+
+

चोटले पिरोलेको महिला भलिबल

कुशल तिमल्सिना नमिता दाहाल कुशल तिमल्सिना, नमिता दाहाल
२०७८ चैत १० गते १०:४३

१० चैत, काठमाडौं । महिला भलिबलमा एक दशकदेखि एकछत्र प्रभुत्व कायम गरेको विभागीय टिम एपीएफले नेपालगञ्जमा हुने प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल तीनपल्ट जितेको छ । तर बिहीबारदेखि सुरु आठौं संस्करणमा साविक विजेता एपीएफ नै सहभागी छैन ।

अधिकांश मुख्य खेलाडी चोटग्रस्त बनेपछि च्याम्पियन टोली नै प्रतियोगितामा सहभागी नहुने निर्णयमा पुगेको हो । एपीएफका म्यानेजर विजय केसीका अनुसार सिनियर टिमका पाँच जना खेलाडी चोटग्रस्त छन् । मुख्य खेलाडी सरस्वती चौधरी एसीएल शल्यक्रियापछि फिजियोथेरापी गरिरहेकी छिन् । उषा विष्ट गोलीगाँठाको चोटबाट मुक्त हुँदैछिन् । भेट्रान कप्तान विनिता बुढाथोकी र युवा स्पाइकर निरुता ठगुन्ना पनि पूर्णरूपमा फिट छैनन् । पूजा चौधरी आन्तरिक तालिममा रहेकाले टिममा उपलब्ध छैनन् ।

टिममा महत्वपूर्ण खेलाडीहरू अनुपस्थित हुँदा लगातार जितिरहेको एपीएफ फागुन अन्तिममा चितवनमा भएको राष्ट्रियस्तरको महिला भलिबलमा चौथो भयो । त्यसैले उसले केही प्रतियोगिताबाट विश्राम लिने रणनीति बनाएको हो ।

खेलाडीको चोटले पिरोलेको एपीएफलाई मात्र छैन । अरू विभागीय टिम र न्यु डायमण्ड क्लब पनि चोटकै मारमा छन् । अर्थात् नेपालको महिला भलिबल खेलाडीको चोट साझा तर, गम्भीर समस्या हो ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टका अनुसार मंसिरमा सेन्ट्रल जोन भलिबलको उपाधि दोस्रोपल्ट जित्ने नेपाली टिममै अधिकांश सदस्य पूर्ण फिट थिएनन् । केही खेलाडी त खेल्नै नसक्ने अवस्थामा थिए, तर विकल्प पनि थिएन । प्रमुख खेलाडीलाई चोटबाट बचाउँदै उपाधि रक्षा गर्न सफल भएको उनी बताउँछन् ।

नेपाल भलिबलको ग्रासरुट कार्यक्रम र पर्याप्त एकेडेमी नहुँदा नयाँ खेलाडी उत्पादनमा सीमितता छ । सीमित खेलाडीबीच असीमित प्रतिस्पर्धा नै चोटको मुख्य कारण मानिएको छ ।

पुरुषको तुलनामा महिलाका प्रतियोगिता धेरै हुने गरेका छन् । देशभरबाट राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुन्छ ।

कोरोना कहर सुरु हुनुअघि महिला भलिबलका राष्ट्रियस्तरका दर्जन बढी प्रतियोगिता हुने गरेका थिए । तीज कपदेखि महिला दिवसका कार्यक्रममा राष्ट्रिय खेलाडीलाई समावेश गरी प्रतियोगिता हुन्थ्यो । प्रतियोगिताको मापदण्ड र खेलस्थलबारे न भलिबल संघलाई थाहा हुन्थ्यो, न सहभागी टिम वा क्लबलाई ।

२० देखि २४ फागुनसम्म झापामा भएको प्रतियोगितामा काठमाडौंका तीन विभागीय टोली र न्यु डायमण्ड एकेडेमीको सहभागिता थियो । लगत्तै २५ देखि २९ गतेसम्म चितवनमा प्रतियोगिता खेल्न पुग्यो । १० चैतदेखि नेपालगञ्जमा प्रधानमन्त्री कप आयोजना हुँदैछ । नेपाल भलिबल संघले गर्नुपर्ने एनभीए क्लब लिग र नेपाली सेनाले आयोजना गर्ने प्रधान सेनापति महिला राष्ट्रिय भलिबल प्रतियोगिता चैतमै हुने भनिए पनि मिति तोकिएको छैन ।

