
काठमाडौं । क्रिप्टोकरेन्सी भनिने भर्चुअल मुद्राको विज्ञापनमा आफूलाई मुछिएपछि अभिनेत्री प्रियंका कार्कीले त्यसविरुद्ध कानुनी उपचारको तयारी गरेकी छन् । बुधबार बिहान केही प्रहरी अधिकारीसँग यस विषयमा छलफल गरेको उनले बताइन् ।
‘आज पनि ब्युरोमा पुगेरै मैले प्रमाण जुटाउने र कानुनी उपचारमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेकी छु,’ अनलाइनखबरसँग प्रियंकाले भनिन्, ‘प्रमाण जुटेपछि म चाँडोभन्दा चाँडो कानुनी प्रक्रियामा अघि बढ्ने तयारीमा छु ।’
सिंगापुरमा दर्ता भएको एक वेबसाइटले सुरुमा फेसबुकमा उक्त पोस्ट गरेको जानकारी प्रहरीले आफूलाई दिएको जानकारी प्रियंकाले दिइन् । फेसबुकको एउटा स्पोन्सर्ड पोस्टमा प्रियंकाको तस्वीरसहितको ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक वेबसाइटको लिंक राखिएको विज्ञापन केही दिनअघि देखिएको थियो ।
‘फेसबुकविरुद्ध नै मुद्दा हाल्ने कि सिंगापुरको उक्त कम्पनीविरुद्ध मुद्दा हाल्ने भन्नेबारेमा मैले अहिले मेरो लिगल टोली र प्रहरीसँग छलफल गरिरहेकी छु,’ प्रियंकाले भनिन् ।’
नेपालमा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार गर्न निषेध छ ।
प्रतिक्रिया 4