+
+
कांग्रेस बैठक :

चुनावी गठबन्धनको पक्ष-विपक्षमा कित्ताकाट

देउवा समूहमा गठबन्धनको पक्षधरता देखाउने होडबाजी

कांग्रेस नेताहरुका अनुसार सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा छन् । उनी निकट नेताहरु पनि केन्द्रीय समितिमा त्यसरी नै प्रस्तुत भएका छन् । तर केन्द्रबाटै चुनावी तालमेलबारे निर्णय गर्न भने सहज छैन ।

लिलु डुम्रे लिलु डुम्रे
२०७८ चैत ११ गते २१:३६

११ चैत, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिमा नेताहरु चुनावी गठबन्धनको पक्ष र विपक्षमा बाँडिएका छन् । शुक्रबारदेखि सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरु गठबन्धनको पक्षमा खुलेका छन् भने डा. शेखर कोइराला पक्ष नेताहरुले एक्लै चुनाव लड्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकको सुरुमा सभापति देउवा केही बोलेनन् । महामन्त्री गगनकुमार थापाले स्थानीय चुनाव र गठनबारे पार्टीमा फरक–फरक धारणा हुनु स्वभाविक भएको भन्दै खुला छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अनुपस्थित थिए ।

प्रदेश सभापतिका दुइथरी मत

बैठकमा सात प्रदेशका सभापतिलाई बोलाइएको थियो । सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरबाहेक ६ जनाले बैठकमा उपस्थित भएर आफ्नो धारणा राखेका छन् ।

प्रदेश १ सका सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र बाग्मतीका इन्द्र बानियाँले चुनाव गठबन्धन गरेर जानुपर्ने मत राखेका छन् । कर्णालीका सभापति ललितजंग शाहीले विगतमा जितेको आधारमा तालमेल गर्दा माओवादी केन्द्रलाई धेरै स्थान छाड्नुपर्ने भन्दै विचार गर्न नेतृत्वलाई आग्रह गरे । थापा, नेता कृष्ण सिटौला तथा यादव, बानियाँ र शाही सभापति देउवा निकट हुन् ।

गण्डकी प्रदेशका सभापति शुक्राज शर्मा र लुम्बिनीका अमरसिंह पुनले भने एक्लै चुनाव लड्नुपर्ने बताएका छन् । दुबै डा. शेखर समूहका प्रदेश सभापति हुन् । शर्माले पार्टी भारतमा कांग्रेस आई जस्तो होला भनेर चेतावनी दिँदै भनेका छन्, ‘चुनाव हार्छौं भन्दै गठबन्धन गर्दै गयौं भने कहाँ पुगिन्छ थाहा हुन्छ ।’

त्यस्तै धारणा राखेका लुम्बिनी प्रदेश सभापति पुनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘भारतमा विभिन्न तहमा कांग्रेस आईले गठबन्धन गर्दै गयो । आज कांग्रेस आई खोज्नुपर्ने अवस्थामा छ ।’ गठबन्धन गर्नुपर्ने अवस्थामा पनि स्थानीय कमिटीहरुलाई निर्णय गर्नु दिनु उपयुक्त हुने प्रदेश सभापति पुनले बताए ।

प्रदेश सभापतिहरु पनि चुनावी अभियान लिएर जिल्ला–जिल्ला गएका केन्द्रीय सदस्यहरुले बोलेका छन् ।

कृष्णचन्द्र नेपाली पोखरेल, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादुर बुढा, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरि खतिवडा, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, जानकी सिंह, प्रा. डा. गोविन्दराज पोखरेल, अजयवावु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, दिनेश कोइराला, सीताकुमारी राना र शान्ति परियारले बोलेका हुन् । उनीहरुले जिल्लाको राजनीतिक अवस्था, गठबन्धन गर्दा नगर्दा आउने परिणामबारे रिपोर्टिङ गरे ।

एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवा निकट नेताहरु गठबन्धनको पक्षमा खुलेका छन् । उनीहरुबीच गठबन्धनको पक्षधरता देखाउन होडबाजी नै चलेको थियो ।