राष्ट्रिय टोलीका खेलाडीलाई प्रतियोगिताको स्तर र कोर्टको मापदण्ड नहेरी सहभागी गराउँदा चोटको खतरा उत्तिकै रहन्छ । ‘हाम्रा खेलाडीहरू अहिलेसम्म भगवान भरोसाले खेल्न सकेका हुन्’ तीन दशकभन्दा बढी समयदेखि नेपाली भलिबलमा सक्रिय र हाल महिला टोलीको प्रमुख प्रशिक्षक भट्ट भन्छन्, ‘उमेर समूहअनुसार प्रशिक्षण गराउने परिपाटी छैन । १३/१४ वर्षको खेलाडीलाई सिनियरसरह प्रशिक्षण र प्रतियोगितामा सहभागी गराएपछि उसको शरीरले धान्न सक्दैन, चोट त्यहींबाट सुरु हुन्छ । त्यसैले फिट खेलाडीको खडेरी पर्न थालिसकेको छ ।’

एपीएफका म्यानेजर विजय केसीले पनि खेलाडीको सुरक्षामा ध्यान नपुगेको स्वीकार्छन् । ‘एकपछि अर्को प्रतियोगिता हुँदा खेलाडीले रिकभरी समय पाएका छैनन् । प्रतियोगिता खेल्ने र आराम गर्ने समय उत्तिकै आवश्यक हुन्छ’ उनले थपे, ‘भलिबल संघले पनि आफूले स्वीकृति दिएका प्रतियोगिताको नियमन गर्नुपर्ने समय आएको छ । वाषिर्क क्यालेण्डरको व्यवस्था गरिदियो भने कुन प्रतियोगिता खेल्ने र कुन नखेल्ने निर्णय लिन पनि सजिलो हुन्छ ।’ नेपाल भलिबल संघले आफूले आयोजना गर्ने र सहभागी हुने अन्तर्राष्ट्रिय कार्यक्रम तथा प्रतियोगिताको मात्र क्यालेण्डर प्रकाशित गर्ने गरेको छ ।

चोटबारे खेलाडीलाई संघले जगाउँदैन चेतना

भलिबल संघको अर्को कमजोरी देखिन्छ- चोटबारे खेलाडीलाई चेतना जगाउने कार्यक्रम आयोजना नगर्नु । खेल्न सुरु गरेपछि राष्ट्रिय टोलीमा पर्ने सबैको लक्ष्य हुन्छ । राम्रो लयमा रहेको समयमा सानातिना चोटलाई मतलब नगर्दा त्यहीले गम्भीर रूप लिने गरेको यथार्थ प्रशिक्षक भट्टले थुप्रै देखेका छन् । विभागीय टिमले खेलाडीको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता पनि उनले देखेका छन् ।

खेलाडीले व्यक्तिगत रूपमा प्रशिक्षण गर्नु र ग्रासरुटदेखि नै स्तरीय प्रशिक्षण नपाउनुले यो भइरहेको छ । अहिले जसरी लगातार प्रतियोगिता मात्रै खेल्ने, रिकभरी समय नहुने हो भने प्रतियोगिता अघि र पछाडि के गर्ने भन्नेबारे कुनै तालिका छैन त्यसले धेरै चोटको समस्या भइरहेको छ ।

‘राष्ट्रिय टिममा लगभग कुनै पनि खेलाडी फिट छैनन्’ उनले थपे, ‘मुख्य कुरा त यसबारे खेलाडीलाई चेतना नभएको हो । त्यसबाहेक हाम्रा धेरै खेलाडी विभागीय टोलीमा छन् । उनीहरूले हरेक प्रतियोगिता खेल्नैपर्ने बाध्यता छ । राष्ट्रिय टिममा बोलाएपछि जसरी पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने, विदेश जाने रहर हुन्छ । त्यसले खेलाडीहरू धेरैजसो चोटलाई लुकाइरहेका भेटिन्छन् ।’

उनले राष्ट्रिय टोलीमा आएका धेरै खेलाडीको चोट पहिचान गरी उपचारका लागि पठाएको समेत जानकारी दिए ।

