
३ चैत, काठमाडौं । हेटौंडा उपमहानगरपालिका–६ की गायत्री राई टेलर सञ्चालन गरेर मासिक ३०/४० हजार रुपैयाँ आम्दानी गर्छिन् । टेलरबाट राम्रै आम्दानी गर्न थालेपछि समाजले उनलाई हेर्ने दृष्टिकोण अहिले बदलिएको छ ।
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिले टेलर मेसिन किन्न गायत्रीलाई वार्षिक ६ प्रतिशत व्याजदरमा ४० हजार रुपैयाँ ऋण उपलब्ध गरायो । सो ऋण रकमले उनले टेलर व्यवसाय सञ्चालन सुरु गरिन् । उनले वडा कार्यालयबाट सिलाइ कटाइको तालिम त लिएकी थिइन् । तर उनीसँग पैसा थिएन । सीप भएरपनि बेरोजगार भएर बस्नुपर्दा प्रायः अरुको खिसिट्युरी सुन्नुपर्थ्यो । अहिले उनी चौघडा बजारमा टेलर सञ्चालन गरेर राम्रै आम्दानी गरिरहेकी छन् । आफ्नै व्यवसाय भएपछि परिवारका सदस्य मात्रै होइन, समाजका मान्छेको दृष्टिकोण पनि बदलिएको अनुभव उनले गरेकी छिन् । महिलाहरू आर्थिक रुपमा बलियो नभएसम्म खिसिट्युरीको पात्र हुन्छन् भन्ने बुझेकी उनले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्दा सम्मानित भइन्छ भन्ने अनुभव पनि गर्दैछिन् ।
राई मात्रै होइन, चौघडाकी सरिता खड्का पनि पनि बाख्रापालन गरेर मनग्गे आम्दानी गरिरहेकी छन् । ‘बालबच्चा पढाउनदेखि घर खर्च गर्नसम्म बाख्रापालनकै आम्दानीले धानिरहेको छ’, सरिता भन्छिन् । समूहले बाख्रापालनको बिउ पूँजी प्रदान गरेपछि साना पाठाहरू ल्याएर बाख्रा पाल्न सुरु गरेकी थिइन्, सरिताले । उनले ६ महिनामै समूहको ऋण तिरिसकेकी छिन् । अहिले उनले बोयर, जमुनापारी जातका बाख्रा पालेकी छिन् । बाख्रापालनसँगै टोल विकास लगायतका संस्थाहरूमा पनि उनी सक्रिय छिन् ।
ब्युटिसियन तालिम लिएर पनि व्यावसाय सुरु गर्ने आर्थिक आधार नपाएकी सविता खनालले पनि समूहबाट ऋण लिएर ब्युटिपार्लर चलाउँदै छिन् । उनी अहिले मासिक ३०–४० हजार रुपैयाँ आम्दानी गर्छिन् । पार्लर चलाउन मात्रै होइन, महिलाहरू आर्थिक रुपमा बलियो हुनुपर्छ भन्ने ज्ञान बाँड्न पनि उनी भ्याउँछिन् ।
‘सामुदायिक वन समितिमा सालक (वन माछा) संरक्षणमा लागेका महिलाहरूलाई पालैपालो ऋण दिने भनिएको थियो, मैले पालो आएपछि ५० हजार रुपैया लिएँ, त्यसले आँट दियो”, सविता भन्छिन्, ‘त्यसपछि मैले पछाडि फर्केर हेर्नुपरेको छैन । कोरोनाको समयमा अलिकति समस्या भएको थियो, विस्तारै रिकभर हुँदैछ ।’
सविताले भने जस्तै यो सबै सालक संरक्षणको समर्पणमा लाग्दाको कमाल हो । उनीहरू मात्रै होइन, सालक संरक्षणमा सहभागी तीन सय महिलाहरूले घुम्ती ऋण पाइसकेका छन् । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिकी उपाध्यक्ष कल्पना घिमिरे पराजुली समूहमा आबद्ध ४५० जना महिलामध्ये अधिकांश आर्थिक रुपमा सबल हुँदै गएको बताउँछिन् ।
कल्पनाका अनुसार ती महिलाहरूले सिलाइ कटाइ, बाख्रापालन, व्यूटीपार्लर, चटपटेपसल, किराना पसलजस्ता स्वरोजगारमूलक व्यवसाय सञ्चालन गरेका छन् । घिमिरे आफैंले पनि घुम्ती ऋणबाट ४ वटा टनेल खेती गरिहेकी छन् ।
सालक जोगाउने महिला सक्रियता
