
युक्रेनमाथि रुसले गरिरहेको आक्रमणका बीच सोसल मिडिया प्लाटर्फम फेसबुकलगायतको मातृ कम्पनी मेटाले रुसमाथि कडा नीति अख्तियार गरेसँगै रुसले फेसबुक तथा इन्स्टाग्रामसमेतलाई रुसमा प्रतिबन्ध लगायो । दुई हप्ता अगाडि देखि रुसमा इन्स्टाग्राम प्रतिबन्धित छ ।
८ करोड प्रयोगकर्ता रहेको फोटो शेयरिङ एप इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएसँगै रुसले नयाँ विकल्प खोजेको छ । रुसमा इन्स्टाग्रामको विकल्पमा उस्तै सोसल मिडिया एप रोजग्राम तयार हुँदैछ ।
रुसी फोटो शेयरिङ एप रोजग्रामको नाम मात्र इन्स्टाग्रामसँग मिल्ने होइन कि यसको डिजाइन र लेआउट पनि इन्स्टाग्रामको जस्तै रहेको बताइएको छ ।
रुसी एप डेभलपर्सका अनुसार रोजग्राम एप सोमबार अर्थात् मार्च २८ देखि डाउनलोड गर्न सकिनेछ । रोजग्राममा इन्स्टाग्राममा नभएका केही नयाँ फिचर पनि हुनेछन् जसमा क्राउड फन्डिङ तथा कतिपय सामाग्रीहरू हेर्न शुल्क तिर्नुपर्ने लगायतका छन् ।
रोजग्रामको जनसम्पर्क विभागका निर्देक अलेक्जेन्डर सोबोभ भन्छन्-मेरा साझेदार किरिल फिलिनोभ तथा हाम्रो डेपलपर्स समूहले सबै तयारी पूरा गरेका छौं । इन्स्टाग्राम सबैले मन पराएको हुनाले यसको रुसी संस्करण तयार पार्ने निर्णय गरेका हौं ।
डिजाइन र काममा पनि यो इन्स्टाग्रामकै कपी रहेको उनी बताउँछन् ।
इन्स्टाग्रामको नक्कल गरेर उस्तै रुसी एप तयार गरिएको विषयमा इन्स्टग्राम र यसको मातृ कम्पनी मेटाले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
रुसको सरकारी सञ्चार नियामक निकाय रोसकोमनेजरले गत मार्च १४ मा रुसमा इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो ।
मेटाले फेसबुक तथा इन्स्टाग्राम प्लाटर्फमममा ‘रुसी आक्रमणकारीलाई मृत्यु देऊ’ भन्ने जस्ता पोस्टहरू राख्न छुट दिएसँगै रुसले फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्धित गरेको हो ।
मेटाका अनुसार यस्तो छुट केवल युक्रेनी प्रयोगकर्ताका लागि मात्र लागू गरिएको हो ।
एजेन्सी
प्रतिक्रिया 4