+
+

सशस्त्र प्रहरीको ब्यारेकबाट सामान ल्याउँदा तस्करको आरोप

गौरव पोखरेल गौरव पोखरेल
२०७८ चैत १ गते २१:१०

१ चैत, काठमाडौं । रुकुमको आठवीसकोट नगरपालिका–४, गोदामकोटका ५० वर्षीय द्रोण केसी काठमाडौंमा गाडी चलाएर गुजारा गरिरहेका थिए ।

दुई वर्षअघि बालाजुस्थित मयुर हर्बल कम्पनीमा सवारी चालकसँगै सेल्सको पनि काम गर्न पाएपछि ६ लाख रुपैयाँ जति बचत गरे । केही रकम बचत भएपछि उनलाई लाग्यो – आफैं किन साहु नबन्ने ? त्यही आँटमा उनले छोटा हात्ती भनिने मिनी ट्रक खरिद गर्न सोरुमहरुमा बुझ्न थाले ।

यो गाडीको १६ लाख रुपैयाँ पर्थ्यो, ६ लाख जम्मा गर्दा किस्तामा निकाल्न सकिने उनले थाहा पाए । ‘त्यसपछि इस्यूरेन्समा ६ लाख जम्मा गरेर गाडी निकालेँ’ केसी भन्छन्, ‘स्वयम्भु क्षेत्रमा गाडी कुदाएर भएको आम्दानीले किस्ता तिरिरहेको थिएँ ।’

आफैं मालिक भएपछि जिन्दगी राम्रैसँग चलिरहेको थियो । तर नयाँ गाडी किनेको छ महिना नपुग्दै नसोचेको आपत आइपर्‍यो । स्वयम्भुमा गाडी स्ट्याण्डमा राखिरहेका बेला १ चैत २०७६ मा आएको एउटा काम लिँदा उनले अहिलेसम्म गाडी मात्रै गुमाउनु परेको छैन, मुद्दा मामिलामा चक्कर काटिरहनु परेको छ ।

त्यतिवेला स्ट्याण्डमा आएका एक व्यक्तिले उनलाई ‘फेन्सी सामान लिन नारायणघाट जाने’ प्रस्ताव गरेका थिए । सामान लोड गरेर अनलोड पनि गर्नुपर्ने भएकाले १५ हजार रुपैयाँ भाडामा सहमति भयो ।

राति ८ बजे नारायाणघाट पुगेपछि पारिपट्टी रहेको पूर्वी नवलपुरको गैंडाकोट गाउँपालिका–१० तिर जान प्रस्ताव गरे । उनले सशस्त्र प्रहरीको ३१ नं. गुल्मभित्र पुर्‍याए । ‘मैले त्यहाँ राति ८ बजे गाडी ब्याक गरेर गोदाममा रोकेको हुँ, त्यहीँ बस्ने सशस्त्रका सिपाहीहरुले गाडीमा सामान लोड गरिदिएका छन्’ उनी भन्छन्, ‘भोलिपल्ट बिहान म गाडी लिएर नागढुंगा आइपुगेँ, पछाडि–पछाडि दुईजना अर्को गाडीमा थिए ।’

महानगरीय प्रहरी वृत्त, थानकोटको चेकपोइन्टमा केसीको गाडी रोकियो । ‘प्रहरीले मसँग कागज खोजे, मैले म ड्राइभर मात्र हुँ, पछाडि मालिक आउँदैछन् उनीहरुसँग छ भनेँ’ केसीले सुनाए, ‘मैले फोन पनि गरेर प्रहरीले कागज खोज्दैछ भनेँ, तर आइहालेँ भनेका मान्छे दिउँसोसम्म पनि आएनन् ।’

प्रहरीले गाडी साइड लगाउन भन्यो । ‘साँझ पर्न लागेपछि प्रहरीले आफैं फोन गर्छौैं, कागज ल्याइदिए छाड्छौं भनेर भन्यो’ उनी सम्झन्छन्, ‘तर फोन उठ्दै उठेन । प्रहरीलाई मलाई एक्कासी गाडीसहित चौकीमा लग्यो ।’

कहिल्यै मुद्दा मामिलामा नपरेका केसी हातमा हत्कडी लागेपछि छाँगाबाट खसेझैँ भए । भन्छन्, ‘मैले भन्सार चोरी पैठारी भन्ने कुरा नै पहिलो पटक त्यहीँ सुनेको थिएँ ।’

***

उनले आफूलाई किन थुनामा राखिएको भनेर सोधे । जसलाई उनले सशस्त्र प्रहरी ठानेका थिए, उनीहरु विचौलिया रहेछन् । उनीहरु सम्पर्कविहीन भएपछि केसीले सामानको जिम्मेवारी लिनु परेको थियो ।

महानगरीय प्रहरी वृत्त, नागढुंगाका तत्कालीन डीएसपी घनश्याम श्रेष्ठले आफूहरुले त्यसबारे अनुसन्धान नगर्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइदिए । ‘त्यतिवेला मेरोका कागजमा के–के लेखियो थाहा थिएन’ केसी भन्छन्, ‘पछि हेर्दा मुचुल्कामै प्रहरीले मलाई विशेष सूचनाको आधारमा राजश्व छली गरेर ल्याइएको ८ बोरा सामानसहित पक्राउ गरेको भनेर लेखेको रहेछ ।’

केसी सात दिन महानगरीय प्रहरी प्रभाग, कोटेश्वरको थुनामा बसे । ‘त्यतिञ्जेल मलाई कसैले पनि सामान कसले दिएको हो ? कहाँबाट ल्याएको भनेर सोधेनन्’ उनी प्रश्न गर्छन्, ‘के अनुसन्धान यस्तै हुन्छ ? प्रहरीले किन मलाई सामान दिने मान्छे खोजेन ? मैले अहिलेसम्म जवाफ पाउन सकेको छैन ।’

