+
+

‘चितवनमा कांग्रेसले माओवादी बोक्दैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते १९:५५

१२ चैत, चितवन । फागुन तेस्रो साता १४औं जिल्ला अधिवेशनबाट नेपाली कांग्रेसको चितवन जिल्ला सभापति बने राजेश्वर खनाल । स्थानीय तह निर्वाचन अभियानमा जुटेका उनी ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत विभिन्न पालिका र वडा–वडाका कार्यक्रममा सक्रिय छन् ।

२०७४ मा चितवनका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा मात्र प्रमुख जित्न सकेको कांग्रेसलाई यसपटक गुमेको साख फर्काउने चुनौती छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) कि रेनु दाहाललाई कांग्रेसले समर्थन गरेर जिताएको थियो । त्यसबेला रेनुलाई जिताउन मतपत्र च्यातेको घटनामा समेत बद्‍नामी कमाएको कांग्रेस यसपटक एक्लै निर्वाचन लड्ने मनस्थितिमा छ ।

तर केन्द्रमा चार दलको गठबन्धन भएकाले भरतपुर फेरि माओवादीलाई छाड्नुपर्ने हो कि भन्ने चासो र चिन्ता चितवनका नेता कार्यकर्तालाई छ । ३८ बर्षदेखि राजनीतिमा क्रियाशील जिल्ला सभापति खनाल यसपटक कुनै पनि हालतमा माओवादीलाई नबोक्ने बताउँछन् ।

प्रस्तुत छ, खनालसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय तहको निर्वाचन आउँनै लाग्दा कसरी अभियान चलाउनुभएको छ ?

फागुन २७ गते पदभार ग्रहण गरेसँगै स्थानीय तह निर्वाचन अभियानमा लागेका छौं । पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि अब्दुल सतार पनि १५ दिनयता हामीसँगै हुनुहुन्छ । क्षेत्र, पालिका हुँदै वडासम्म अभिमुखीकरण जारी छ ।

भोलि १२ गतेदेखि जिल्लाका ९८ वटा वडामा एकैपटक चुनावी घरदैलो कार्यक्रम सुरु गछौं । २०–२२ गतेबाट वडा र पालिकाको उम्मेदवारी चयन प्रकृया सुरु हुन्छ । ४–५ दिनमा उम्मेदवार टुंगो लगाउनेगरी काम गरिरहेका छौं ।

अघिल्लो स्थानीय निर्वाचनमा इच्छाकामना गाउँपालिका बाहेक अन्यत्र प्रमुख जित्न सक्नु एन । यसपटक के होला ?

२०७४ साल र अहिलेको माहौल फरक छ । फेरि, चितवनमा कांग्रेस कहिल्यै कमजोर छैन । झापा पछि सबभन्दा बढी २८ हजार क्रियाशील सदस्य यहाँ छन् । तीमध्ये ५५ प्रतिशत भरतपुर महानगरपालिकामा छन् ।

कांग्रेसले पाँच बर्ष यहाँका मूल पालिकाहरुको नेतृत्व नगर्दा के–के भए, कस्ता समस्या आए भन्ने कुरा लिएर हामी जनताको बीचमा जादैछौं । चितवनका जनताले पनि कांग्रेसको विकल्प खोज्न हुँदैन भन्ने मानसिकता बनाएको हामीले पाएका छौं ।

गठबन्धनबारे चितवन कांग्रेसको धारण के छ ?

मुल कुरा, नेपाली कांग्रेसको सोच, स्वभाव गठबन्धनमुखी छैन । विगतमा गरेको गठबन्धन पनि संस्थागत जस्तो देखिएन, ब्यक्तिगत जस्तो भयो । त्यसले, केही फाइदा भएन । कार्यकर्ता, शुभेच्छुक, अग्रज सबैसंगको छलफलमा कांग्रेस अब एक्लै निर्वाचनमा जानुपर्छ भन्ने आवाज छ ।

म आफूले जिल्ला सभापतिको लागि मत माग्दा पनि चितवन कांग्रेसलाई एक्लै चुनाव लड्ने बनाउँछु भनेको हुँ । त्यहीअनुसार मैले मत पाएँ । त्यहीअनुसार आमकार्यकर्ताको भावनाको प्रतिनिधित्व गरेको छु । हामी बिना गठबन्धन निर्वाचनमा जाने तयारी र गतिविधी गरिरहेका छौं ।

पार्टी केन्द्रले गठबन्धन गर्ने र प्रचण्डको जिल्ला भएकोले भरतपुर महानगर माओवादीलाई दिने भन्यो भने के गर्नुहुन्छ ?