डा. शेखर समूहका नेताहरुले भने गठबन्धनको औचित्यमाथि प्रश्न उठाएका छन् । उनीहरुको भनाइको सार छ, ‘कांग्रेसले एक्लै लड्नुपर्छ । गठबन्धन कांग्रेसको दीर्घकालीन हितमा छैन, यसले पार्टीलाई कमजोर बनाउँछ । गठबन्धन गर्ने भए तल्लो कमिटीबाहेक अरुले निर्णय गर्न पाउँदैन ।’

उनीहरुमध्येका एक चितवनका केन्द्रीय सदस्य दिनेश कोइराला भन्छन्, ‘नेकपा फुटेको छ, एमाले फुटेको छ । यतिबेला पनि सिंगल लडेनौं भने कहिले लड्ने ?’ (स्थानीय चुनाव) २०७४ मा कांग्रेसबाट जितेर (प्रदेश र प्रतिनिधिसभामा) एमालेलाई भोट हाल्नु गल्ती थियो भन्ने स्वीकार गरे मात्र चितवनमा गठबन्धन गर्ने÷नगर्नेबारे छलफल गर्न सकिने उनले बताए । अन्यथा अघिल्लो चुनावमा झैं गठबन्धनको नतिजा राम्रो नआए माओवादी केन्द्र फेरि अर्कोतिर जानसक्ने शेखर समूहका नेताहरुको विश्लेषण छ ।

देउवा दृढ, तर छैन सजिलो

‘सत्तारुढ दलहरुसँग चुनावी गठबन्धन गर्नुपर्छ’ भन्नेमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति दृढ देखिएका छन् । उनले सार्वजनिक रुपमै स्थानीय तह मात्र होइन, प्रदेश र प्रतिनिधिसभामा चुनावमा पनि तालमेल गर्ने बताएका छन् ।

यो केन्द्रीय समिति बैठकलाई उनले तालेमलको पक्षमा माहौल बनाउन प्रयोग गर्न खोजेका छन् । नेताहरुका अनुसार कांग्रेसमा शीर्ष नेताहरुबीच छलफल गरेर साझदारी गर्ने र त्यसअनुसार बैठक चलाउने वा लामो छलफल गरेर निर्णयमा पुग्ने दुई खाले अभ्यास छ । यो पटक देउवाले दोस्रो विकल्प रोजेका छन् । र, उनी पक्षका नेताहरुले गठबन्धनको पक्षमा खुलेर बोलेका छन् । एक केन्द्रीय सदस्यका अनुसार जिल्लाका रिर्पोटिङ गर्ने क्रममा समेत नेताहरुले तलबाट आएको धारणासँगै आफ्नो मत पनि सुनाउने गरेका छन् र, देउवा पक्षका सबैले आफू गठबन्धनको पक्षमा रहेको बताएका छन् ।

तर बहुसंख्यक केन्द्रीय सदस्य केन्द्रले होइन, स्थानीय कमिटीलाई नै निर्णय गर्नदिनुपर्ने पक्षमा छन् । ‘सभापतिलाई त्यसरी छोडेर हुँदैन, माथिबाट एउटा कमिटी बनाएर फर्मुला बनाउनुपर्छ भन्ने ठाउँमा हुनुहुन्छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘केन्द्रीय समितिका बहुसंख्यक साथीहरु गठबन्धन त गर्ने, तर स्थानीय आवश्यकताअनुसार तल्लो कमिटीलाई निर्णय गर्न दिने भन्ने पक्षमा हुनुहुन्छ ।’ केन्द्रबाट एकमुष्ट निर्णय गरेर कार्यान्वयन गराउन पनि सहज नभएकाले सभापति देउवा दबावमा रहेको उनी निकट एक नेताले बताए ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महत भने सभापति देउवाले गठबन्धन लाद्न खोजेको भन्ने भाश्य बनाउन खोज्नु गलत भएको बताउँछन् । ‘सभापतिले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाइ झुटो कुरा हो,’ उनले भने, ‘आवश्यकताको सिद्धान्तअनुसार कता गठबन्धन गरेर जान हुने, कता गठबन्धन नगरे पनि हुने भनेर फरक–फरक ठाउँहरुबाट रिपोर्टहरु आएका छन् । त्यसअनुसार नै निर्णय हुन्छ ।’

 

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?