग भेट हुँदा उनी साइकल चढेर त्यहाँ आइपुगेका थिए । टिनको छानो भएको टहरोजस्तो घरमा आपको प्रचार कार्यालय थियो । त्यसको आँगनमा सयौं स्वयंसेवकहरू पाताको बोहोतामा राज्मा र एक डल्लो भात थापेर खाँदै थिए । मलाई २०४६ सालतिर एमालेको प्रचारप्रसारमा चनामुरी खाँदै हिंडेको याद आएको थियो ।

कार्यालयको वरपरि साइकल र स्कुटरहरूको लाम थियो । नेपालमा जस्तो पार्टी कार्यालयका अगाडि लाग्ने महँगा गाडीहरूको ताँती त्यहाँ देखिंदैनथ्यो ।

सञ्जय हामीलाई भन्दैथिए- ‘भारतमा अब कुनै कम्युनिस्ट छ भने खाँटी कम्युनिस्ट यही आप हो । पुराना कम्युनिस्ट त खत्तम भइसके । तिनीहरूमा न इमान रहृयो न जमान । न समयलाई बुझ्न सक्ने क्षमता रहृयो, न डेलिभरी गर्ने व्यवस्थापन सीप । आपमार्फत हामी राजनीतिको भाष्य मात्र हैन, यसको परिभाषा र व्याकरण नै बदल्दैछौं ।’ आपका केही दस्तावेज बोकेर शुभकामना दिंदै हामी छुटेका थियौं ।

दिल्लीको प्रभावः पञ्जाबमा विस्तार

त्यो बेला दिल्लीपछि आपको दोस्रो निर्णायक प्रभाव भएको प्रदेश कुन बन्छ गोवा कि पञ्जाब भन्ने दुई फरक अनुमान थिए । कतिपयले गोवा बन्छ भन्ने तर्क गर्थे । उनीहरूको तर्क हुन्थ्यो- गोवा सानो छ । शिक्षित छ । मिश्रति जातीयता भएको शहरिया चरित्रको प्रदेश छ । तसर्थ आपको फैलावटका लागि गोवाको चरित्र दिल्लीसँग मिल्दोजुल्दो छ । गोवामा फैलिन सक्छ आप ।

पञ्जाबमा फैलिन्छ भन्नेहरूको तर्क थियो- पञ्जाब दिल्लीको नजिक छ । दिल्लीको सन्देश छिट्टै पञ्जाब पुग्छ । सन् २०१२ को अन्ना हजारे आन्दोलनमा पञ्जाबको राम्रो सहभागिता थियो । पञ्जाबमा आपको एकप्रकारको संगठन सञ्जाल पनि छ । सन् २०१४ को लोकसभा निर्वाचनमा आपले जितेका चार सिटमध्ये ४ वटै सिट पञ्जाबबाट आएका थिए । सन् २०१७ को पञ्जाब विधानसभा निर्वाचनमा २० सिट जितेर आप प्रमुख प्रतिपक्षी दल बनेको थियो । तसर्थ आपको दोस्रो किल्ला पञ्जाब हुनेछ ।

यही दुवै तर्कका आ-आफ्ना आधार थिए । त्यसमध्ये दोस्रो सही सावित भएको छ । पञ्जाबमा आपले करिब दुईतिहाइ ल्यायो । यो स्वयं आपका लागि नै अनपेक्षित हो । ‘भगवान देता है तो छप्पर फाडके देता है’ भन्ने उखान जस्तो भयो । तर, गोवामा पनि आप २ सिट सहित तेस्रो पार्टी भएको छ । करिब ७ प्रतिशत लोकपि्रय मत हासिल गरी भविष्यका लागि सम्भावनाको ढोका खोलेको छ ।

के हो केजरीवाल मोडेल ?