जिल्लामा पार्टीको संस्थागत निर्णय गरेर माथि पठाउँछौं । कांग्रेसबाटै मेयरको उम्मेदवार बनाउन भन्छौं । भरतपुरमा हामी माओवादी बोक्न सक्दैनौं, बोक्दैनौं । चितवनमा गठबन्धन चाहिदैन, हामी एकल रुपमा जित्छौं । यसमा हामी पार्टी सभापतिलाई ‘कन्भिन्स’ गछौं ।

संघमा सरकार बनाउने विषयमा गठबन्धन होला, तर स्थानीय तहमा स्थानीय आवश्यकता अनुसार हुनुपर्छ, हुन्छ । चितवनमा एक्लै चुनाव लड्नु काँग्रेसको आवश्यकता हो ।

प्रचण्डले त चितवन कांग्रेसले भनेर हुन्न, केन्द्रबाटै गठबन्धन हुन्छ भन्नुभयो नि ?

गत निर्वाचनमा भरतपुरमा हामीले माओवादीलाई बोक्दै गर्दा प्रचण्डले यो गठबन्धन १० बर्षसम्म जान्छ भन्नुभयो, तर तीन महिना पनि टिकेन, किन ? गठबन्धनप्रति हाम्रो खास केही टिप्पणी छैन, सबै नेताप्रति सम्मान नै छ । यति मात्र भन्छु–गठबन्धन केन्द्रमा गर्नुहुन्छ, मत केन्द्रले हाल्छ, केन्द्रले नै जिताउँछ ।

चितवनमा त कांग्रेस मतदातालाई फेरी माओवादीलाई मत देउ भन्ने परिस्थति नै छैन । लादन खोजिएको निर्णय चितवन कांग्रेसले मान्दैन । शिर झुकाउँदै मत मागेर चुनाव जितिन्न, जिताउन पनि सकिन्न ।

हाम्रो सभापतिसँग हाम्रो माग, गुनासो यही हुन्छ । उहाँले हाम्रो कुरा सुन्नुपर्छ, सुन्नुहुन्छ । अरुको सुनेर हुँदैन पनि ।

गठबन्धनप्रति तपाईंहरुको किन यति धेरै अरुची ?

हामी चितवनमा एक्लै निर्वाचन लड्छौ, जित्छौं, अरुलाई बोकेर हिड्दैनौ भन्न किन नपाउने ? जर्वजस्ती गर्न त भएन नी ।

गठबन्धन गर्दा कांग्रेसलाई हानी हुन्छ । त्यो नहोस् भन्नेमा हामी छौं । कुल क्रियाशील सदस्यको ५५ प्रतिशत भएको महानगरमा अर्को सानो दललाई मेयर पद किन छाड्नुपर्ने ?

२०७० सालको संविधानसभा चुनावपछि चितवनका कांग्रेस मतदाताले आफ्नो चुनाव चिन्हमा मत दिन पाएका छैनन् । कहिले हलो, कहिले हसिँया हथौडामा हालेका छन् । यसपटक पनि हाल्न नपाए १३ बर्षसम्म पाउँदैनन् भन्ने चिन्ता छ ।

एउटा राजनीतिक पार्टीको जीवनमा यतिका बर्ष भनेको धेरै लामो समय हो । पार्टीको सांगठनिक जीवनमा यसले ठुलो क्षति गर्छ । पार्टीभित्र यही समिक्षा भएको छ । अर्को पार्टीको मेयर बनाउँदा हुने असरहरु हामीले भोगेका छौं । अब थप नोक्सान हुन दिँदैनौं ।

ल मानौं, गठबन्धन गर्ने । त्यो अवस्थामा कांग्रेसले प्रमुख लिएर गर्ने कि सहायक वा सहयोगी बन्ने ? सहायक वा सहयोगी भएर गठबन्धन हुँदैन । स्थानीय रुपमा गठबन्धन गर्दा जिल्लाको सबभन्दा ठूलो पालिकाको प्रमुख कांग्रेसले पाउन पर्‍यो नि, हैन र !

आज हाम्रा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभा’छ । उहाँ किन हुनुभा’छ भन्दा काग्रेस ठूलो पार्टी भनेर प्रचण्डले छाडेकाले हैन र ? हामी माओवादीको सहायक वा सहयोगी पार्टी हैन नी !

तपाईंले गठबन्धन गर्नै हुदैन भनेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि हो ?

स्थानीय तह निर्वाचनको लागि मात्र हो । संघ र प्रदेशबारे पछि परिस्थिति हेरेर सोही अनुसार जान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?