+
+

रञ्जना र गोपीकृष्ण हल भोलिदेखि पुनः सञ्चालन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १२:१५
न्युरोडस्थित रञ्जनाको नयाँ हल

काठमाडौं । नेपाली फिल्म प्रदर्शनको इतिहास बोकेका दुई सिनेमा हल रञ्जना र गोपीकृष्ण शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएका छन् । पुनर्निर्माणपछि नयाँ स्वरुपमा यी दुई हल सञ्चालनमा आउन लागेका हुन् ।

बलिउड फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै दुवै हलले सेवा थालनी गर्न लागेका हुन् । मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा न्युरोडस्थित रञ्जना हल बन्द गरिएको थियो ।

अत्याधुनिक प्रविधि र सुविधासहित शुक्रबारदेखि रञ्जनालाई पुनः सञ्चालन गर्न लागिएको सञ्चालक नरेन्द्र महर्जनले अनलाइनखबरलाई बताए । रञ्जना सिनेप्लेक्सको तीन अडिटोरियममा ५३१ सिट क्षमता छ ।

फोके प्रोजेक्सन, डल्बी र एलडब्लु ध्वनि प्रणाली र थ्रीडी प्रविधि जडान भएको उनले जनाए । ‘काठमाडौंकै व्यस्त थलो न्युरोडको फुटफललाई हलमा आकर्षित गर्न सकिने हाम्रो आशा छ,’ महर्जनले भने, ‘मान्छे वरपरबाट हिंडेर आउन सक्ने ठाउँमा छ ।’

चावहिलस्थित गोपीकृष्ण हल पनि पुनर्निर्माणपछि शुक्रबारदेखि पुनः सञ्चालनमा आउँदैछ । पुरानो भवन भत्काएर नयाँ निर्माण गरिएपछि गोपीकृष्ण खुल्न लागेको हो ।

व्यवस्थापक प्रदीप दाहालले २ वर्षपछि गोपीकृष्ण हल पुनः सञ्चालन हुन लागेको बताए । नयाँ गोपीकृष्णमा तीन अडिटोरिम र ३३५ सिट क्षमता छ । आधुनिक भारतीय प्रविधिको प्रोजेक्सन र ध्वनि जडान गरिएको र दर्शकले ‘इन्जोय’ गर्न सक्ने उनले बताए । बलिउड फिल्म ‘आरआरआर’ प्रदर्शनसँगै गोपीकृष्ण सञ्चालन हुनेछ ।

यसैगरी बुटवलस्थित आईएनआई क्यूबक्स पनि शुक्रबारबाटै सञ्चालमा आउँदैछ । दुईवटा अडिटोरियम रहेको हलको कुल सिट क्षमता ३९२ रहेको छ । शंखमूलमा पनि आईएनआईको नयाँ हल पनि सञ्चालन हुने तयारीमा छ । हालसम्म आईएनआईको फ्रेन्चाइज संख्या १० पुगेको छ ।

यस्तै दरबारमार्गस्थित क्यूएफएक्स दरबार मल, जमलस्थित विश्वज्योति हल र कालिमाटीस्थित वान सिनेमाज पनि चाँडै सञ्चालनको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?