१३औं दक्षिण एशियाली खेलकुदमा ऐतिहासिक रजत जितेको दुई महिनापछि (२०७६ माघ) एनभीए क्लब च्याम्पियनसिप फाइनलमा राष्ट्रिय टोलीकी मुख्य स्पाइकर प्रतिभा मालीले चोट बोकिन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै आयोजित खेलका क्रममा ल्याण्डिङमा तालमेल नमिल्दा घुँडाको गम्भीर चोटका कारण एक वर्ष थलिएकी प्रतिभा मोफसलका प्रतियोगितामा खेलस्थल अत्यन्तै कमसल हुने बताउँछिन् ।

‘हामीले मोफसलमा खेल्ने मैदान एकदमै कमसल छन्, खाल्डाखुल्डी हुने हुन्छ । भलिबल खेल इन्डोर खेल हो तर अधिकांश मोफसलका खेलहरू खुला ठाउँमा हुन्छन् । मैदानमा माटो र बालुवा मात्र होइन, ढुंगा-गिट्टी पनि हुने गरेको छ’, उनले दुःखेसो गरिन् ।

भलिबल संघ यो तथ्यबाट बेखबर छैन । संघले पर्याप्त प्रतियोगिता गराउन नसकेकाले खेलाडी मोफसलका खेलमा गएर खेल्ने र कमसल खेलस्थलका कारण चोटको समस्या धेरै हुने गरेको उपाध्यक्ष निरोज मास्केको स्वीकारोक्ति छ । ‘हामीले राष्ट्रिय महिला टोलीका धेरै खेलाडीको इन्जुरीका बारेमा थाहा पाएका छौं । यसलाई रोक्न मापदण्ड नपुगेका प्रतियोगितामा राष्ट्रिय टिमका खेलाडी नपठाउने योजना बनाइरहेका छौं’, मास्केले अनलाइनखबरसँग भनिन् ।

अव्यवस्थित प्रतियोगिताले फाइदाभन्दा नोक्सानी बढी

भलिबललाई राष्ट्रिय खेल घोषणा हुनु र नियमित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा यसको लोकपि्रयता पनि बढिरहेको छ । लगातार तर, अव्यवस्थित प्रतियोगिताले फाइदाभन्दा बढी नोक्सान गरिरहेको छ । दुई महिनाअघि पोखरामा भएको टाइगर कपका क्रममा घुँडाको चोट बल्भिmएपछि सरस्वती चौधरीले हालै शल्यक्रिया गराएकी छन् ।

उनी करिब ९ महिना कोर्ट बाहिर हुनेछिन् । १२ वर्षको उमेरदेखि नै भलिबल खेल्न थालेकी धनगढीकी सरस्वती सेन्ट्रल जोन भलिबलका लागि मंसिरमा बंगलादेश जाँदा नै फिट थिइनन् । भन्छिन्, ‘अलि कति पीडा सहेर भए पनि खेल्छु भन्ने हुन्छ टोलीबाट प्रेसर त हुँदैन, आफ्नै मन नै मान्दैन ।’

एपीएफलाई टाइगर कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा रहेकी सरस्वतीले त्यो प्रतियोगिताका अधिकांश खेल दुखाइ कम गर्ने औषधि खाएर खेलेकी थिइन् । ‘विभागबाट खेल्नैपर्छ भन्ने दबाव त थिएन तर, यति ठूलो चोट भन्ने पनि लागेको थिएन । पोखराबाट फर्किंदा एमआरआईको रिपोर्ट आएको रहेछ । अप्रेसन नै गर्नुपर्ने थाहा पाएँ’, उनले भनिन् ।

राष्ट्रिय महिला भलिबल टोलीले सन् २०२२ मा दुई महत्वपूर्ण प्रतियोगिता खेल्नेछ । नेपालमै हुने साफ महिला भलिबल च्याम्पियनसिप र माल्दिभ्समा सेन्ट्रल जोन भलिबलको आयोजना मिति तय नभए पनि सरस्वती त्यति बेलासम्म फिट भइनन् भने नेपालको प्रदर्शनमा असर पर्न सक्छ ।

