+
+

ऊर्जावान मान्छे किन जुम्सो हुन्छ प्रशासनमा ?

समयक्रममा त्यो जोश, जाँगर र ऊर्जा भएको व्यक्ति किन एउटा जुम्सो प्रशासकमा रूपान्तरण हुन्छ ? गम्भीर प्रश्नचिन्ह खडा हुन्छ। र, त्यसको गहन खोज नगरी प्रशासनमा रूपान्तरण सम्भव छैन।

सूर्यप्रसाद चापागाईं सूर्यप्रसाद चापागाईं
२०७८ चैत ६ गते १३:०२

हालै नेपाल सरकारको शाखा अधिकृतको रूपमा नवनियुक्त भई आधारभूत प्रशासनिक तालिम (ब्याट ३५) मा सहभागी ४८८ जनाको समूहले राष्ट्रिय आविष्कार केन्द्रमा रू.३ लाख १४ हजार सहयोग गरेका छन्।

आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पुराना सोचाइ र संकुचित मानसिकता भएका नेपाल सरकारका अधिकांश उच्च तहका अधिकृतहरूबाट एकदमै कम आशा रहेको प्रतिक्रिया दिए। तर, आउने दिनहरूमा अनुसन्धान र नवप्रवर्तनको क्षेत्रलाई प्राथमिकतामा राख्न उच्च तहमा नयाँ कर्मचारी आउने आशयको फेसबुक स्टाटस लेख्दै नयाँ पिंढीका शाखा अधिकृतहरूलाई उनले आशाका केन्द्रविन्दु भनेका छन्।

हुन पनि नेपालमा लोकसेवा आयोगका प्रतिस्पर्धात्मक परीक्षामा सफल हुनुलाई प्रतिष्ठाको विषयको रूपमा लिइन्छ। त्यसैमा पनि शाखा अधिकृतको परीक्षा पास हुनु चानचुने कुरा भएन। लोकसेवा आयोगले हरेक वर्ष सयौँ संख्यामा शाखा अधिकृतहरू सिफारिस गर्दछ। नियुक्ति पश्चात् नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नवनियुक्त अधिकृतहरूलाई तालिम प्रदान गर्दछ। तालिमले केही हदसम्म ज्ञान, सीप र मनोवृत्तिमा सुधार गर्न टेवा त दिन्छ नै। तर त्योभन्दा बढी समकक्षी साथीहरूसँग चिनजान, घुलमिल र सामाजिकीकरण हुने सुनौलो अवसरले धेरैलाई आकर्षित गर्दछ।

विभिन्न पृष्ठभूमिबाट आएका युवा अधिकृतहरूले फुर्सदको समयमा आफ्ना अनुभव, योजना र सपनाहरू साटासाट गर्दछन्। बिदाका दिनहरूमा हाङकिङ, र्‍याफ्टिङ, पिकनिक लगायत अनौपचारिक एवम् मनोरञ्जनात्मक क्रियाकलापमार्फत थप आत्मीय बन्ने प्रत्यत्न पनि गर्दछन्।

चाहे तालिमका औपचारिक सेसनहरूमा होस्, चाहे अनौपचारिक भलाकुसारीमा, ती अधिकृतहरूमा मुलुक बदल्ने संकल्प देखिन्छ। संकल्पप्रति बलियो आत्मविश्वास पनि देखिन्छ। लाग्दछ, त्यो जमात नेपालको प्रशासनमा प्रवेश गरेपछि सेवा प्रवाहमा सुधार हुन्छ। नागरिकले सुखद अनुभूति गर्दछन्। अझ यसो भनौं, अब प्रशासन सुधार टाढा छैन।

प्रशासन सुधार गर्ने तीव्र अभिलाषा हुनु, सेवाप्रवाहको गुणस्तर अभिवृद्धि गर्दै जनताको मन जित्ने अठोट हुनु, केही नयाँ काम गर्ने जोस जाँगर र ऊर्जा हुनु, प्रशासनयन्त्रका खराबीलाई निमिट्यान्न पारी सुशासनको जग बलियो बनाउने दृढ आत्मविश्वास हुनु अत्यन्तै सकारात्मक हो। तर समयक्रममा त्यो जोश, जाँगर र ऊर्जा भएको व्यक्ति किन एउटा जुम्सो प्रशासकमा रूपान्तरण हुन्छ ? गम्भीर प्रश्नचिन्ह खडा हुन्छ। र, त्यसको गहन खोज नगरी प्रशासनमा रूपान्तरण सम्भव छैन।