उनलाई लाग्छ, यदि अनुसन्धान अधिकृतले त्यो दिन सशस्त्र प्रहरी गणको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज हेरेको भए त्यो सामान कहाँबाट आएको थियो भन्ने स्पष्ट हुने थियो ।

तर अनुसन्धान अधिकृतले त्यसको खोजी गर्न त परै जाओस्, उनलाई पछ्याउँदै जाने व्यक्तिबारे पनि अनुसन्धान गर्नु जरुरी ठानेनन् ।

बरु उल्टै आफ्नो बयानमा छेडछाड गरिएको उनको दाबी छ । ‘मैले बयानमा सशस्त्र प्रहरीको ब्यारेकबाट सामान लोड गरेको भनेको थिएँ’, उनी भन्छन्, ‘तर मेरो बयानको कागजबाट त्यो कुरा नै हटाइएको रहेछ ।’

विमानस्थल भन्सार कार्यालयले २ लाख ३१ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी आफैं पहिले फोन गर्ने व्यक्तिबारे खोजी गर्न थाले ।

अर्को मोबाइलमा आफूले फोन गर्ने व्यक्तिको नम्बर हाल्दा सामाजिक सञ्जाल इमोले नै नाम देखाइदियो – रामहरि लुइँटेल ।

केसीले त्यो नामका व्यक्तिलाई फेसबुकमा सर्च गरे । धेरैवटामा खोज्दै जाँदा एउटा आफूलाई नारायणघाट लैजाने व्यक्ति हो कि जस्तो लाग्यो । एक जना ‘म्युचल फ्रेण्ड’ पनि देखिए । ‘उनलाई लुइँटेलबारे सोध्ने वित्तिकै किन दाइ ? तपाईंलाई पनि फसायो कि क्या हो भनेर भन्यो’ केसी भन्छन्, ‘उनको इमेज गाउँमा पनि त्यति राम्रो रहेनछ ।’

तिनै व्यक्तिले उनको अर्को मोबाइल नम्बर र हाँडीखोलास्थित घर ठेगानाबारे बताइदिए । ‘पहिले चितवनमा बसेर काम गरेको थिएँ, त्यहीँ भण्डाराको भाइ थियो यो सूचना दिने’ केसी भन्छन्, ‘उनले दिएको सूचना पछ्याउँदै म लुइँटेलको घरै गएँ ।’

हेर्नुस् भिडियो

लकडाउनको वेला थियो, उनी कोटेश्वर प्रहरीबाट निस्किँदा पनि पैदल हिँडेरै स्वयम्भूस्थित कोठासम्म पुगेका थिए । लकडाउनले केही समय हिँड्न सक्ने अवस्था थिएन । अलिपछि लुइँटेलको घर पुग्दा उनले ‘काम गर्दा कहिले नाफा हुन्छ, कहिले घाटा । तपाईंलाई जानकारी भएन, हामीले पनि भनेनौं’ भनेर जवाफ फर्काए ।

‘लोकल गाडी हो के हुन्छ र भनेर चुपाचाप बसेका थियौं, तर समस्या भयो’ उनले भनेका थिए, ‘अब वकिल लगाएर गाडी निकाल्न सहयोग गर्छौं ।’ त्यहाँबाट उनी सहयोग गर्लान् भन्नेमा विश्वस्त भएर फर्किए । तर भोलिपल्टैबाट लुइँटेलको मोबाइल ‘स्वीच अफ’ भयो । ‘त्यसपछि मैले प्रहरीलाई पनि खबर गरे, उनीविरुद्ध पक्राउ पूर्जी पनि जारी भयो’ केसी भन्छन्, ‘तर म जाँदा घरमै भएको व्यक्ति प्रहरीले फेला पार्न सकेन ।’

उनी आफैं पनि फलोअप गर्दै जिल्ला प्रहरी कार्यालय, मकवानपुरसम्म पुगे । ‘त्यहाँबाट नेवारपानी प्रहरीलाई पत्राचार भएको थियो, त्यहाँका हवल्दार र सई घरमै जाँदा पनि मान्छे समातिएनन्’ केसी भन्छन्, ‘मान्छेभित्रै थिए, तर प्रहरीले समातेन ।’ प्रहरीले खनतलासी गर्न अर्कै कागज चाहिन्छ भन्दै लुइँटेललाई छाडिदिएको उनले बताए । ‘पछि बुझ्दा त्यहाँको स्थानीय प्रहरीसँग उनको राम्रो सम्बन्ध भएकाले नसमातेको रहेछ’ उनी भन्छन् ।

***

उनले यस विषयमा छानविन गरिदिन भन्दै सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक, भन्सार विभाग, महानगरीय प्रहरी परिसर काठमाडौंदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्ममा उजुरी दिएका छन् ।

तर सुनुवाइ भएको छैन । ‘म आज दुई वर्षसम्म तारिक धाइरहेको छु’ उनी भन्छन्, ‘गरी खाने गाडी पनि अहिलेसम्म नछुटेपछि काठमाडौंमा बस्न सक्ने अवस्था भएन, दाङ फर्किएको छु ।’

अहिले उनी हरेक महिना तारिख धाउँदै काठमाडौं आउँछन् । ‘यसपालि त पैसा भएन, आमाको वृद्ध भत्ताको पैसा लिएर काठमाडौं आएँ’ केसीले अनलाइनखबरसँग सुनाए, ‘गाडीको किस्ता बढेर कति पुग्यो, पागल हुन्छु जस्तो लाग्छ ।’

दाङको पैतृक सम्पत्ति धितो राखेर निकालेको गाडीसँगै जग्गा पनि लिलाम हुने अवस्थामा पुग्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?