
काठमाडौं । अभिनेता राजेश हमालसँग अहिले तीन योजना छन्, भारतको बैंग्लोर पुगेर सद्गुरुसँग अन्तर्वार्ता लिने, आफ्नो युट्युब च्यानलका लागि कार्यक्रम उत्पादन गर्ने र होम प्रोडक्सनको फिल्म निर्माणको काम अघि बढाउने ।
हमालले आफ्नो योजनाका विषयमा दुई साताअघि अनलाइनखबरलाई सुनाएका थिए । केही समयअघि आफ्नो युट्युब च्यानल सञ्चालनमा ल्याएका उनी त्यसका लागि कार्यक्रम उत्पादनको योजना बनाउँदै छन् ।
आफूले सञ्चालन गर्ने शोका लागि हमालले वैशाखदेखि सातै प्रदेशको भ्रमण गर्ने भएका छन् । ‘ट्राभल विथ राजेश हमाल’ नाम दिइएको उक्त शोको उद्देश्य सातै प्रदेशको पर्यटन प्रवर्द्धन गर्नु हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हमालले बनाउन लागेको यो कार्यक्रमका लागि उनी सातवटै प्रदेशमा रहेका मुख्य पर्यटकीय थलो पुग्नेछन् । आगामी साता हमालले मन्त्रालयसँग यसबारे सम्झौता गर्ने तयारी छ ।
युट्युबको प्रयोगलाई लिएर अहिले व्यपाक बहस भइरहेको बेला हमालले यो प्लेटफर्मलाई सिर्जनात्मक तुल्याउने खालका कार्यक्रम ल्याउन लागेको बताएका थिए ।
अर्कोतर्फ, भ्वाइस फर युथ कार्यक्रमको लागि भारतीय आध्यात्मिक गुरु सद्गुरुसँग अन्तर्वार्ता लिन हमाल वैशाखमै भारत जाने तयारीमा छन् । सद्गुरुको इशा फाउन्डेसनले टक शोका लागि पत्राचार समेत गरिसकेको छ । यसैगरी होम प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण तथा निर्देशनको तयारी पनि थालेका छन् ।
प्रतिक्रिया 4