+
+

तरलता समस्या : बैंकभन्दा सहज अवस्थामा फाइनान्स कम्पनी !

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:०६

९ चैत, काठमाडौं । लगानी योग्य रकमको अभावले ठूला बैंकहरु निकै समस्यामा छन् । औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नै सीमाभन्दा माथि पुगिसकेको छ । ठूला बैंकहरुमा तरलताको समस्या विकराल बन्दै जादा फाइनान्स कम्पनीहरु भने तुलनात्मक हिसाबले सुरक्षित देखिएका छन् ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजात पाएका फाइनान्स कम्पनीहरुको औसत सीडी रेसियो अहिले पनि तोकिएको सीमाभित्रै रहेको वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । केही केही फाइनान्स कम्पनीहरु समस्याग्रस्त संस्थाको सूचीमा परेर उठेका संस्थताहरु छन् । ती संस्थाहरुको पूँजी धेरै भए पनि निक्षेप ल्याउन सकेका छैनन् । जसको असर त्यस्ता संस्थाहरुको सीडी रेसियो तोकिएको सीमाभन्दा धेरै माथि पुगेको छ ।

‘तर यी अपवाद हुन्, समस्याग्रस्त सूचीमा नपरेका संस्थाहरुमा धेरै सहज छ, हामी कम्फरटेबल अवस्थामा नै छौं’ गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका तुलाधरले भने, ‘मेरै संस्था गुडविलको कुरा गर्ने हो भने तीन दिन अगाडिसम्म ८६ प्रतिशत सीडी रेसियो छ, ९० प्रतिशत नै पुगेको छैन ।’

फाइनान्स कम्पनीका सीईओहरुको संगठन वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर

अहिले देखिएको समस्या भने बैंकको मात्रै रहेको उनले बताए । बैंकमा समस्या देखिनुको कारण पनि बैंकहरुकै कमजोरी रहेको उनी बताउछन् । बैंकहरुले मनपरी ढंगले कर्जा दिएका कारण पनि समस्या धेरै देखिएको उनको बुझाइ छ ।

आफ्नो फाइनान्स कम्पनीको औसत सीडी रेसियो सीमाभित्रै रहे पनि केही समयदेखि ऋणको आवेदन भने लिन छाडेको उनले बताए । यसले पनि अहिले ढुक्कसँग बस्न सकिने अवस्था रहेको उनको भनाइ छ ।

‘घाटी हेरि हाड निल्नु भन्ने उखान छ, बैंकहरुले त्यो लागू गरेनन्,’ अध्यक्ष तुलाधर भन्छन्, ‘अहिले हामीले यो विषयमा ध्यान दिएका छौं, जसले गर्दा कम्फरटेबल अवस्थामा छौं ।’ आफ्नो क्षमता अनुसार ऋण प्रवाह गरेको भए अहिलेको जस्तो अवस्था नहुने उनी बताउँछन् ।

बेस्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी पनि सीडी रेसियो सीमाभित्रै रहेको बताउँछन् । ठूला ऋणीहरुका लागि ऋण दिन रोके पनि स-साना ऋणीहरुका लागि ठप्पै भने नबनाएको उनले बताए । हुन त, संस्थाहरु अनुसार तरलता समस्या फरक-फरक छ । केही संस्था धेरै समस्यामा समेत छन् । तर केही संस्थाहरु भने निकै सहज अवस्थामा नभए पनि असहज भने भइनसकेको अवस्था छ । बेस्ट फाइनान्समा पनि यस्तै अवस्था रहेको उनले बताए ।

‘केही फाइनान्सहरु समस्यामा नै छन्’

अहिले १० वटा फाइनान्स कम्पनीहरु ‘ग’ वर्गको वित्तीय संस्थाको रुपमा सञ्चालनमा छन् । सञ्चालनमा रहेका मध्ये मल्टिपर्पज फाइनान्स एक जिल्ला (सप्तरी) मात्रै कार्यक्षेत्र भएको फाइनान्स कम्पनी हो भने जानकी फाइनान्स मोरङ, सुनसरी र सप्तरी गरी तीन जिल्ला कार्यक्षेत्र भएको फाइनान्स कम्पनी हो । बाँकी १८ वटा कम्पनीहरु भने राष्ट्रिय स्तरका कम्पनीहरु हुन् ।

केही पुराना कम्पनीहरु सीडी रेसियो सीमाभित्रै रहेको र थोरबहुत कर्जा दिन सक्ने अवस्थामा समेत छन् । फेरि कम्पनीहरु भने एकदमै अप्ठेरो अवस्थामा छन् । संघका अध्यक्ष तुलधार पनि केही कम्पनीहरुको सीडी रेसियो सय प्रतिशत नाघ्ने अवस्थामामा पुगेको बताउँछन् ।

अर्का एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतका अनुसार समृद्धि फाइनान्स, प्रोगेसिभ फाइनान्स, मल्टिपर्पज फाइनान्स लगायतका केही कम्पनीहरु अलि अप्ठेरो अवस्थामा पुगेका छन् । यस्ता केही कम्पनीहरुको सीडी रेसियो ९५ प्रतिशत भन्दा माथि पुगेको छ ।

यद्यपि, प्रोगेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईं भने कहिलेकाही माथि गए पनि मासिक औसतमा भने सीमाभित्रै रहेको बताउँछन् । उनका अनुसार प्रोगेसिभ फाइनान्सको सीडी रेसियो मासिक औसत ९० प्रतिशत भन्दा तल नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?