+
+

वितरकलाई उत्पादकको सूचना : अब सबै वस्तुको मूल्य बढ्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १८:५४

२९ फागुन, काठमाडौं । दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने सबै खाले उद्योगहरुले आफ्ना उत्पादनको बिक्री मूल्य बढाउने तयारी गरेका छन् ।

चाउचाउ, साबुन, बिस्कुट, मैदा, खानेतेल जस्ता कच्चा पदार्थमा बाह्य भर पर्नु पर्ने वस्तुको मूल्य नथेगिने अवस्थामा पुगेको भन्दै उत्पादकहरुले वितरकलाई मूल्य वृद्धिमा तयार रहन अग्रिम जानकारी गराएका छन् ।

दैनिक प्रयोग गर्ने खाद्यान्नदेखि स्यानिटरीका उत्पादनहरुको मूल्य बढ्नेबारे उद्योग र आयातकर्ताहरुले सूचना पठाएको नेपाल वितरक संघले जनाएको छ । चाउचाउ, बिस्कुट, साबुन, स्याम्पु, लुगाधुने सर्फदेखि तेल र पेय पदार्थसम्मको मूल्य बढ्ने जानकारी आएको संघका अध्यक्ष राजेन्द्र सिंखडाले बताए ।

‘डलरको भाउ बढ्नु, कच्चा तेल र कोइला तथा गहुँको मूल्य बढेका कारण सबै वस्तुको मूल्य बढ्ने जानकारी आएको छ,’ संघका अध्यक्ष सिंखडाले भने, ‘उत्पादकहरुले मूल्य परिवर्तनबारे पटक-पटक बैठक बसेको जानकारी गराएका छन् । १ चैतदेखि धेरै वस्तुको नयाँ मूल्य लागू हुन सक्छ ।’

आयातमा शतप्रतिशत नगद मार्जिनको व्यवस्थाका कारण पनि कच्चा पदार्थको आयात पनि महँगो भएको र त्यसले मूल्य बढ्न मद्धत पुगेको अध्यक्ष सिंखडाले बताए । चाउचाउ उत्पादक, साबुन उत्पादक र बिस्कुट उत्पादकहरु मूल्य बढाउनेबारे छलफलमा रहेको पनि उनले बताए ।

रुस-युक्रेन युद्धका कारण दैनिक उपभोग्य वस्तुको बजारमा मूल्य वृद्धिको आगो लागेको नेपाल केन्द्रीय साबुन उत्पादक संघले जनाएको छ । कच्चा तेल, कोइला, डलर र खाने तेलको कच्चा पदार्थको मूल्य वृद्धि हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष शिवरतन शारडाले बताए ।

उत्पादकले थेग्न नसक्ने गरी मूल्य वृद्धिका सूचक बढेका कारण सबै उद्योगहरु दबाबमा रहेको शारडाले बताए । कच्चा तेल, डलर र कोइलका कारण उद्योगको कच्चा पदार्थको मूल्य वृद्धि थेगिनसक्नु भयो,’ शारडा भन्छन्,‘ डलरका कारण ३ देखि ५ र कोइला तथा पेट्रोलियमका कारण ६० प्रतिशतसम्म कच्चा पदार्थकै मूल्य बढेको छ ।’ उत्पादनको लागत बढ्नुमा सरकारले
एलसीमा लागू गरेको नगद मार्जिनको व्यवस्था भएको पनि उनले बताए । उद्योग र व्यवसाय गरेर बस्ने भन्दा पनि बैंक मोटाउने गरी सरकारले ल्याएको नीतिका कारण पनि बजार बिग्रिएको शारडाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?