सालक जोगाउन भूमिका खेलेको भन्दै जुलोकिल सोसाइटी अफ लण्डन (जेडएसएल) ले सहयोग गरेपछि महिलाहरूलाई ऋण सम्भव भएको हो । अहिले चुच्चेखोला सामुदायिक वन र रानी सामुदायिक वनमा आबद्ध महिलाहरू विभिन्न गोष्ठी समारोह जस्ता सार्वजनिक मञ्चमा सहभागी भएर ढुक्कसँग आफना कुरा राख्न सक्ने भएका छन् । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिमा पदाधिकारीसहित १८ जना छन् । जसमध्ये उपाध्यक्ष, सचिव, सह–सचिव सहित १० जना महिला मात्रै छन् ।
खेतबारीमा भेटिने धमिराका घार सालक भएका जंगलमा लगेर राखिदिन किसानहरूलाई आग्रह गर्दै महिलाहरु घर–घरै पुग्छन् । उनीहरूले सालकलाई चाहिने पानी जम्मा गर्न भुँइमा खोपिल्टो बनाइदिएका छन् । सालकको तस्करी गर्दा हुने कानुनी कारबाहीको विषयमा उनीहरू टोल–टोलमा अन्तरक्रिया पनि गर्छन् ।
दैनिक घाँस दाउरा र जंगल जानुपर्ने बाध्यता त छँदैछ । जंगलमा सालक जोगाउँदा आर्थिक विकासमा सहयोग पुग्ने भएकोले महिलाहरू उत्साहित छन् । सामुदायिक वनमा आउने अनुदान सहयोगबाट आर्थिक विकासमा सहयोग मिल्ने भएपछि महिलाहरू सालक जोगाउन अग्रसर भएका हुन् । महिलाहरूले सालक रहेको वनमा आगो नलागोस् भनेर ‘अग्निरेखा’ पनि निर्माण गरेका छन् ।
संरक्षणसँगै बढ्दो पर्यटन
दुर्लभ वन्यजन्तुको सूचीमा रहेको सालक जोगाउँदा सालकमात्रै जोगिएको छैन, सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढ्दै गएको छ । सामुदायिक वनले जोगाएको सालक हेर्न आउने अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले दिएको रकमबाट सामुदायिक वनले महिलाहरूको आर्थिक विकासका लागि सहयोग गर्दै आएको छ । त्यही सहयोगबाट सालक संरक्षित क्षेत्रमा यहाँका महिलाहरूले चटपटे पसल, खाजा पसल, होटल, खुवा पसल सञ्चालन गरिरहेका छन् ।
सालक संरक्षणसम्बन्धी काम गरिरहेका स्थानीय अगुवा भीमसेन पौडेलकाअनुसार कोरोना भाइरस आउनुअघि वार्षिक ५० देखि ७० जना पर्यटकको समूह अध्ययन अवलोकन गर्न आउने गरेका थिए । तिनमा १० देखि १५ टोली विदेशी विद्यार्थी, वन्यजन्तु संरक्षण क्षेत्रमा काम गरिरहेको संघ सस्थाहरू रहने गरेका थिए ।
वनविज्ञान विषयको स्नातकतहका विद्यार्थीको पाठयक्रममा समावेश गरिएको सालककाबारेमा अध्ययन गर्न बर्षेनी सयौँ विद्यार्थी आउछन् र संरक्षणका योजना बनाउने गर्छन् । चुच्चेखोला सामुदायिक वनमा ‘सालकपार्क’ निर्माण गरेर आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र समेत बनेपछि यहाँको आर्थिक गतिविधि थप बढेको छ । समुदायमा महिलाको सक्रियतामा वन संरक्षण भइरहेको उदाहरण त देशका अरु ठाउँमा पनि हेर्न सकिन्छ, तर हेटौंडाका वन उपभोक्ता समूहका महिलाहरूले भने वनको मात्रै नभएर वनको सुन्दरता बढाउने वन्यजन्तुको पनि संरक्षण गरिरहेका छन् ।
नचिनेको अवस्थादेखि जोगाउने व्यवस्थासम्म
सालक जोगाउनेमा भने खास गरी चुच्चेखोला, रानी, न्युरेनीर बनस्खण्डी सामुदायिक वन उपभोक्ता समुहरहेका छन् । करिब ८०० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वन हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ५, ६, १७ र १८ सम्म रहेकाछन् ।
