+
+

यौन-हिंसा पीडितलाई प्रधानमन्त्रीको त्यो साथ

पीडित जब प्रतिकार गर्छिन् तब उनी पीडित नभएर योद्धा बन्छिन् । म त भन्छु- अझ झ्यालढोका फोडेर समाजका यस्ता बिम्व तथा घटना बाहिर पोखिनुपर्छ । म बहादुर र हिम्मतिलो योद्धा भइसकेकी थिएँ ।

गीता पोखरेल गीता पोखरेल
२०७८ चैत १४ गते ११:४३

म राजनीति गर्दिनँ । मन त थियो तर यावत् कारणले मन मारेकी थिएँ । अब त परिस्थितिले हुत्याएर धेरै नै टाढा पुर्‍याइदियो । नियतिको खेलले राजनीतिको नेपाली बजार मेरा लागि ‘दूरका पहाड’ भएको छ । तर कम्तीमा राजनीतिको दर्शक हुने ल्याकत अवश्य राख्छु ।

ढिलोगर थिाहा पाएँ, राजनीति निकै नै सजिलो उद्यम रहेछ । राजनीति नगर्दा पनि रमाइलै छ, मन परेको व्यक्तिको प्रशंसा गर्न पाइने । मन नपरेकाको खुलेर विरोध गर्न पाइने । सत्यलाई हो जस्तो लाग्दा साथदिन पाइने । आहा क्या मज्जा ! क्या मज्जा साधारण नागरिक हुनुमा ।

मलाई कहिले खरो बोलीका कारण कांग्रेस नेता गगन थापा मन पर्छ त कहिले जिम्मेवार व्यवहारको कारण कम्युनिस्ट नेता केपी शर्मा ओली । यसरी कहिले एउटा पार्टीको त कहिले अर्को पार्टीको नेता मन पराउन त सामान्य जनता हुनुपर्ने रहेछ ।

म प्रधानमन्त्री कार्यालय अन्तर्गतको एउटा अड्डामा काम गर्थें । कार्यालयमा भएको यौन हिंसाको उजुरी उक्त कार्यालय र महिला आयोगमा दिएकी थिएँ, मागेर न्याय पाउने आशामा । अझ न्याय पाउन त सिकार खेले झंै समयमा आक्रामक हुनुपर्ने रहेछ हदम्यादको कानुनले ।

पत्रकार पनि लगभग अनुसन्धानकर्ता हुनुपर्ने रहेछ । आयोगमा एक जना पत्रकार कार्यालयमा हुने यौन हिंसाको बारेमा खोजी गर्दै हुनुहुँदोरहेछ । महिला आयोगको कसैले मेरो बारेमा भनिदिएछन् । मलाई फोन गर्नुभयो । मैले स्पष्ट रूपमा कुरा राखें- ‘मेरो मिडियामा जानकारी गराउने मनसाय छैन, मात्र निसाफ चाहिएको हो ।’

उहाँले भन्नुभयो- ‘तपाईंको मञ्जुरी विना कहींकतै आउँदैन ।’ नेपाली मिडियादेखि मलाई कताकता डर थियो । मलाई मेरो पीडालाई राजनीतीकरण गर्नु थिएन । मात्र निसाफ पाउनु थियो । कार्यालयमा एक दुई जना व्यक्तिहरू बाहेक अरू सबै बोल्न छोडिसकेका थिए । दिनदिनै स्पष्टीकरण तथा सचेतनाका पत्रहरू थमाइन्थ्यो । सहकर्मीहरू ठिक्क पर्‍यो भन्ने भावदृष्टिले हेर्थे । म दिनदिनै टुटिसकेकी थिएँ ।

पत्रकारहरूले यस्तो समस्या पर्दा कहाँ जाने, कुन निकायले यो विषय सम्बन्धी मुद्दा हेर्छ भनेर चेतनामूलक कार्यक्रम बनाउनुभएको रहेछ । म कार्यक्रममा गएँ । हदम्यादको कानुन थाहा भयो । उजुरी गर्नुपर्ने निकाय थाहा भयो । मलाई ठूलो राहत मिल्यो ।