वैकल्पिक प्रगतिशील-लोकतान्त्रिक शक्ति निर्माणको सामान्य कार्यदिशा ‘संघवाद, समावेशिता र सामाजिक न्याय’ को रक्षा गर्दै ‘विकास, सुशासन र समृद्धि’ लाई प्रत्याभूत गर्न सक्ने शक्ति हो । यी दुई ब्यागमध्ये कुनै एक मात्र बोकेको शक्ति हो भन्ने मतदातालाई आभास/भान पर्ने बित्तिकै त्यो असफल हुने, सीमितीकरण र संकुचन हुने सम्भावना स्वतः बढ्छ

केजरीवाल मोडेलको राजनीति भनेको मूलतः सार्वजनिक सेवा प्रदायनको प्रभावकारिता र सुशासनमा केन्दि्रत राजनीति हो । सरलता र इमानदारीको राजनीति हो । आपले ठूल्ठूला राजनीतिक मुद्दा र सिद्धान्तलाई आधार बनाएको देखिन्न । चुनावी घोषणापत्रमा आपले अत्यन्त सरल भाषा प्रयोग गर्दछ । सैद्धान्तिक अवधारणा र राजनीतिक बहसदेखि पन्छिन खोज्दछ ।

केजरीवालले दिल्लीमा गरेको सबैभन्दा ठूलो र महत्वपूर्ण काम सरकारी विद्यालयको गुुणस्तर सुधार हो । केजरीवालको उदयपछि आधुनिक अंग्रेजी भाषा केन्दि्रत शिक्षाका लागि सन्तानलाई महँगा निजी स्कुलमा पठाउनुपर्ने बाध्यताबाट मध्यम वर्गले ठूलो राहत पायो । निजी स्कुलको भन्दा सरकारी स्कुलको रिजल्ट कता हो कता राम्रो हुन थाल्यो । मोहल्ला क्लिनिकमार्फत उनले सर्वसाधारणको स्वास्थ्य सेवामा गुणात्मक फड्को मारे । लोडसेडिङ र खानेपानीको समस्यालाई उच्च प्राथमिकतामा राखेर हल गरे । महिला सुरक्षालाई विशेष जोड दिए । शहरिया गरिबहरूको आवास सुधारमा विशेष योगदान गरे । उनले प्रशासनिक घुम्ती सेवा मार्फत नागरिक सरकारी अफिस नै जानु नपर्ने, कर्मचारी नै जनताको घरघरमा गएर काम गर्दिने बिल्कुलै नयाँ र रोचक कार्यशैली अवलम्बन गरे ।

यस्ता अनेक लोकपि्रय कार्यक्रमले गर्दा उनी सर्वसाधारणले सजिलै बुझ्ने, चिन्ने र छोइने राजनीतिज्ञ बन्न पुगे । केजरीवालले दिल्लीमा गरेका कामको चर्चा र चुनाव प्रचारका क्रममा पञ्जाबमा पनि त्यस्तै गर्ने उनको सार्वजनिक प्रतिबद्धतालाई पञ्जाबका मतदाताले पत्याए । पञ्जाबमा आपको दिग्विजयको मुुख्य रहस्य यही हो ।

कांग्रेसको आत्मघात

तर आपको पञ्जाब सफलताको अर्को पाटोमा कांग्रेसको आत्मघाती कदम पनि जिम्मेवार छ । देशका अधिकांश प्रदेशमा कांग्रेस कमजोर हुँदै जाँदा पनि मुख्यमन्त्री अमरिन्दर सिंहले पञ्जाबमा कांग्रेसलाई जोगाइराखेका थिए । उनी पञ्जाब कांगे्रसका धेरै पुराना नेता थिए । चुनावको केही महिना अघि गान्धी परिवारले सिंहलाई हटाएर कसैले नचिनेका चरणजित सिंह चन्नीलाई मुख्यमन्त्री बनायो । यो कदमबाट अमरिन्दर सिंहले अपमानको अनुभूति गरे । कांग्रेस परित्याग गर्दै पञ्जाब कांग्रेस नामको नयाँ पार्टी गठन गरेर बीजेपीसँगको गठबन्धनमा गए ।

गान्धी परिवारको आशीर्वाद पाएका पञ्जाब कांग्रेसका अध्यक्ष नवज्योत सिंह सिद्दु, कपिल शर्मा शोका सिद्दु पाजीले प्रदेश पार्टीमा अनेक समस्या सृजना गर्ने गरेका थिए । कांग्रेसभित्रका यस्ता अनेक समस्याले नयाँ विकल्प खोज्न चाहने मतदाताको मनोविज्ञानलाई अझ उत्प्रेरित गर्‍यो । यसको फाइदा समेत आपलाई भयो ।

भारतमा भयो, नेपालमा किन भएन ?

