+
+
लेटाङमा प्रहरीको मृत्यु :

यौन दुर्व्यवहारको घटना मिलाउने आशंकाले हिंसात्मक घटना

हरि अधिकारी हरि अधिकारी
२०७८ चैत ७ गते १९:१७

७ चैत, विराटनगर । विद्यार्थीविरुद्ध यौन दुर्व्यवहार गरेको घटनामा संलग्न शिक्षकका बारेमा जनप्रतिनिधिले विद्यालयमा नै छलफल राखेका कारण मोरङको लेटाङमा हिंसात्मक घटना भएको पाइएको छ ।

शिक्षकलाई कारवाही गर्नुपर्छ भन्ने पक्षका स्थानीयले दोषीलाई जोगाउन खोजेको भन्दै प्रहरीमाथि आक्रमण गरेको थियो । त्यस क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

गत शुक्रबार विद्यार्थीको घरमा पुगेका शिक्षक मनोज पौडेलले घरमा एक्लै देखेपछि छात्रालाई यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

शिक्षक पौडेल र बालिकाको बुबाबीच पुरानै चिनजान थियो । शिक्षकले दुर्व्यवहारबारे परिवारमा सुनाएकी बालिकाले आइतबार बिहान स्कुलमा आफ्ना साथीलाई पनि सुनाइन् । विगतमा पनि शिक्षक पौडेलले दुर्व्यवहार गरेको भन्दै बिहान साढे १० बजे स्कूल प्रशासनमा दुर्व्यवहारको उजुरी पर्‍यो ।

शिक्षकहरुले केरकार गर्दा आरोपी पौडेलले प्रमाण के छ भन्दै विवाद गरे । विवादका कारण शिक्षकहरु कक्षामा पढाउन गएनन् । दुर्व्यवहारको घटना विद्यार्थी, अभिभावक, आमा समूह हुँदै गाउँभरि फैलियो ।

‘विद्यार्थी मौखिक उजुरी गरेपछि मैले लिखित देउ प्रमाण हुन्छ भने’, स्कुलका प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले भने, ‘लिखित उजुरी दिएपछि वडाध्यक्ष र उपमेयरलाई खबर गरें ।’

दिउँसो साढे ११ बजे विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका लेटाङ ५ का वडा अध्यक्ष भुम सूर्य मगर र उपमेयर कृष्णकुमारी निरौला विद्यालय पुगे । वडाध्यक्ष र उपमेयर पुगेपछि स्कुलमा छलफल भयो । छलफलमा शिक्षक पौडेलले आफूले यौन दुर्व्यवहार गरेको स्वीकार गरेनन् । बरु प्रमाण देखाउन चुनौती दिए ।

छलफल लम्बिदै जाँदा विद्यार्थीलाई टिफिन लिएर आएका आमाहरुले विवादका बारेमा जानकारी पाए । ‘बच्चालाई खाना लिएर आमाहरु आएपछि आन्दोलन बढ्यो,’ मिश्रले भने, ‘विगतमा पनि दुर्व्यवहार गरेका कारण मैले राजीनामा मागे, राजीनामा दिएर कानुनी कारवाहीका लागि सहयोग गर्नुहोस् भनें ।’

मिलापत्र गराउन खोजको हल्ला चलेपछि बच्चालाई टिफिन लिएर आएका आमाहरु आन्दोलित भए । विद्यार्थी र अभिभावकले आन्दोलन गरेपछि प्रहरीलाई खबर पुगेको थियो ।

‘यसअघि पनि दुई पटक दुर्व्यवहारको घटना मिलाइएको रहेछ, फेरि स्कुलमा छलफल हुँदा शिक्षकलाई जोगाउन खोजेको हल्ला बजारमा फैलियो’, प्रहरी स्रोतले भन्यो, ‘प्रहरीले पनि आउनेवित्तिकै शिक्षकलाई लैजान पाएन ।’

प्रधानाध्यापक मिश्रका अनुसार २०७४ फागुनमा कक्षा ५ मा अध्ययनत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेपछि शिक्षक पौडेललाई खुट्टा ढोगेर माफी माग्न लगाइएको थियो । त्यसपछि टिचिङ प्राक्टिसका लागि आएकी शिक्षकमाथि पनि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

आगजनीबाट एक करोडको क्षति

विद्यालयमा छलफल चलिरहँदा शिक्षकलाई जोगाउन खोजिएको भन्दै आक्रोशित भिडले स्कुलमा तोडफोड र आगजनी गर्‍यो । आगजनीबाट एक करोड हाराहारीको क्षति भएको मिश्रले बताए । ‘हामीले भर्खरै ३८ लाखको डिजिल बोर्डहरु राखेका थियौं, २० लाख बढी मूल्यका ल्यापटप र कम्युटर थिए,’ मिश्रले भने, ‘स्कुलमा सबै संरचना तोडफोड भएका छन्, धेरै सामान चोरिएका छन् ।’

सात सय ४१ जना विद्यार्थी रहेको स्कुलमा तत्काल कक्षा सञ्चालनको अवस्था नरहेको उनले बताए । उनी विद्यालय तोडफोड गर्न र प्रहरीमाथि आक्रमण गर्न बाहिरबाट मानिसहरु आएको बताउँछन् ।