अब चर्चा गरौं ऊर्जावान अधिकृतलाई जुम्सो बनाउने प्रणालीतर्फ। प्रणाली सिद्धान्तले आगत (इन्पुट), प्रक्रिया (प्रोसेस) र निर्गत (आउटपुट) को जटिल सम्बन्धलाई इंगित गर्दछ। नेपालको प्रशासनमा ऊर्जावान अधिकृत आगतको रूपमा भित्रिन्छ। आगतलाई थप परिष्कृत गर्दै प्रभावकारी नतिजा दिने बनाउनु प्रोसेसिङ हो। जसरी उद्योगमा कच्चापदार्थ (रअ मेटियरियल) को प्रशोधन गरी उपभोग्य वस्तु (फाइनल गुड्स) तयार हुन्छ, त्यसैगरी प्रशासनमा पनि नवप्रवेशी कर्मचारीलाई थप जोश र जाँगरले भरिपूर्ण, सिर्जनशील, राष्ट्रप्रेमी, जनमैत्री बनाउनुपर्ने हो। तर यसको ठीक उल्टो धेरैजसो कर्मचारी जति पुरानो बन्दै जान्छन्, उति उदासीन र हतोत्साहित बन्दै गएको देखिन्छ।

नवप्रवेशीहरूलाई तालिममा निकै सैद्धान्तिक विषयहरूले प्रवचित गरिन्छ। सबै कुरा योग्यताले निर्धारण गर्ने विश्वास दिलाइन्छ। प्राय:ले प्रशिक्षक र प्रशासकका कुरामा विश्वास पनि गर्दछन्। पहिलो गाँसमा ढुंगा भनेझैं पहिलो पदस्थापना नै योग्यतालाई लत्याएर हुन्छ। अनि नवप्रवेशी अधिकृतहरूमा निराशाको पारो बढ्न थाल्दछ।

पहिलो पदस्थापना संवेदनशील पनि हुन्छ। कतिपय देशहरूमा केही महिनाको इन्टर्नसीप गराएर मात्र पूर्ण जिम्मेवारी दिने प्रचलन छ। प्रशासनिक संस्कार र कार्यप्रणालीको जग बसाउने बेला यही हो। तसर्थ, हरेक कर्मचारीलाई उसको योग्यता, रूचि र चाहना भएको ठाउँमा पदस्थापना हुनुपर्ने हो। आफूभन्दा सिनियर कर्मचारीबाट निरन्तर सिक्ने अवसर पाउनुपर्ने हो। तर नेपालमा अरू कर्मचारी जान नमान्ने, दुर्गम दूरदराजका स्थानीय तह वा अरूको रोजाइमा नपर्ने दरबन्दीमा धेरैजसोको पहिलो पदस्थापना हुन्छ।

अब समकक्षी साथीहरूबीच फरक छुट्टिन थाल्छ। केहीले पहिलो पदस्थापना नै आकर्षक वा सुगम ठाउँमा पाउँछन्। पहुँच पुग्नेहरू दुर्गम गएतापनि केही दिन वा महिना दिन भित्रै पुनः सरूवा मिलाई सुगममा आइपुग्दछन्। धेरैजसो जहाँ खटायो त्यहीं जानुपर्दछ, र लामो अवधि सेवा गर्नुपर्दछ। न उसको घरपायक जागिर मिल्दछ, न त आकर्षक ठाउँ नै। केही हिम्मत बटुली उच्च प्रशासकलाई भन्न गयो भने जवाफ आउँछ, ‘नेपालभर जागिर खान्छु भनेर लोकसेवा पढेको होइन ?’

प्रशासनमा पद्धतिको अनुसरण गर्नेभन्दा शक्तिको प्रदर्शन गर्ने विषयले प्रश्रय पाएको छ। कतिसम्म भने स्वेच्छाले दुर्गममा सेवा प्रवाह गर्न जाने स्वाभिमानी कर्मचारीलाई समेत केही उच्चपदस्थ कर्मचारीले निमुखो (पावरलेस) कर्मचारी भनी चिन्दा रहेछन्।