नेपालमा पनि बारम्बार वैकल्पिक लोकतान्त्रिक-प्रगतिशील शक्तिको जन्म हुनुपर्ने अपेक्षा नराखिएको हैन । तर, अहिलेसम्मका प्रयास त्यति धेरै सफल, सार्थक र परिणामदायी बन्न सकेका छैनन् । भारतमा आपको उदय किन सम्भव भयो र नेपालमा वैकल्पिक शक्तिको उदय किन हुन सकेन भन्ने बहसका अनेक गम्भीर पाटा छन् । तिनलाई नकेलाई सतहमा गरिने उडन्ते र भावुक विमर्शको कुनै सार्थक अर्थ हुन्छ जस्तो लाग्दैन ।

हुनतः अरूले गरेको काम परबाट हेर्दा सजिलै भए जस्तो लाग्दछ । किनकि त्यसमा आफ्नो श्रम र मिहिनेत जोडिएको हुँदैन । आफैं श्रम गर्नु र श्रमको गीत गाउनु फरक कुरा हो । हिमाल परबाट हेर्दा कति सुन्दर देखिन्छ । तर, हिमाल चढ्न कि त गाह्रो हुन्छ, हिमालको सुन्दर आकर्षणभित्र जीवन कति ठूलो जोखिममा हुन्छ, त्यो सिनेमा हेर्नेलाई थाहा हुन्न, स्वयं पर्वतारोहीलाई थाहा हुन्छ । युद्धका कथा पढ्न असाध्यै रोमाञ्चक हुन्छ, स्वयं युुद्धमा सामेल हुुन त्यति सजिलो कुरा हैन ।

भारतमा आपको उदय सजिलै, सरलरेखामा भएको हो भन्ने बुझाइ बिल्कुलै गलत हो । नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माणको यात्रा बक्ररेखामै हुनेछ । एउटा टिमले आफ्नो जीवनलाई समर्पित नगरिकन यो सम्भव हुँदैन ।

दोस्रो- भारत लोकतन्त्र, गणतन्त्र, संघवाद, सामाजिक न्याय र आरक्षण जस्ता राजनीतिक मुद्दा अगाडि नै सेटल भइसकेको मुलुक हो । यी मुद्दामा त्यहाँका जनताको ध्यान अल्झिंदैनन्, ती त्यहाँ छँदै थिए । जहाँ सेटल थिएन, त्यहाँ त तिनै मुद्दा छँदै थिए । जस्तो कि झारखण्ड वा तेलंगानामा किन आप जन्मिएन त्यहाँ कि झारखण्ड मुक्ति मोर्चा र तेलंगाना राष्ट्रिय समिति नै बलिया भए ? किनकि त्यहाँ प्रदेश रचनाको आन्दोलन छँदै थियो । तर, दिल्ली र पञ्जाबमा त्यो समस्या थिएन । तसर्थ मतदाताको ध्यान डेलिभरीको मुद्दातिर जान सक्यो । यही चिज सायद जम्मु-कश्मिरमा खोज्यो भने पाइँदैन । त्यहाँ पहिले मान्छेले प्रादेशिक स्वायत्तता नै खोज्छन्, डेलिभरी हैन ।

नेपालमा आप मोडेलको वैकल्पिक लोकतान्त्रिक शक्तिको विकास नहुनुको कारण मूलतः त्यही हो । यहाँ अझै पनि लोकतन्त्र, गणतन्त्र, संघवाद, सामाजिक न्याय र आरक्षण जस्ता मुद्दाहरूले मान्छेको दिमाग हँुडलिरहेको छ । वैकल्पिक शक्ति निर्माण गर्ने नारामा दौडिएका विवेकशील साझाको एउटा पक्ष अहिले फेरि तिनै पुराना राजनीतिक मुद्दाबाट प्रभावित भएर संघीयता खारेज गर्न, हिन्दू राज्य कायम गर्न र राजतन्त्र फर्काउनतिर लागेको छ । यो दृष्टान्तले समेत नेपाली समाजको जटिल मनोविज्ञानलाई बुझ्न मद्दत गर्दछ ।