उमेरसमूह अनुसारको प्रशिक्षण भएन भने चोटले कति दुःख दिन्छ भन्ने उदाहरण हुन्- नेपाल पुलिसकी कामना विष्ट । जाजरकोटमा जन्मिएकी विष्ट एथलेटिक्सबाट भलिबलमा आएकी हुन् । २०७३ सालको सातौं राष्ट्रिय खेलकुदपछि नेपाल पुलिसमा अनुबन्ध भएकी कामना सोही वर्ष ढोरपाटन महिला लिग भलिबलमा सर्वोत्कृष्ट बनिन् ।

राष्ट्रिय टिममा उदीयमान ओपन स्पाइकरका रूपमा सम्भावना देखाएकी कामनालगत्तै चोटग्रस्त बनिन् । सामान्य भन्ने ठानेर समयमै उपचार सुरु नगर्नुको मूल्य उनले नराम्रोसँग चुकाइन् । ‘एक डेढ वर्ष चोट र पीडा सँगै खेलें । करियरले पिक लिने बेलामा मेरो करियरलाई इन्जुरीले नराम्रोसँग गिजल्यो’, उनले भनिन् ।

अलि अलि घुँडा दुख्ने हुँदा उनी स्प्रे र औषधिको भरमा खेल्थिन् । पीडा बढ्दै गएपछि उनले अर्थोस्कोपी गरिन् । त्यसपछि थाहा भयो उनको घुँडाको कुरकुरे हड्डीमा घाउ भएको रहेछ । उनको घुँडाको दुखाइ सामान्य होइन भनेर थाहा पाइन् । उनले भनिन्, ‘सबैले आशा राख्नुभएको थियो । मैले राम्रो गर्ने समयमा चोटको सिकार भएँ ।’

प्रतिष्ठित प्रतियोगितामा उत्कृष्ट खेलाडी बनेर सम्भावना देखाएको पाँच वर्षपछि उनले गत मंसिरमा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी छिन् । उनी आफ्नो पुरानै लयलाई फिर्ता ल्याउन प्रयासरत छिन् । कामनाको पुनरागमनपछि नेपाल पुलिस पनि बलियो हुन थालेको छ ।

चोट किन लुकाउँछन् खेलाडी ?

‘खेलाडीलाई जतिसक्यो धेरै खेलौं-खेलौं लाग्छ । मैले पनि सुरु-सुरुमा दुखाइको वास्ता गरिनँ । धेरै नै दुख्न थालेपछि मात्र हो उपचार गर्न थालेको’, राष्ट्रिय टोलीकी अलराउण्डर कामनाले भनिन् ।

खेलाडीले चोट लुकाउनुको प्रमुख कारण प्रतियोगिता गुम्ने र राष्ट्रिय टोलीको अवसर खेर जाने डर नै हो ।

एपीएफ तथा राष्ट्रिय टोलीकी मुख्य स्पाइकर सरस्वती चौधरी भन्छिन्, ‘प्रतियोगिता हुँदा सकेसम्म खेलौं भन्ने र मैले नखेल्दा टोलीले हार्ने पो हो कि भन्ने असुरक्षित महसुस पनि हुन्छ ।’

सरस्वतीलाई तीन वर्षअघिबाट नै हल्का घुँडा दुख्ने भइरहेको थियो । तर उनले परीक्षण गर्न ढिलाइ गरिरहिन् । ‘खेलिरहेकै छु । एक्कासी अप्रेसन गर्नुपर्छ भन्दियो भने खेल छुट्छ भन्ने डर हुने । जबसम्म खेल्न सकिन्छ तबसम्म खेलौं भन्ने छ । चोटले धेरै नै नपिरोलेसम्म आराम गर्ने, खेल छोड्ने भन्ने हुँदैन’, उनले भनिन् ।

अन्य खेलाडीले पनि अन्तर्राष्ट्रिय खेलका बेलामा पीडा लुकाएर खेल्ने गरेको सरस्वतीले खुलाइन् । भनिन्, ‘हामी लामो समयमा एउटा अन्तर्राष्ट्रिय खेल खेल्छौं । त्यो खेल्ने बेला पीडा भए पनि लुकाएर टोलीका लागि खेल्छौं ।’

फाइनल खेल भएको बेला अलिकति चोट सहेर भए पनि खेलौं भन्ने हिसाबले खेल्छन्- खेलाडी । ‘मैले अलिकति दुखाइ सहेर भए पनि खेलें भने टोलीलाई सहज होला भन्ने तरिकाले खेलिन्छ’, प्रतिभा माली भन्छिन् ।