पहिलो पदस्थापनाबाट सुरू भएको दुर्दशा निरन्तर बढ्दै जान्छ। त्यसपछाडि सरूवाहरू सबै भनसुनमा नै आधारित हुन्छन्। पहुँच पुग्नेलाई दुर्गममा जानु पर्दैन, केवल बढुवाका लागि अंक बटुल्न गए भने अंक पुग्दाका भोलिपल्ट काठमाडौं नै सरूवा हुन्छ। यही अव्यवस्थित सरूवा प्रणालीलाई व्यङ्ग्य गर्दै प्रशासनमा डाँफे सरूवा र गैंडा सरूवा शब्द चर्चामा छन्। हिमाली जिल्लाबाट हिमाली जिल्लामा नै सरूवा हुनेलाई डाँफे सरूवा भनिन्छ। प्रायः भनसुनमा नलाग्ने, निमुखा कर्मचारीले यो अवसर पटकपटक प्राप्त गर्दछन्। गैंडा सरूवा सुगमबाट सुगम अर्थात् तराईबाट तराईका जिल्लामा हुन्छ।

नयाँ कर्मचारीलाई पुराना कर्मचारीले काम नसिकाउने अर्को प्रवृत्ति छ। राम्रो शैक्षिक योग्यता भएका, निकै सम्भावनायुक्त कर्मचारीलाई कतिपय पुराना कर्मचारीले ‘केही नजान्ने’ को बिल्ला भिराउन पछाडि पर्दैनन्। जतिसुकै सिर्जनशील विचार/उपाय प्रस्तुत गरे पनि पुरानोलाई त्यो मन पर्दैन्, बरू उल्टै सल्लाह दिइन्छ, ‘बढता बाठो बन्नुहुँदैन’ भनेर।

सिर्जनशील हुने र नवीन विचार प्रस्तुत गर्ने पद्धति नै छैन। हरेक हाकिमहरू निर्णय गर्नुपूर्व यसअघि वा गत साल यो विषयमा के निर्णय भएको थियो भनेर हेर्दछन्/खोज्दछन्। विगतको जस्तै हुबहु निर्णय गरिन्छ, चाहे त्यो गलत नै किन नहोस्।

काम गर्ने र नगर्नेको भेद छुट्याउन सक्दैन प्रशासनले। कार्यसम्पादन मूल्याङ्कनमा सबैले शतप्रतिशत नै अंक प्राप्त गर्दछन्। बरू कामलाई भन्दा जी–हजुरीलाई प्यारो मान्ने ठूलो जमात छ। व्यक्तिगत गुनगान, व्यक्तिगत चाकडी र अघिपछि गर्नेहरू नै अब्बल कहलिन्छन्। पुरस्कार, मानपदवी, प्रशंसा पाउन लायक नै तिनीहरू हुन्छन्। दुर्गममा जनताको सेवामा तल्लीन राष्ट्रसेवक त घमण्डी, समन्वय नगर्ने र अटेरी कहलिन कत्तिबेर लाग्दैन।

त्यसैगरी आर्थिक उत्प्रेरणा पनि अत्यन्तै कमजोर छ। तलब भत्ता संसारकै कममध्येमा पर्दछ। महँगी आकाशिएको छ। नवप्रवेशी नवयुवालाई तलबभत्ताको उति चिन्ता हुँदैन। आफ्नो दैनिकी चल्दा ऊ खुसी हुन्छ। ऊ निर्धक्क छ कि अब बुबाआमासँग घरबाट पैसा माग्नुपर्दैन भनेर। जब विवाह गर्छ, बालबच्चा जन्माउँछ अनि कोठाको सट्टा फ्ल्याटमा डेरा सर्छ। बच्चालाई स्कूल पढाउँछ। सपिङ, स्वास्थ्योपचार लगायतका जिम्मेवारी बढ्दै जान्छन्।

घरपरिवार, छिमेकी, ससुरालीले अरूहरूसँग तुलना गर्दछन्। श्यामेले धेरै नपढे पनि कोरिया गएर धन दौलत थोपरेको, घर घडेरी जोडेको, तर रामेले पढेर खासै उपति नगरेको कहानीहरू गुञ्जन थाल्दछन्। यावत् कुराले त्यो ऊर्जावान व्यक्ति अर्थोपार्जनतिर लाग्दछ, या त लोकसेवाका ट्युसन पढाउन सेन्टर धाउँछ, कि त साइड बिजनेश गर्ला। जेहोस्, प्रशासनमा आफ्नो व्यावसायिकता अभिवृद्धि गर्नेतर्फ पर्याप्त ध्यान दिन सक्दैन।