२०४६ सालपश्चात् नै नेपालमा राजावादी, कांग्रेस र कम्युनिस्ट हुन नचाहने त्योभन्दा फरक प्रकारको राजनीतिक शक्ति निर्माण गर्ने प्रयास मुखरित थियो । डा. देवेन्द्रराज पाण्डेले सामाजिक लोकतन्त्र, विकास र सुशासनका मुद्दामा लोक दल बनाएका थिए । गजेन्द्रनारायण सिंहले मधेश मुद्दामा सद्भावना पार्टी बनाएका थिए । गोरेबहादुर खपाङ्गीले समावेशिताको मुद्दामा जनमुुक्ति पार्टी बनाएका थिए । कुवेर शर्माले पर्यावरणीय लोकतन्त्रको सवाल उठाएर हरियाली पार्टी बनाएका थिए ।

यी कुनै पनि पार्टी एक्लाएक्लै सफल हुन सकेनन् । यसको अर्थ हो कि नेपाल वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण एकाङ्गी पाराले कुनै एक मुद्दा बोकेर हुन सक्दैन । सुशासनको मुद्दाले मात्र हुन्थ्यो भने उज्ज्वल थापा नेतृत्वको विवेकशील दल यतिखेरसम्म शक्तिशाली भइसक्नुपथ्र्यो । आपले जत्तिकै करिब १० वर्ष समय त त्यसले पनि लिइसक्यो । तर खै भएन ?

उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरमले मधेश जनविद्रोहमार्फत संघवाद, समानुपातिकता, समावेशिता, आरक्षण र सामाजिक न्यायको मुद्दालाई स्थापित गर्‍यो । तर, देशलाई एक्लै विकल्प दिने गरी विकास गर्न सक्ने सम्भावना त्यसमा पनि देखिएन ।

डा. बाबुराम भट्टराईको नेतृत्वमा हामीले नयाँ शक्ति पार्टीको जुन अभ्यास गर्‍यौं, त्यसका पनि आफ्नै सीमा थिए । विचार र एजेण्डाका दृष्टिकोणले त त्यो प्रष्ट थियो, तर त्यसमा कतिपय ‘ब्यागेज’ समेत जोडिएका थिए, जसले गर्दा आम नागरिकमा अन्योल सृजना गर्दथ्यो ।

नेपालको वैकल्पिक लोकतान्त्रिक शक्तिसँग आफैं नाजुक र कमजोर लोकतन्त्र, गणतन्त्र, संघवाद, सामाजिक न्याय, धार्मिक स्वतन्त्रता र आरक्षणको रक्षामा योगदान गर्नुपर्ने दायित्व पनि रहन्छ । अर्कोतिर विकास, सुशासन र समृद्धिको नेतृत्व पनि गर्न सक्नुपर्दछ । कि ‘संघवाद, समावेशिता र सामाजिक न्याय’ कि ‘विकास, सुशासन र समृद्धि’ दुईमध्ये एउटा प्याकेज रोजेर, एउटा मात्र ब्याग बोकेर नेपालमा वैकल्पिक प्रगतिशील-लोकतान्त्रिक शक्तिको उदय हुन सक्छ भन्ने विश्वास कम्तीमा यो पंक्तिकारलाई छैन । कम्तीमा आउँदा दुई दशकसम्म त्यस्तो हुँदैन, जबसम्म लोकतन्त्र, गणतन्त्र, संघवाद, सामाजिक न्याय, धार्मिक स्वतन्त्रता र आरक्षण चुनौतीहीन भइसक्छन् तब मात्र विकास, सुशासन र समृद्धिको मात्र मुद्दामा राजनीतिक शक्ति उदय हुन सक्ला ।

आजको मितिमा भने वैकल्पिक प्रगतिशील-लोकतान्त्रिक शक्ति निर्माणको सामान्य कार्यदिशा ‘संघवाद, समावेशिता र सामाजिक न्याय’ को रक्षा गर्दै ‘विकास, सुशासन र समृद्धि’ लाई प्रत्याभूत गर्न सक्ने शक्ति हो । यी दुई ब्यागमध्ये कुनै एक मात्र बोकेको शक्ति हो भन्ने मतदातालाई आभास/भान पर्ने बित्तिकै त्यो असफल हुने, सीमितीकरण र संकुचन हुने सम्भावना स्वतः बढ्छ ।

दुवै प्याकेजको गतिशील सन्तुलन मिलाउन सके नेपालमा पनि वैकल्पिक शक्तिको निर्माण धेरै टाढाको विषय हैन । आपको पञ्जाब दिग्विजयले यो अभिप्रेरणालाई अझ मजबुत बनाउँछ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?