+
+

नेपाल टी-२० विश्वकपमा पुग्न असफल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १८:५२

१० फागुन, काठमाडौं । नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा मंगलबार युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन । युएईविरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

ग्लोबल क्वालिफायरमा आफ्नो समूहको सबै खेल जितेर सेमिफाइनलमा पुगेको नेपाल युएईविरुद्ध निरीह बन्दा विश्वकप छनोटको नजिक पुगेर पुनः विश्वकप खेल्नबाट वञ्चित भएको हो । नेपालले पहिलोपल्ट सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो ।

नेपाललाई हराउँदै युएई सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ । मंगलबार नै भएको अर्को सेमिफाइनलमा ओमानलाई ५६ रनले हराउँदै आयरल्याण्ड पनि विश्वकपका लागि छनोट भएको छ । आयरल्याण्डले दिएको १६६ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान १८.३ ओभरमा १०९ रनमा अलआउट भयो । ग्लोबल क्वालिफायरको फाइनलमा युएई र आयरल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

समूह चरणको तीनै खेलमा नेपालले विपक्षीलाई सस्तैमा समेटेको थियो । पहिलो खेलमा ओमानलाई ३९ रन, दोस्रो खेलमा फिलिपिन्सलाई १ सय ३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपालले सेमिफाइनलमा युएईविरुद्ध प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन सकेन ।

१७६ रनको लक्ष्य पछ्याउँदा पहिलो ओभरमै  युएईका जुनैद सिद्धिकीले ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका लोकेश बमलाई आउट गरेपछि नेपाल इनिङको सुरुवातदेखि नै दबाबमा परेको थियो । समूह चरणमा फिलिपिन्समाथि शतक प्रहार गरेका कुशल भुर्तेलले २.४ ओभरमा आउट हुँदा नेपाल १४–३ को स्थितिमा थियो ।

मध्यक्रमका दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरी पारी उकास्ने प्रयास गरेका थिए । आरिफलाई ११ रनमा रोहन मुस्तफाले भृत्य अरविन्दबाट क्याचआउट गराएपछि आएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर दीपेन्द्रले पाँचौं विकेटका लागि ३३ रनको साझेदारी गरे ।

१३ औं ओभरको लगातार दुई बलमा ज्ञानेन्द्र र दीपेन्द्रलाई अहमद राजाले आउट गरेपछि नेपाल ८३–६ को कमजोर स्थितिमा पुग्यो । त्यसपछि युएईले खेलमा पूर्ण पकड जमायो । आउट हुनुअघि ज्ञानेन्द्रले २० र दीपेन्द्रले ३७ रन जोडे ।

अन्तिम क्रममा ब्याटिङमा आएका सन्दीप लामिछाने (४) र विवेक यादव (८ रन) पनि सस्तैमा समेटिए । जितेन्द्र मुखियाले ५ र कमलसिंह ऐरीले ४ रनबाट बनाउन सके । अविनाश १ रनमा अविजित रहे ।

बलिङतर्फ युएईका कप्तान अहमद राजाले ५ विकेट लिए । करिअरको उत्कृष्ट प्रदर्शन गरेका उनले ४ ओभरमा १९ रन खर्चिए । जुनैद सिद्धिकीले ३ तथा रोहन मुस्तफा र जहोर खानले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो । विष्फोटक सुरुवात गरेको युएईले सुरुआती ६ ओभरको समाप्तीमा १ विकेट गुमाएर ५८ रन जोडेको थियो ।

दोस्रो ओभरमै युएईका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले बोल्ड आउट गरेका थिए । तर दोस्रो विकेटका लागि अर्का ओपनर मोहम्मद वासिम र भृत्य अरविन्दले ६६ रनको साझेदारी गरे ।

आठौं ओभरमा सन्दीप लामिछानेले अरविन्दलाई ४६ रनको व्यक्तिगत स्कोरमा बोल्ट आउट गरे । त्यसपछि आएका मोहम्मद उस्मानसँग मिलेर वासिमले तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे ।

१६.१ ओभरमा उस्मान व्यक्तिगत १७ रनमा आउट हुँदा युएई १३६–३ को अवस्थामा थियो । सोही ओभरको अन्तिम बलमा अविनाश बोहराले वासिमलाई पनि ७० रनमा आरिफ शेखबाट क्याच आउट गराए । वासिमले ४८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे ।

१७औं ओभरमा अविनाशले दुई विकेट लिएपछि युएईको ब्याटिङ सुस्त भएको थियो । १८औं ओभरमा जितेन्द्र मुखियाले र १९औं ओभरमा अविनाश बोहराले पुनः विकेट लिए । जितेन्द्र र अविनाशले ३–३ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?