+
+

क्रिकेट विश्वकप लिग टु : जितको लय कायम राख्ने योजनामा नेपाल

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत ४ गते ७:४७

४ चैत, काठमाडौं । युएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले शुक्रबार दोस्रो खेल घरेलु टोली युएई विरुद्ध खेल्दैछ ।

श्रृंखलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित मैदान उत्रनेछन् ।

युएईले पहिलो खेलमा पीएनजीलाई १७६ रनमा रोक्दै ७ विकेटको सहज जित हात पारेको थियो । तर नेपालले भने पीएनजीलाई हराउन संघर्ष गर्नुपरेको थियो । पीएनजीले दिएको २०५ रनको लक्ष्य नेपालले ८ विकेट गुमाएर ४ बल अगाडि पूरा गरेको थियो । रोहित कुमार पौडेलको धैर्यपूर्ण ब्याटिङ र करण केसीको आक्रामक ब्याटिङमा नेपाल विजयी भएको थियो ।

करिब एक महिनाअघि ओमानमा युएईसँग महत्वपूर्ण खेलमा पराजित भएपछि नेपाल टी–२० विश्वकप छनोट हुन असफल भएको थियो ।

एक महिना पनि नबित्दै नेपालले युएईसँग एकदिवसीय अन्तर्राष्ट्रिय फर्म्याटमा खेल्दा त्यो हारको पीडालाई बिर्साउने अवसर समेत हुनेछ ।

युएई पछिल्लो समय एसोसिएट टिममा उत्कृष्ट फर्ममा रहेको छ । युएईले यस श्रृखंला अघि पनि ओमान र नामिबिया सम्मिलित लिग टु कै श्रृंखला खेलेको थियो । त्यसबाट पनि उनीहरुलाई राम्रो तयारी मिलेको छ । नेपालले युएईलाई उसैको मैदानमा पराजित गर्न अझ मिहिनेत गर्नुपर्ने देखिन्छ ।

नेपालका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले पनि लिग टु को तयारीका लागि श्रीलंका जानुअघि युएई अहिलेको अवस्थामा उत्कृष्ट टिमको रुपमा रहेको बताएका थिए ।

लिग टु मा युएई १५ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ । ९ खेल खेलेको नेपाल १० अंक जोड्दै छैटौं स्थानमा छ ।

३ वर्ष नेपाल र युएईबीच एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदै

नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा तीन वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१९ जनवरी–फेब्रुअरीमा नेपालले युएई भ्रमण गर्दै तीन–तीन खेलको टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेको थियो । दुवै श्रृंखलामा नेपालले सुरुको खेल हारेर पनि पुनरागमन गर्दै श्रृंखला जितेको थियो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । तर त्यसपछि नेपालले युएईलाई दोस्रो खेलमा १४५ रनले र तेस्रो खेलमा ४ विकेटले हरायो । तेस्रो खेलमा नेपालले २५५ रनको लक्ष्य पूरा गर्दा तत्कालीन कप्तान पारस खड्काले ११५ रन बनाएका थिए । त्यो नेपाली खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म बनाएको एक मात्र शतक हो ।

त्यस श्रृंखला बाहेक नेपालले युएईसँग अर्को एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । सन् २०१८ मा भएको एसिया कप छनोटमा नेपाल युएईसँग ७८ रनले पराजित भएको थियो । अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा चार पटक भेट हुँदा दुवै टिमले २–२ खेल जितेका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?