अनौपचारिक कुराकानीमा प्राय: उच्च प्रशासकदेखि तल्लो तहका कर्मचारीहरू निराशाका कुरा गर्दछन्। सामाजिक प्रतिष्ठामा खस्केको चिन्तित हुन्छन्। प्रायः कर्मचारीले सरकारी पोशाक लगाएर सर्वसाधारणसँग सडक वा सार्वजनिक यातायातमा यात्रा गर्न धक लाग्ने अभिव्यक्ति दिन्छन्। समाजले कतिपय कर्मचारी इमानदार छन् भन्ने कमनसेन्स नै नराखी सबै खराब छन् भन्ने दृष्टिकोण राखेको पाइन्छ। कतिसम्म भने कर्मचारीमाथि भौतिक आक्रमण हुँदा वा कार्यस्थलमा दुर्व्यवहार हुँदा समेत आम नागरिकस्तरबाट पर्याप्त सद्भाव आएको पाइँदैन।

उच्चप्रशासकहरूका पनि आफ्नै पीडा छन्। मन्त्रीको एस म्यान नभए तत्क्षणमा सरूवा हुन्छ। आफ्नो विज्ञतालाई बन्धक बनाएर मन्त्रीको असम्भव कुरालाई पनि हस् हजुर भन्नुको पीडा जो कसैले बुझेका छैनन् होला। साना ठूला सबै कर्मचारीहरूको मनोबल कमजोर बनेको छ। समायोजनको नाममा कर्मचारीतन्त्रमा थप नैराश्यता थप्ने काम भएको छ।

कतिपय कर्मचारीलाई सरुवा भएर गएको ठाउँमा हाजिर नगराएको, जिम्मेवारी नतोकेका, आफूभन्दा कनिष्ठको मातहत काम गर्न बाध्य पारेको, राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा महत्वपूर्ण बैठकमा उपस्थित नगराएको थुप्रै उदाहरण छन्। त्यसका अलावा राजनीतिले आफ्नो अक्षमताको दोष कर्मचारीतन्त्रमाथि थोपरिरहेको छ। कतिपय राजनैतिक दलका नेताहरू सार्वजनिक रूपमा नै कर्मचारीतन्त्रलाई अपमानित हुने गरी गालीगलौज गरेको पाइन्छ। तसर्थ, कर्मचारीतन्त्रको दिनप्रतिदिन मनोबल खस्कँदै जाँदा कार्यसम्पादन जुम्सो बन्दै गएको छ।

भनिन्छ, अँध्यारोलाई गाली गर्नुभन्दा सानो टुकी बाल्नु बुद्धिमानीपूर्ण हुन्छ। तसर्थ, हरेकले नवप्रवेशी ऊर्जावान युवाको जोश, जाँगर, ऊर्जा, उत्प्रेरणा र मनोबल ऊँचो पार्नेतर्फ सचेत हुन जरूरी छ। हरेक सरूवालाई वैज्ञानिक, पूर्वानुमानयोग्य र योग्यतामा आधारित बनाउने, वस्तुनिष्ठ सूचकांकमा आधारित यथार्थपरक कार्य सम्पादन मूल्याङ्कन प्रणालीको विकास गर्ने, कार्यसम्पादनमा आधारित तलबभत्ताको माध्यमबाट कर्मचारीलाई उत्प्रेरित गर्दै सेवाको गुणस्तर अभिवृद्धि गर्नेतर्फ प्रशासन र राजनीतिको नेतृत्वकर्ता बढी जिम्मेबार हुनुपर्दछ। नवीन विचार र सिर्जनालाई पहिचान गर्ने, ग्रहण गर्ने र थप प्रोत्साहित गर्ने पद्धति र संस्कारको विकास हुनुपर्दछ।

अन्त्यमा, प्रशासनयन्त्रको मूल्य, कार्यप्रणाली, व्यवहार र अभ्यासबाट एउटा ऊर्जावान नवप्रवेशी थप उत्प्रेरित हुँदै आफ्नो ज्ञान, सीप, अनुभव र मनोवृत्तिलाई परिष्कृत गर्दै राष्ट्रसेवामा तल्लीन हुने अवस्थाको सिर्जना होस्। व्यावसायिक कर्मचारीतन्त्रबाट गुणस्तरीय सार्वजनिक सेवा प्राप्त गर्ने नागरिक चाहना पूरा होस्।

(लेखक आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा कार्यरत शाखा अधिकृत हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?