+
+

नेविसंघलाई गैरविद्यार्थीको कब्जाबाट मुक्त गरौं

आशिष देवकोटा आशिष देवकोटा
२०७८ चैत २ गते १८:१२

आजकल काङ्ग्रेस भित्र र बाहिर जताततै चर्चा र विवादको विषय रहेको छ- भ्रातृ संगठनको विस्तार कार्य । लामो समयदेखि कांग्रेसका १० भ्रातृ संगठन नेतृत्वविहीन छन् । संगठन जाम भएर खिया लागेर बसेका छन् ।

पार्टीभित्र लामो समयदेखि भ्रातृ संगठनको विषयमा कुरा उठे पनि पार्टी नेतृत्वले आफ्नो लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउने रूचि र जाँगर देखाउन सकेको छैन । एउटै व्यक्तिलाई बारम्बार एउटै पदमा राख्ने अलोकतान्त्रिक अभ्यास चलिरहेको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसले सम्पूर्ण भ्रातृ संघ-संगठनलाई खारेज गरी ६ महिनाभित्र लोकतान्त्रिक प्रक्रियाद्वारा नेतृत्व चयन गर्नैपर्ने व्यवस्था गरिएको छ । तर, कांग्रेसको केन्द्रीय कमिटीले विभिन्न बहाना देखाउँदै यसलाई सार्दै आएको छ ।

कहिले एमसीसी त कहिले स्थानीय तहको निर्वाचनको कुरा गर्दै फागुनभित्रमा सक्नुपर्ने नेविसंघ, महिला संघ, तरुण दलसहित १० वटा भ्रातृ संगठनको कार्य समिति विस्तार गर्न सकेको छैन ।

कांग्रेसभित्र भ्रातृ संगठनको मुख्य नर्सरी भनेर चिनिने नेपाल विद्यार्थी संघ नेपाली विद्यार्थीको संगठन हो । यो हाल क्रियाशील रहेकामध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन पनि हो ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको थियो । कांग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना गरेको थियो । २०२७ वैशाखमा स्थापित संघलाई जाम र निष्क्रिय बनाएर राख्नु दुःखद विषय हो ।

नेविसंघ लामो कालखण्डदेखि संघर्षरत एक संघर्षशील संगठन हो । सामूहिक स्वार्थका लागि स्थापित संगठन निश्चित व्यक्तिका व्यक्तिगत स्वार्थमा कैद हुनु वा बनाइनु निश्चय पनि दुःखद विषय हो ।

नेता उत्पादन गर्ने संगठनलाई जाम बनाउनु भनेको पार्टी नयाँ नेताविहीन बनाउनु हो । यो भनेको अन्ततः पार्टी पुरानै नेताहरूले मात्रै चलाउने भन्ने हो । संगठनको अक्सिजन मानिने लोकतान्त्रिक विधि अवरुद्ध हुँदा यसले समयानुकूल नीतिमा परिमार्जन र सुधार समेत गर्न सकेको छैन ।

नेता उत्पादन गर्ने संगठनलाई जाम बनाउनु भनेको पार्टी नयाँ नेताविहीन बनाउनु हो । यो भनेको अन्ततः पार्टी पुरानै नेताहरूले मात्रै चलाउने भन्ने हो ।

नेविसंघमा संसारभर छरिएर रहेका नेपाली विद्यार्थी संगठित हुनसक्छन् । प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने विद्यार्थी संगठित हुने संगठनमा लोकतान्त्रिक प्रक्रिया अवरुद्ध भइरहेको छ । पूर्णतया लोकतान्त्रिक चरित्रको संगठनमा सबै विद्यार्थीले लोकतान्त्रिक विधि पूर गरी चुनेको नेतृत्वले नेतृत्व गर्नुपर्ने हुन्छ ।

यी मूल्यमान्यता र चरित्रको आधारमा संगठनलाई हेर्दा चित्त बुझाउने ठाउँ भेट्न मुश्किल छ । लामो समयदेखि विभिन्न क्याम्पस, स्थानीय निकाय, क्षेत्र, प्रदेश र केन्द्रमा गुट उपगुटको अभ्यास र लोकतान्त्रिक प्रक्रिया अवरुद्ध हुँदा संस्था अभिभावकविहीन अवस्थामा रहेको छ ।

काङ्ग्रेसको नेता उत्पादनको थलो भनेर चिनिने नेविसंघ उच्च नेतृत्व तहको लापरबाही र गुटगत झगडाको चपेटामा पर्दा आज तल्लो नेतृत्व उत्पादन प्रक्रिया ठप्प छ । लाखौं विद्यार्थीले नेतृत्व विकासको प्रतिस्पर्धामा उत्रने अवसर गुमाइरहेका छन् । यसले नेविसंघको अवस्था नाजुक बनेको छ ।

संघ पार्टीको विचार, नीति र आदर्शबाट स्खलित हुँदै जानु भनेको हामी आफ्नै इतिहास संरक्षण गर्न नसक्ने अवस्थामा पुग्नु हो । यसको क्षति स्वाभाविक रूपमा पार्टीले व्यहोर्नुपर्छ । स्थानीय चुनाव नजिकिंदैछ । मतदाता शिक्षादेखि पार्टी प्रचारको कामसम्म गर्नुपर्ने संगठन पक्षघातको अवस्थामा छ ।