अन्य स्थानमा भेटिएका सालकका साथै तस्करीमा लाँदै गरेका सालकहरूलाई समेत मकवानपुरको वन कार्यालयले रानी र चुच्चेखोला सामुदायिक वनमा ल्याएर छोड्न थालेपछि यहाँ सालकको संख्यामा वृद्धि भएको देखिन्छ ।
त्यसो त, सालक संरक्षणको काम २०४७ देखि नै अभियानकै रुपमा सञ्चालन हुँदै आएको थियो । २०४७ सालको वर्षाको भेल आउँदा अहिलेको चुच्चेखोला सामुदायिक वनको खोल्सामा माछा जस्तै कत्लाभएको नौलो जनावर देखेपछि स्थानीयबासिन्दाले जिल्ला वन कार्यालय मकवानपुरलाई खबर गरेका थिए । भीमसेन पौडेलकाअनुसार माछा जस्तै तर हातमा लिँदा डल्लो पर्ने अनौठो जीवभएकोले वन कार्यालयमा खबर गरिएको थियो । त्यति बेलासम्म सालक के हो भन्ने जानकारी स्थानीय समुदायलाई पनि थिएन । सालकलाई वन समूहको हातामा छाडेसँगै ‘सालक संरक्षण अभियान’ सुरु भएको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहकी उपाध्यक्ष कल्पना घिमिरे पराजुलीले बताउँछिन् ।
के हो सालक ?
सालकमाटो रंगको र बाक्लो कडा खपटा भएको जीव हो । शरीरभरि खप्टिएर बसेका खपटा हुने यो जनावर सालको रुख हुने क्षेत्रमा धेरै बस्ने गरेको पाइन्छ । मान्छेको नङ् र गैंडाको खागजस्तै यो खपटा पनि केराटिनबाट बनेको हुन्छ । स्थानीय भीमसेन पौडेलकाअनुसार, माछाको जस्तै कत्ला हुने भएकोले यसलाई स्थानीय भाषामा ‘वन माछा’ तथा ‘साल माछा’ भनेर चिनिने गर्छ ।
डाइनोसर जस्तो देखिने सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरका सम्पूर्ण भाग खपटाले ढाकिएको हुन्छ । पुच्छरको सहायताले रुखको हाँगामा झुन्डिन सक्ने सालकको दाँत हुँदैन भने जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ ।
किसानले खेतबारीमा लगाएको उत्पादनलाई नोक्सान पार्ने जीवलाई खाइदिने भएकोले सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार कमिला र धमिरा खाइदिन सक्छ । सालकको आहारा भनेकै धमिरा किरा हुन् । सालकले एकवर्षमा कम्तीमा ७० करोड जति किरा खाने गर्छ ।
जनचेतनाको कमी, साँघुरिंदै गएको बासस्थान, डढेलो, वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तन, विषादी खाएर मरेका किरालाई आफनो खाना बनाउनु र चोरी शिकारी बढ्नुले गर्दा सालक थप जोखिममा पर्दै गएको छ ।
आहाराका लागि रातमा निस्किने सालक आक्रमण पर्न लागेको महसुस भएमा भकुन्डो आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिन्छ । शरीरको पाँच भागको एक भाग जति खपटाको तौल हुने यो जनावर आफूलाई कुनै खतरा महसुस हुने वित्तिकै त्यही खपटाभित्र डल्लो परेर लुक्ने गर्छ ।
नेपालका विभिन्न ४४ जिल्लामा विशेष गरी ओसिलो र जुका नभएको ठाउँमा सालक बस्ने गरेको पाइन्छ । नेपालमा कालो खपटा भएको चाइनिज प्याङ्गोलिन मनिसपेन्टा दाक्टाइला र फुस्रो खपटा भएको इन्डियन प्याङ्गोलिन क्रास्सिकौडाटा पाइन्छ । समुद्र सतहबाट करिब २००० मिटरसम्मको उचाइमा सालक पाइने गरेको छ ।
