+
+

‘चिसो एस्ट्रे’को प्रिमियर : सेलिब्रेटीले रुचाए फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १४:४२

२ चैत, काठमाडौं । फिल्म ‘चिसो एस्ट्रे’लाई सेलिब्रेटीहरुले रुचाएका छन् । मंगलबार साँझ सेलिब्रेटी जमघटबीच यो फिल्मको प्रिमियर गरिएको थियो । अभिनेता सन्तोष पन्तले फिल्म हेरिरहँदा आफूलाई नेपाली होइन हलिउड फिल्म हेरिरहेको महसुस भएको प्रतिक्रिया दिए ।

‘हलिउड जस्तो’ फिल्म कस्तो लाग्यो भन्ने प्रश्नमा सन्तोष पन्तको जवाफ थियो । उनले युवापुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटीजस्तै सबै कुराको मात्रा मिलेको र आफूलाई असाध्यै राम्रो लागेको बताए ।

निर्देशक निश्चल बस्नेतले ‘चिसो एस्ट्रे’का निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको बताए । अभिनयदेखि कस्ट्युमको छनोटसम्मको प्रशंसा गर्दै उनले दृश्य भाषामा फिल्म अब्बल रहेको बताए ।

अभिनेता राजेश हमालले ‘अब्स्ट्रयाक्ट’ फिल्म आफ्नो रोजाइमा रहने गरेको भन्दै फिल्मले काठमाडौं खाल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए । ‘पहिलो कुरा त यो मेरो स्वादमा पर्‍यो । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ । मलाई मनपर्‍यो,’ उनले भने ।

साहित्यकार कुमार नगरकोटीले धेरैपछि सशक्त नेपाली फिल्म हेरेको भन्दै संवाद र विम्ब प्रभावशाली रहेको बताए । ‘म परम्परागत कथावाचनमा विश्वास गर्दिन । यो फिल्मले पनि गरेको छैन । मलाई त सबैभन्दा बढी यही हिम्मत नै मनपर्‍यो । बाँकी कुरा पनि राम्रो छ,’ उनको प्रतिक्रिया थियो ।

अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्नेभन्दा फिल्म पृथक रहेको बताए । उनले पनि कथा भन्ने शैली फरक रहेको प्रतिक्रिया दिए ।

प्रिमियरमा फिल्मकर्मीहरुको प्रतिक्रियाले खुसी देखिएका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताए । ‘हामीले अलि फरक शैलीको फिल्म बनाउने प्रयास गरेका थियौं । फिल्म क्षेत्रबाट स्याबास पायौं । अब दर्शकको प्रतीक्षा छ,’ उनले भने ।

कवि भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षको कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरिएको फिल्मको निर्देशक दिन्स पाल्पाली हुन् । फिल्मलाई उज्वल बस्ताकोटीले खिचेका हुन् । फिल्ममा दिव्यदेव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ ।

प्रिमियरअघि भूपि पत्नी कान्ति शेरचनलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनले भूपिको कविताको भावलाई लिएर फिल्म बन्नु सुन्दर पक्ष रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?