इन्जुरीको पुनरागमनपछि अधिकांश खेलाडी आफ्नो शतप्रतिशत दिन सक्दैनन् । प्रतिभाको अझै पनि घुँडा सुन्निन्छ । चिसोको समयमा र प्रशिक्षण बढी भएमा घुँडामा चसक्क बिझेको जस्तो हुन्छ ।

मुख्य खेलाडी नहुँदा टोलीको आत्मविश्वास खस्किन्छ । जसले गर्दा टोलीका महत्वपूर्ण खेलाडीले चोट लुकाएर खेलिरहेका हुन्छन् । विभागको दबाब, टोलीमा असुरक्षित महसुस भएर पनि खेल्ने गरेको प्रतिभाले बताइन् ।

पोषण र फिटनेस चोटको मुख्य कारण

फिटनेसमा समस्या र पोषणको कुरा नमिलेका कारण इन्जुरीको समस्या धेरै भएको खेलाडीले नै महसुस गर्न थालेका छन् ।

‘हामीले खेल्दा कडा अभ्यास गर्छौं । त्यसले गर्दा शरीरमा पोषणको सन्तुलन कायम गर्नु एकदमै जरूरी छ’ कामनाको भनाइलाई थप्दै प्रतिभाले भनिन्, ‘हाम्रो शरीर फिट हुनुपर्छ । फिटनेस त अपरिहार्य नै हो । यसका लागि दैनिक कसरत गर्नुपर्छ । एकै पटक अभ्यासमा कोर्टमा उत्रिंदा इन्जुरीको समस्या आउँछ ।’

शरीर स्वस्थ राख्न र कडा अभ्यासको क्रममा खर्च भएको शक्तिको भर्पाइ गर्न पोषणयुक्त खानामा ध्यान दिनुपर्ने सरस्वती बताउँछिन् । ‘हामीलाई फिट शरीर त चाहिन्छ नै त्यसका साथै खानेकुरा पनि उत्तिकै महत्वपूर्ण हो । खानेकुरामा सन्तुलन नमिल्दा पनि हामीले इन्जुरीको समस्या भोग्न पुग्छौं’, उनले भनिन् ।

फिजियोथेरापी खेलको मुटु नै रहेछ

चोटबाट फर्किर्एका सबै खेलाडीले बल्ल फिजियोथेरापीको महत्व बुझेका छन् । तर नेपाल भलिबल संघले राष्ट्रिय टोलीका लागि पनि नियमित फिजियो नियुक्त गरेको छैन । प्रशिक्षणको समयमा सीमित अवधिका लागि नियुक्त गर्न थालिएको पनि धेरै भएको छैन ।

‘फिजियोथेरापी खेलको मुटु जस्तै रहेछ । जसरी खेल जित्न प्रशिक्षक चाहिन्छ त्यसरी नै खेलाडीलाई खेल्न र फिट रहन फिजियो अपरिहार्य छ’ चोटलाई जितेर राष्ट्रिय टिममा पुगेकी कामनाले भनिन्, ‘फिजियो साथमा भयो भने शरीर अनुसार ट्रेनिङ गराउँछन् जसले गर्दा हाम्रो फिजिकल स्ट्रेन्थ निखारिन्छ ।’

घुँडाको शल्यक्रियापछि सरस्वती पनि अहिले फिजियोथेरापीमा छिन् । डाक्टरले सात महिना नियमित थेरापी गरेपछि कोर्टमा फर्किन सकिन्छ भनेका छन् । ‘टिममा एउटा फिजियो थेरापिस्ट हुनैपर्ने रहेछ । यसअघि हामीले फिजियोथेरापीको महत्व नै बुझेका रहेनछौं’, उनले भनिन् ।

आफ्नो शरीरको सुरक्षाका लागि आफैं पनि सजग हुनुपर्ने प्रतिभाले बताइन् । ‘आफ्नो समस्याको पहचिान गरी बेलाबेलामा आफैं पनि थेरापी गरिराख्नुपर्छ । मेरो घुँडाको समस्या छ त्यो त मलाई थाहा छ नि ! त्यसको लागि म आफैं सजग छु ।’

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

नमिता दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?