+
+

क्रिकेट कार्निभल : गुल्मी, सगरमाथा, फारवेस्ट र द हिमालयन विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते १७:२३

द हिमालयन क्लव अस्ट्रेलियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा क्रिकेट कार्निभल २०२२ को दोस्रो संस्करण सुरु भएको छ ।

पहिलो दिन सम्पन्न चारवटा खेलमा गुल्मी टाइगर्स, एक्स्पर्ट सगरमाथा ब्लुज, फारवेस्ट हन्टर्स र द हिमालयन क्लब विजयी भएका छन् ।

पहिलो खेलमा गुल्मी टाइगर्सले रोयल राइनोजलाई ४ विकेटले पराजित गर्‍यो । टीडब्ल्यू ब्लेक पार्कमा सम्पन्न खेलमा रोयल राइनोजले दिएको १०१ रनको लक्ष्य गुल्मी टाइगर्सले ६ विकेट क्षतिमा भेट्टायो ।

गुल्मीको ब्याटिङमा पदम गौतमले २८ तथा आकाश क्षेत्रीले २० रन तथा बलिङमा हेमु बुढाथोकीले ४ विकेट तथा आकाश क्षेत्रीले २ विकेट लिए । रोयल राइनोजको ब्याटिङमा मोहन पुनले १७ तथा निपेश पराजुलीले १७ रन तथा बलिङमा भीष्म भट्टराईले ३ तथा युत्सभ पोखरेलले २ विकेट लिए । प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका आकाश क्षेत्री घोषित भए ।

दोस्रो खेलमा एक्स्पर्ट सगरमाथा ब्लुजले एभरेस्ट लायन्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्‍यो । एभरेस्ट लायन्सले दिएको ११० रनको लक्ष्य एक्स्पर्ट सगरमाथा ब्लुजले ५ विकेट क्षतिमा भेट्टायो ।

एक्स्पर्ट सगरमाथा ब्लुजको जितमा ब्याटिङतर्फ दिनेश सापकोटाले ३२ तथा आशिष जिसीले २० रन तथा बलिङमा सजेन्द्र श्रेष्ठ र बिक्रम तिवारीले समान २ विकेट लिए । एभरेस्ट लायन्सको ब्याटिङमा सुमित पराजुलीले ५१ रन तथा बलिङमा सुरज दाहालले ४ विकेट लिए पनि जितको लागि पर्याप्त रहेन । प्लेयर अफ द म्याच सुमित पराजुली घोषित भए ।

तेस्रो खेलमा फारवेस्ट हन्टर्सले मभेन क्रिकेट क्लबलाई ९ रनले पराजित गर्‍यो । फारवेस्टले दिएको ११९ रनको लक्ष्य पछ्याएको मभेनले निर्धारित १०० बलमा ९ विकेट क्षतिमा ११० रन मात्र बनाउन सक्यो ।

फारवेस्ट हन्टर्सको जितमा ब्याटिंगतर्फ मुसादिया अलिले २९ तथा पुकार घिमिरेले २७ रन योगदान गरे भने बलिङमा उमर शहिद र संजय खत्रीले समान २ विकेट लिए । मभेन क्रिकेट क्लबको ब्याटिङमा विशेष डंगोल र सन्जोग दाहालले समान २४ रन तथा बलिङमा सन्जोग दाहाल र निरन्जन कार्कीले समान ३ विकेट लिए । प्लेयर अफ द म्याच पुकार घिमिरे घोषित भए ।

चौंथो खेलमा द हिमालयन क्लबले गोर्खाली क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्‍यो । गोर्खालीले दिएको १४६ रनको लक्ष्य हिमालयनले ४ विकेट क्षतिमा भेट्टायो ।

द हिमालयन क्लबको जितमा ब्याटिङतर्फ साहिल शर्माले ६३ तथा रमनित सिंहल ४६ रन योगदान दिए भने बलिङतर्फ सरोज क्षेत्री र केशव पन्तले समान २ विकेट लिए । गोर्खालीको ब्याटिङतर्फ सुरेश क्षेत्रीले ५३, बिमल केसीले ४२ तथा बलिङमा उस्मान गिलले २ तथा नितिन क्षेत्रीले १ विकेट लिएता पनि जित्न पर्याप्त रहेन । प्लेयर अफ द म्याच साहिल शर्मा घोषित भए ।

कार्निभलको दोस्रो दिन अर्थात आइतबार, २० मार्चमा पनि चार खेल हुनेछन् । ओभल एकमा बिहान ९ बजेदेखि द हिमालयन क्लब र रोयल राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १२:३० बजेदेखि एक्स्पर्ट सगरमाथा ब्लुज र फारवेस्ट हनटर्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, ओभल तीनमा बिहान ९ बजेदेखि गोर्खाली क्रिकेट क्लब र गुल्मी टाइगर्स तथा दिउँसो १२:३० बजेदेखि माभेन र एभरेष्ट लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले तीन हजार डलर र दोस्रोले एक हजार डलर पुरस्कार पाउने आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?