आइतबार साढे १२ बजे छलफलका लागि पुगेकी उपमेयर निरौलाले मिलापत्रको प्रयास नगरेको बताइन् । ‘जनप्रतिनिधि भएको नाताले म स्कुलमा पुगेकी हुँ, तर मिलापत्र गराउने उद्देश्य थिएन’, उनले भनिन्, ‘लेटाङमा दुःखद घटना भएको छ, गलत गर्नेलाई कानुनी कारवाही हुनुपर्छ ।’

आफू पुग्दा विद्यालयको माहोल उत्तेजित भएका कारण प्रहरीले सुरक्षा दिएर राखेको उनले बताइन् ।

स्कुलका पूर्व शिक्षक समेत रहेका स्थानीयबासी डिल्ली ओझा प्रहरीको संख्या थोरै भएका कारण घटना भएको बताउँछन् ।

विद्यालयमा छलफल पनि भएको बताउँदै उनले प्रहरीले दिउँसै शिक्षकलाई नियन्त्रणमा नलिएका कारण घटनाले उग्ररुप लिएको बताउँछन् । ‘जनप्रतिनिधिसहित छलफलमा बसेका कारण पक्राउ गर्ने कुरा भएन’, प्रहरी स्रोत भन्छ, ‘प्रहरीको संख्या थोरै थियो । माहोल एक्कासी आक्रामक बन्यो ।’

प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे पनि घटनास्थल पुगेका थिए । प्रहरी पुग्नेवित्तिकै शिक्षकलाई पक्राउ गरेको भए घटना यस्तो नहुने उनको भनाइ छ ।

‘दुर्व्यवहारको उजुरी गरेपछि विद्यार्थी, साना कक्षाका विद्यार्थीलाई टिफिन लिएर आएका आमा हुँदै गाउँमा हल्ला फैलियो’, उनले भने, ‘आन्दोलन बढ्दै गएपछि बाहिरबाट पनि मान्छे बोलाइए,त्यसपछि घटना नियन्त्रण बाहिर गयो ।’

घटनाले लियो राजनीतिक रुप

आइतबार दिउँसोसम्म सामान्य रहेको घटनाले बेलुकाबाट राजनीतिक रुप लिएको थियो । आरोपी शिक्षक नेकपा एमाले निकट हुन् । वडा अध्यक्ष मगर र उपमेयर निरौला पनि नेकपा एमालेबाट निर्वाचित हुन् ।

वडा अध्यक्ष भुम सूर्य मगरले जनप्रतिनिधि सुरुदेखि नै कानुनी उपचारको पक्षमा रहेको बताए । ‘गम्भीर प्रकृतिको घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्छ भनेर प्रहरीलाई खबर गर्‍यौं, छलफल गरेर मिलाउने प्रयास भएको छैन’, उनले भने, ‘खबर गरेको आधा घण्टापछि प्रहरी टोली आयो ।’

शिक्षकलाई आक्रमण गर्न खोज्ने स्थानीय र प्रहरीबीच आइतबार दिनभर घम्साघम्सी भयो । राती माहोल साम्य भएपछि शिक्षकलाई लिएर प्रहरीको गाडी फर्किएको थियो । घटनास्थलबाट पैदल इलाका प्रहरी कार्यालय लेटाङ आउँदै गरेको टोलीमाथि बाटो ढुकेर बसेको समूहले आक्रमण गरेको थियो ।

पैदल हिड्ने टोलीको पछाडि रहेकी प्रहरी जवान उर्मिला श्रेष्ठमाथि सडकमै आक्रमण भएको थियो । प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली र अश्रू ग्यास प्रहार गरेको थियो । २६ वर्षकी उनलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भयो । श्रेष्ठको शवको पोष्टमार्टमपछि नेपाल प्रहरीले सलामीसहित सोमबार श्रदाञ्जली अर्पण गरेको छ । आफन्तले अन्त्यष्टिका लागि शव उदयपुर लगेका छन् ।

आइतबार घरेलु हतियारसहित आएको समूहले आक्रमण गर्दा मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीसहित २९ जना प्रहरी घाइते भएका थिए । पाँच जना प्रहरीको कोसी अस्पतालमा उपचार भइरहेको छ । अन्य प्रहरी उपचारपछि फर्किएका छन् ।

प्रहरीले चलाएको गोली लागेर मिलन खड्का गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । खड्काले भने आफू आन्दोलनमा सहभागी नभएको बताएका छन् । ‘भाइको बर्थडेका लागि सामान लिन आएका थियौं, तर पाइएन’, उनले भने, ‘फर्कने क्रममा गोली लाग्यो ।’

फर्कने क्रममा आक्रमणकारी र प्रहरीको बीचमा परेको उनका साथी पुजन अधिकारीले बताए । ‘एक्कासी गोली लागेपछि हामीले बोकेर अस्पताल ल्यायौं, उनले भने, ‘हामी आन्दोलनमा गएका थिएनौं, बीचमा पर्‍यौं ।’

मिलनका बुबा चन्द्रबहादुरले छोराको उपचारमा समस्या भएको बताए । ‘हिजो विरामीलाई ल्याएको आजसम्म गोली निकालेको छैन’, उनले भने, ‘उपचार गर्ने आश्वासन नगरपालिकाले दिएको छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?