+
+

पल शाहविरुद्धको बलात्कार मुद्दामा के छ प्रमाण ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३ गते २१:०१

३ चैत, काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय नवलपुर (नवलपरासी पूर्व) ले कम्तीमा पनि ६ वटा प्रमाणहरु जुटाएर कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणी (बलात्कार) को मुद्दा दायर गरेको छ ।

प्रहरीले पेश गरेको अनुसन्धान प्रतिवेदनका आधारमा शाहमाथि १४ देखि १६ वर्षसम्मकी किशोरी बलात्कारको अभियोगमा अधिकतम (१४ वर्ष) कैद सजायको मागदावी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार, पीडितको बाबुको जाहेरीका आधारमा अनुसन्धान अघि बढेपनि अन्य प्रमाणहरुले त्यसको पुष्टि गरेकाले मुद्दा दायर भएको हो ।

‘हामीले सबै कोणबाट हेर्दा घटना पुष्टि हुने आधार र प्रमाण फेला पारेका छौं’ एसपी महर्जनले भने, ‘१४ वर्षदेखि १६ वर्षकी बालिका बलात्कारको आरोपमा १२ देखि १४ वर्ष कैद सजायको व्यवस्था छ । हामीले अधिकतम सजाय हुनुपर्छ भनी मागदाबी गरेका छौं ।’

प्रहरीले ६ फरक प्रमाणले बलात्कारको पुष्टि हुने दाबी गरेको छ । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाहसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए । त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको अभियोगमा उल्लेख छ । त्यो व्यहोरालाई पीडितले प्रहरीसँगको बयानका क्रममा समेत पुष्टि गरेकी छन् ।

नवलपुरका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार, रिसोर्टको अभिलेखले कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको पुष्टि हुन्छ । रिसोर्टका सञ्चालकको बयानले त्यो दिन कलाकारहरु रिसोर्टमा बसेको बयान त गरेका छन् नै, साथसाथै कलाकार शाहले मदिरा सेवन गरेको समेत उल्लेख छ ।

यसबाहेक कलाकार दुर्गेश थापाले समेत बयान गरेका छन् । उनले त्यो दिन आफू समेत रिसोर्टमा गएको र पीडितका साथै कलाकार शाह पनि त्यहीँ रहेको बयान दिएका छन् । त्यसबाहेक सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको अडियो रेकर्डसमेत अभियोगपत्रका साथमा प्रमाणको रुपमा पेश भएको छ, जसमा कलाकार शाहले ‘शारीरिक सम्बन्ध भएकै कारण आफूले पीडितलाई विवाह गर्न बाध्य नहुने’ अभिव्यक्ति थिए ।

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार बलात्कारको घटनामा एक वर्षको हदम्यादको व्यवस्था छ । गतवर्ष ७ चैतमा घटना भएकाले आगामी सोमबारभित्र मुद्दा दायर भइसक्नुपर्ने थियो । तर बीचमा सार्वजनिक विदा परेकाले प्रहरीले जोखिम लिन नचाहिं हदम्याद सकिनुभन्दा केही दिनअघि नै मुद्दा दायर गरेको हो ।

नवलपुर जिल्ला अदालतका वैतनिक वकिल दीपक भट्टराईका अनुसार, शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा अनुसन्धान चलिरहेकाले त्यहाँ मुद्दा दायर भएपछि नवलपुरमा ल्याइने छ ।

‘शाहविरुद्धको जाहेरी एउटा टुंगो लाग्छ, मुद्दा दायर भयो भने त्यसक्रममा थुनछेक आदेश हुन्छ । त्यसपछि मात्रै आरोपितलाई नवलपुरमा ल्याइनेछ’ उनले भने, ‘दुवै अदालतमध्ये कुनै एकले थुनामा राख्नु भनी आदेश गरेमा आरोपित थुनिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?