+
+

नयाँ चरणको वार्तासँगै रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १३:२७

३० फागुन, काठमाडौं । रुस र युक्रेनका अधिकारीले सोमबार भिडियो कन्फेरेन्समार्फत् बैठक गर्दैछन् । दुवै पक्षबीच हुन लागेको नयाँ चरणको वार्तासँगै रुस-युक्रेन युद्ध चाँडै अन्त्य हुने आशा पलाएको छ ।

अनि फेब्रुअरी २४ मा भएको हमलापछि चर्किएको युद्ध अन्त्य हुने गरी प्रगतिको आशासमेत देखिएको छ । आइतबार साँझ एक जना रुसी वार्ताकारले ‘महत्त्वपूर्ण प्रगति’ भइरहेको बताइसकेका छन् ।

‘मेरो अपेक्षा के हो भने यो प्रगतिले दुबै प्रतिनिधिबीच साझा पोजिसन/धारणा निर्माण गर्ने र हस्ताक्षर गर्न सकिने सहमतिमा पुर्‍याउने छ’, रुसी समाचार माध्‍यमले त्यहाँका वार्ताकार लियोनिड स्लोट्स्कीलाई उदृत गर्दै लेखेका छन् ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं युक्रेनी प्रतिनिधि मण्डलका सदस्य मिखाइलो पोडोलियाकले ट्विट गर्दै मस्कोले किएभलाई ‘अल्टिमेटम’ दिन छाडेको र ‘हाम्रा प्रस्तावलाई ध्यान दिएर सुन्न’ थालेको बताएका छन् ।

‘मैले समझदारी देखिइरहेको छु र वार्ता अघि बढिरहेको छ’, पोडोलियाकले भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी हुने भन्दै लेखेका छन् । उनका अनुसार सोमबारको कुराकानीमा पछिल्लो पटक सम्पन्न वार्ताको प्रारम्भिक नतिजाको संक्षेपीकरण गर्दै निष्कर्ष निकालिने छ ।

लडाइँ जारी भइरहेका बेला आशावादी अभिव्यक्ति

युक्रेनभर भीषण लडाइँ भइरहेको र त्यहाँको पश्चिमी क्षेत्रमासमेत फैलिइरहेको बेला सोमबार बिहान वार्ता हुँदैछ । लडाइँ जारी रहेका बेला दुवै पक्षबाट आएका अभिव्यक्तिले युद्ध अन्त्य हुन सक्ने संकेत गरेका छन् ।

यो सप्ताहन्तमा रुसी र युक्रेनी राष्ट्रपतिले दिएका अभिव्यक्ति आशा झल्काउने खालका छन् । शुक्रबार भ्लादिमिर पुटिनले वार्तामा ‘सकरात्मक प्रगति’ भइरहेको संकेत गरेका थिए । त्यस्तै, भोलोदिमिर जेलेन्स्कीले शनिबार छलफलका लागि मस्कोबाट ‘निकै फरक अवधारणा’ आएको बताएका थिए ।

साथै, आइतबार जेलेन्स्कीले आफ्ना प्रतिनिधिको ‘प्रस्ट कार्यभार भनेको दुवै राष्ट्रपतिबीच बैठकको सुनिश्चितता गर्नु रहेको’ र त्यस्तो बैठकलाई सबैले पर्खिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?