+
+

खेलाडीकै रूपमा हुर्काइएका प्रिन्स

प्रतियोगिता नभएको समयमा पनि निरन्तर अभ्यास गर्छन् । आगामी अप्रिलमा युरोपमा हुने प्रतियोगिता खेल्नुका साथै सेप्टेम्बरमा हुने एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने प्रिन्सको लक्ष्य छ ।

नमिता दाहाल नमिता दाहाल
२०७८ फागुन २९ गते २०:२०

२९ फागुन, काठमाडौं । दार्चुलाका नारायण दाहाललाई ब्याडमिन्टनको सोख थियो । खेलप्रेमी उनी भलिबल र एथ्लेटिक्सको जिल्लास्तरीय खेलाडीसम्म बने । सुदूरको विकट क्षेत्रबाट खेलकुदमा ‘माथि’ पुग्न सहज थिएन । त्यही कारण खेलकुदको भोकलाई थाती राखेर व्यापारमा लागेका नारायणले सन्तानलाई चाहिं सानैदेखि खेलाडीकै रूपमा हुर्काउने प्रयास गरे ।

ब्याडमिन्टन जुनियरतर्फ विश्व वरीयताको शीर्ष स्थानमा नेपालको झण्डा त्यसकै प्रतिफल हो । प्रिन्स दाहाल विश्व नम्बर एक बन्नुमा उनको क्षमता र मिहिनेत त थियो नै, बुबा नारायणले गरेको मिहिनेत पनि कम थिएन ।

छोराको नामबाट चिनिन पाउँदा दंग नारायण भन्छन्, ‘उसले पाँच वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेको हो । अन्य बच्चाहरू गुच्चा खेल्दा मैले छोरालाई मलाई हरायौ भने ठूलो आइसक्रिम किनिदिन्छु भनेर ब्याडमिन्टन खेलाएँ ।’

छोरालाई ब्याडमिन्टनमा प्रोत्साहित गर्दा परिवारका सदस्यबाट बिगार्ने भयो भन्ने सुन्नु नपरेको होइन । तर नारायण रोकिएनन् । ब्याडमिन्टन र्‍याकेट र सटलर बोकेर कोर्टमा दौडिंदा कलिलो उमेरका छोरालाई सँगसँगै लिएर हिंडे ।

सानोमा आफू र साथीहरू खेलेको देखाए, विस्तारै आफूसँगै खेलाउन थाले । ‘हामीसँग खेल्न सक्दैन भन्ने त थाहा थियो, तर म उकास्थें’ प्रिन्सका पहिलो प्रशिक्षक नारायणले भने, ‘र्‍याकेट कसरी समाउने, सटलरलाई कसरी हान्ने सबै सिकाएँ । खेलाडी बनाउनै हो भनेर प्रशिक्षित गराएँ ।’

प्रिन्स फुटबल र टेबलटेनिस पनि राम्रो खेल्थे । तर नारायणलाई छोराले ब्याडमिन्टन नै खेलोस् भन्ने लाग्थ्यो । त्यसैले कहिले चकलेट त कहिले आइसक्रिम दिन्छु भन्दै ब्याडमिन्टन खेलाए ।

नारायणले बताएअनुसार त्यसबेला दार्चुलामा र्‍याकेट र सटलर सहजै पाइँदैनथ्यो । परिवारको आर्थिक अवस्था राम्रो भएकाले कहिले काठमाडौं त कहिले भारतबाट खेल सामग्रीको जोहो गरिदिन्थे ।

प्रिन्स पनि ब्याडमिन्टनमै रमाउन थाले । बुवाको प्रशिक्षणमा निखारिंदै गए । ‘सानोमा आँटिलो थिएँ, जसलाई पनि जित्छु भन्ने हुन्थ्यो । बरु अहिले कहिलेकाहीं अत्तालिन्छु, सानोमा त्यस्तो केही मतलब हुन्नथ्यो’, हालै पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टनको उपाधि जितेका प्रिन्सले बाल्यकाल सम्झिए ।

काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलमा भर्ना भएपछि प्रिन्सले वास्तविक खेलकुदमा प्रवेश पाए । उनका प्रशिक्षक थिए– पूर्ण थापा । उनकै प्रशिक्षणमा प्रहरी स्कुलबाट प्रिन्सको खेलले व्यावसायिक रूप लिन थाल्यो ।

