+
+

मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते १२:४५

३ चैत, जनकपुरधाम । मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ ।

१५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन्।

दुई डोलाको पछाडि हजारौंको संख्यामा साधु सन्तहरुले परिक्रमा गरेका छन् । प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिक स्थलको परिक्रमा गर्ने चलन रहेको छ ।

जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एक सय आठ तीर्थ स्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।

परिक्रमामा सहभागि भएकाहरु १५ दिन सम्म आफ्नो घर नफर्कने चलन रहेको छ । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् ।

नेपाल र भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् । सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर, फुलहर तथा महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ ।

कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेले पछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् ।

फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने परम्परा रहिआएको छ । मिथिला महात्मयमा उल्लेख भए अनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ ।

किसोरीजी डोलाका महन्थ नवलकिसोर शरणले परिक्रमा परिवारिक कल्याणको लागि गरिने गरिएको बताए । १५ दिन सम्म साधु सन्तहरु र श्रद्धालुहरु एकै ठाउमा बसेर भजन किर्तन गर्ने गरिएको उनले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय धनुषाले फागु पूर्णिमाको अवसरमा जनकपुरधाम उपमहानगरपालिका भित्र दुई दिनसम्म माछा, मासु तथा मदिरा बिक्रि वितरण नगर्न निर्देशन दिएको छ ।

फागु पूर्णिमाको पूर्वसन्ध्यामा मिथिला माध्यमिकी परिक्रमालाई ध्यान दिदैँ यस्तो निर्देशन दिइएको हो । बिहीवार परिक्रमामा सहभागी जनकपुरधाममा भगवान श्रीराम जानकीको डोला आउनेछ र शुक्रवार मध्यमा परिक्रमासँगै अन्तगृह परिक्रमा घुम्ने भएकोले त्यसलाई दृष्टिगत गर्दै प्रशासनले माछा, मासु र मदिरा विक्री वितरणमा रोक लगाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?