प्याङ्गोलिन संरक्षण कार्ययोजना (२०१८–२०२२) मा उल्लेख भएअनुसार चाइनिज प्याङगोलिन भक्तपुर, बागलुङ, चितवन, धादिङ, मकवानपुर, धनकुटा लगायत २३ जिल्लामा पाइन्छ भने इण्डियन प्याङगोलिन कञ्चनपुर, बारा, पर्सा, सुर्खेत, मकवानपुरलगायत सात जिल्लामा पाइन्छ । सल्यान, डढेलधुरा, म्याग्दी, कास्की, सिरहा, नुवाकोट, मोरङ लगायत १४ जिल्लामा दुवै वा एक प्रजातिको सालक पाइन्छ । बिश्वमै गम्भीर जोखिममा पर्दै गएको सालक संरक्षणका लागि फेबु्रअरी महिनाको तेस्रो शनिबारलाई सालक दिवसको रुपमा मनाइने गरिन्छ ।
विश्वमा ८ थरीका सालक छन् । सालक लजालु जातको जनावर भएकोले पनि यसको फाइदा तस्करहरूले उठाउने गरेको राष्ट्रिय प्रकृति सरंक्षण कोषका संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडा बताउँछन् । सालकसम्बन्धी विशेषज्ञ खतिवडा यसमाथिको आक्रमणको अर्को कारण गरिबी पनि भएको बताउँछन् । ‘पैसा कमाउने उद्देश्यका साथ लाग्ने गिरोहका कारण पनि सालक असुरक्षित छन्’,खतिवडाका अनुसार गाउँका धेरैजसो मानिसहरूलाई सालक मार्दा के सजाय हुन्छ भन्ने कुरा नै थाहा छैन ।
संरक्षण किन ?
चीन र भियतनाममा औषधि बनाउन सालकको माग उच्च रहेका कारण शिकारीको नजरमा सालक पर्ने गरेका छन् । नेपालमा पनि कतिपय ठाउँमा यसको मासु खाँदा रोग निको हुन्छ भन्ने विश्वास पनि रहेको छ । यद्यपि यसको कुनै वैज्ञानिक प्रमाण भने छैन । सालकको शरीरमा हुने खपटा बुलेट प्रुफज्याकेट तथा उच्चकोटीको टाँक बनाउन र महंगा सौन्दर्यका सामग्री बनाउन प्रयोग हुने भएकोले यसलाई बहुमूल्य मानिन्छ ।
अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि १९७३ अर्थात् साइटिस महासन्धिले सालकलाई अति संकटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । खतरामा परेकोले नेपालमा यसलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०७३ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ । ऐनले सालक मार्ने, खरिद बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई ५ लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
सालकमाथि मानवीय हमला डरलाग्दो छ । विश्वमा प्रत्येक पाँच मिनेटमा एउटा सालक मारिने गरेको छ । विश्व संरक्षण संघ (आईयूसीएन) का अनुसार पछिल्लो १० वर्षमा मात्रै विश्वमा १० लाख सालक मारिएका छन् । नेपालमा २०६९ देखि २०७५ साउन मसान्तसम्म एक सय केजी सालकको खपटा प्रहरीले बरामद गरेको तथ्यांक छ ।
एकातिर तस्करी हुने समस्या छँदैछ, अर्कोतिर प्राकृतिक रुपमै पनि सालकको संख्या घट्दै गएको छ । जन्मिएका बच्चाहरूमध्ये पनि ३० प्रतिशत मात्रै बाँच्ने भएकोले पनि प्राकृतिक रुपमै सालकको संख्या घटिरहेको छ । सालकले एक पटकमा एउटा मात्रै बच्चा जन्माउँछ र सालकको बच्चाको मृत्युदर पनि ७० प्रतिशत छ । सन्तोषको कुरा, पछिल्लो समय भने सालकको प्रजनन् बढेकोले सालकको संख्यामा केही वृद्धि भइरहेको यस क्षेत्रका विज्ञहरू बताउँछन् ।
प्रतिक्रिया 4