पछिल्लो समय केन्द्रीय कार्यसमितिको विस्तारको विषय उठिरहँदा उमेरको हदबन्दीको मुद्दा उठेको छ । २०२७ सालमा स्थापित हुँदा २४ वर्षका बिपिन कोइराला अध्यक्ष थिए ।

तत्कालीन राजा महेन्द्रले १ पुस २०१७ मा निर्दलीय पञ्चायती व्यवस्था लादे । राजनीतिक दलहरू र राजनीतिक गतिविधिमाथि बन्देज लगाउँदै लोकतान्त्रिक योद्धाहरूलाई जेलमा थुने । समयक्रममा पञ्चायती व्यवस्थाविरुद्ध जुध्न विद्यार्थी संघको स्थापना भयो । विद्यार्थीको प्रतिरोधका कारण पनि २०३६ सालमा जनमत संग्रह भयो ।

त्यसो त, यसबीचमा भएका सबै राजनीतिक आन्दोलनमा नेविसंघको नेतृत्वदायी भूमिका रहँदै आएको छ । मूलतः २०४६ र २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिकामा रह्यो । नेपाल विद्यार्थी संघको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हुन् ।

इतिहास हेर्दा शेरबहादुर देउवा २७ वर्षको उमेरमा नेविसंघको सभापति चुनिएका थिए । धनराज गुरुङ ३२ वर्षमा, विश्वप्रकाश शर्मा र गगन थापाहरू २६-२७ वर्षमा नेतृत्व तहमा पुगेका थिए ।

खासगरी ती नेताहरूले गहिरोगरी सोच्नुपर्दछ जो आफ्नो युवावयमै नेतृत्वमा पुगेका थिए । त्यतिबेला नेतृत्वले लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गरेको भए अहिले देउवा, शर्मा र थापाहरू पार्टी र सरकारको नेतृत्वमा आउने सम्भावना बन्द हुनसक्थ्यो । त्यसैले संगठनभित्र लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गर्नु भनेको एकप्रकारले अक्षम्य राजनीतिक अपराध हो ।

त्यतिबेला नेतृत्वले लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गरेको भए अहिले देउवा, शर्मा र थापाहरू पार्टी र सरकारको नेतृत्वमा आउने सम्भावना बन्द हुनसक्थ्यो । त्यसैले संगठनभित्र लोकतान्त्रिक प्रक्रिया अवरुद्ध गर्नु भनेको एकप्रकारले अक्षम्य राजनीतिक अपराध हो ।

इतिहासले यी सबै नेतासँग हिसाबकिताब खोज्छ । अरुलाई दोष दिएर मात्रै उनीहरूले मुक्ति पाउने अवस्था रहँदैन । हरेक लोकतान्त्रिक संस्थामा पार्टीको नीति र विधिभन्दा माथि कोही पनि हुँदैन । विधानलाई मान्ने हो भने नेविसंघमा ३२ वर्षमुनिकै नेतृत्व ल्याउनुपर्छ ।

११औं महाधिवेशनबाट पारित विधानले प्रष्टरूपमा भनेको छ कि १२औं महाधिवेशनबाट ३२ वर्षभन्दा कम उमेरबाट मात्र नेविसंघमा आवद्ध हुन पाउँछ । तर त्यसलाई खारेज गर्दै १२औं महाधिवेशन गराउन ४६ वर्षका राजीव ढुंगानालाई नेतृत्व दिइयो । ६ महिनाभित्र महाधिवेशन गराउने जिम्मेवारी पाएको उक्त कमिटीले एक वर्ष बितिसक्दा पनि नतिजा दिनसकेको छैन ।

न नतिजा आयो, न लोकतान्त्रिक विधिको सुरक्षा भयो । केवल टिकेतन्त्र स्थापित भयो । अधिकारको लागि लड्ने संगठन नेतृत्वको चाकरी संस्कार मौलायो मात्रै ।

मानिसको अगाडि बोल्न नजान्ने, कहिले विद्यालयको अनुहार नदेखेका, कलेज पोशाक राम्रोसँग नचिन्ने, वर्षौं पहिले नै विद्यालय छोडेका, शिक्षालाई व्यापारीकरण गर्न लागेका मानिसहरू अहिले नेविसंघको नेतृत्वमा छन् । अहिले त नेविसंघको मूल पहिचान विद्यार्थी संगठन नै हो कि होइन भन्ने प्रश्न जन्मिएको छ ।

लोकतन्त्रको गुणगान गाउँदा अब अप्ठ्यारो पर्न सक्छ । आठ वर्षसम्म महाधिवेशन नगर्नेले कसरी लोकतन्त्र भन्ने ? हामीले अहिलेको नेतृत्वलाई सार्वजनिक आह्वान गर्नुपर्छ कि नेविसंघको माया छ भने तपाईंहरूले नयाँ पुस्तालाई सहयोग गर्नुपर्छ ।

तपाईंहरू तरुण दलमा काम गर्नुहोस्, जुन युवा वर्गको लागि कांग्रेसले कल्पना गरेको संगठन हो । पार्टी पनि तपाईंहरूको लागि खुल्ला छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?