विद्यालयस्तरदेखि राष्ट्रिय प्रतियोगितामा भाग लिन थाले । ९ वर्षको उमेरमै २०६९ सालमा पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन खेले । जुनियर राष्ट्रिय टोलीमा परेपछि ब्याडमिन्टनका प्रमुख प्रशिक्षक सुदीप योन्जनको छत्र–छायाँ मिल्यो ।

प्रशिक्षकहरूका अनुसार सानै उमेरदेखि व्यावसायिक अभ्यास र सन्तुलित आहार पाउँदा शारीरिक बनावटदेखि मांसपेशीको लचकतासम्म अनुकूल रहन्छ । चोटको जोखिम कम गर्छ । व्यावसायिक अनुभवले सफल बन्न पनि सहयोग गर्छ ।

प्रिन्स नेपाल खेलकुद पत्रकार मञ्चले गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत यस वर्ष पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । २०७५ सालमा पनि सोही विधामा मनोनयनमा परेका उनले दोस्रोपल्ट योग्य देखेकोमा गर्व लागेको बताए ।

प्रिन्सको हकमा त्यही भयो । आफ्नो प्रशिक्षणमा रहेका प्रिन्सको सफलतामा आत्मसन्तुष्टि मिलेको प्रशिक्षक योन्जन बताउँछन् । सानै उमेरदेखिको अनुशासन र मिहिनेतबाट प्रिन्सले अझै धेरै सफलता हात पार्ने उनको विश्वास छ ।

जुनियरमा सफलता, सिनियरमा चुनौती

सन् २०१८ मा दुबई इन्टरनेशनल सिरिजमा यू-१५ विधाको स्वर्ण जितेपछि प्रिन्स सबैको नजरमा परे । अर्को वर्ष सोही प्रतियोगितामा यू–१९ तर्फ जितेको स्वर्ण नेपाली ब्याडमिन्टनकै लागि ऐतिहासिक थियो ।

त्यसयता २०२० को मार्चसम्म उनले ११ वटा आधिकारिक प्रतियोगिता खेले, जसमा गरेको प्रदर्शनका आधारमा १० हजार ४०० अंकसहित विश्व वरीयताको शीर्ष स्थानमा पुगेका हुन् । २०२१ मा उनी तेस्रो स्थानमा थिए । २०२२ मा दुई खेलाडीले उमेर हदका कारण यू–१९ बाट बाहिरिएपछि प्रिन्स शीर्ष स्थानमा पुगेका हुन् ।

१८ वर्षीय प्रिन्स पनि अर्को वर्ष सिनियरमा प्रवेश गर्नेछन् । र, जुनियरको प्रदर्शन सिनियरमा दोहोर्‍याउन सहज छैन । ‘विश्वभरबाट आउने खेलाडीसँग खेल्नु र जित्नु सहज छैन । त्यसका लागि प्रशिक्षण तथा खेल निरन्तर हुनु जरूरी छ’, प्रिन्स भन्छन् ।

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष उनले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएका छैनन् । ‘धेरैभन्दा धेरै प्रतियोगिता खेल्दै, जित्दै जानुपर्छ । त्यसका लागि निरन्तर प्रतियोगिता खेल्ने वातावरण पाए सहज हुनेथियो’, सरोकारवालाले ध्यान दिएको खण्डमा सिनियरतर्फ पनि उच्च सफलता हासिल गर्ने प्रिन्सको विश्वास छ ।

यद्यपि २०१८ मा नेपालमा आयोजना भएको अन्तर्राष्ट्रिय सिरिजमा तेस्रो स्थान हासिल गरेका उनी सिनियरतर्फ वरीयताक्रममा ४००औं स्थानमा छन् । वरीयताको उतारचढाव राम्ररी बुझेका उनको एउटै सूत्र छ, हरेक खेलमा राम्रो गर्ने, जित्ने ।

होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजम लिएर पिनाकल कलेजमा कक्षा ११ मा अध्ययनरत उनी शनिबार बाहेक साताको ६ दिन दैनिक ३ घण्टा प्रशिक्षणमा व्यस्त हुन्छन् ।

प्रतियोगिता नभएको समयमा पनि निरन्तर अभ्यास गर्छन् । आगामी अप्रिलमा युरोपमा हुने प्रतियोगिता खेल्नुका साथै सेप्टेम्बरमा हुने एशियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने प्रिन्सको लक्ष्य छ ।

प्रिन्स नेपाल खेलकुद पत्रकार मञ्चले गर्ने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत यस वर्ष पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । २०७५ सालमा पनि सोही विधामा मनोनयनमा परेका उनले दोस्रोपल्ट योग्य देखेकोमा गर्व लागेको बताए ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?