प्रधानमन्त्री स्वयं यो कुराको जानकार हुनुहुँदोरहेछ । अचानक एकदिन मलाई मोबाइलमा फोन आयो । उताबाट कसैले भन्यो, ‘हल्लो गीताजी बोल्नुभएको हो ? म प्रधानमन्त्री कार्यालयबाट । प्रधानमन्त्रीज्यूले भेट्न खोज्नुभएको छ । २ः३० मा प्रधानमन्त्री कार्यालय आउनुस् है ।’

ममा मिश्रति भावना आयो । मेरो यथार्थ, पीडा, वेदना बुझाउन सकूँला कि नसकूँला ? अनि मनमा एउटा विश्वास थियो कि साँचो कुरा देखिएरै छाड्छ । मसँग प्रमाण पनि त थियो । पीडित जब प्रतिकार गर्छिन् तब उनी पीडित नभएर योद्धा बन्छिन् । म त भन्छु- अझ झ्यालढोका फोडेर समाजका यस्ता बिम्व तथा घटना बाहिर पोखिनुपर्छ । म बहादुर र हिम्मतिलो योद्धा भइसकेकी थिएँ । मलाई चाप्लुसी गर्नु वा चिप्लो हुनु थिएन । मैले यो समाजमा खस्रो, फुस्रो भए पनि भीमसेन पत्ता शुद्ध एवं पवित्र भएर मन्दिर चढेको देखेकी थिएँ ।

प्रधानमन्त्री कार्यालय गएँ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग कुरा भयो । जहिले पनि जटिल लाग्ने प्रश्न वैवाहिक तथा पारिवारिक स्थिति उहाँले पनि बुझ्न खोज्नुभयो । सबै कुरा निश्चित समयभित्र बुझाउन नसक्ने भएकोले डिभोर्स भनिदिएँ । विवाह नगरी भएको सम्बन्धविच्छेद अप्ठ्यारो केस थियो, अलि बुझाउन नसक्ने । फेरि प्रश्न गर्नुभयो । किन ? मैले कुरा टुंग्याउन चाहँदै भनिदिएँ, ‘कुरा नमिलेर ।’

तर कथा अर्कै थियो । जुन मैले अनलाइनखबरमा मेरो पहिलो लेखका रूपमा प्रस्तुत गरिसकेकी छु । जिन्दगी कथै कथाहरूले अविश्रान्त शृङ्खला रहेछ । मेरो भागमा परेको कथा नै त्यस्तो । पहिलो वेदना सुनाउँदा पछिल्लो ओझेल पर्ने । मैले विवाह सम्बन्धीको प्रश्नहरू जानेरै मोडिदिएँ ।

उहाँले भन्नुभयो, ‘तपाईंलाई जोगाउनु मेरो कर्तव्य हो । म तपाईंको बाबु समान हुँ । खुलेर सबै वृत्तान्त नहिच्किचाई सुनाउनुस् ।’

उमेर पनि मेरो बुबा हाराहारीको भएकोले मलाई बुवासँगै कुरा गरे जस्तो सजिलो भएको थियो । मनको गाँठो फुकाउनु पनि त आधा पीडा घटाउनु रहेछ । त्यसमाथि सहयोग गर्न सक्ने अनि बुझ्ने मान्छेसँग । उहाँले हाकिमको भन्दा पनि बुवाको भूमिका निभाउनुभएको थियो ।

मान्छेको व्यक्तित्व व्यवहारबाट झल्कन्छ । उहाँको व्यवहारले मलाई भरोसा दिएको थियो । असाध्यै सरल र व्यावहारिक लाग्यो उहाँ मलाई ।

अन्त्यमा आफू अदालती चक्करमा पर्न नचाहेको कुरा सुनाएँ । मलाई अदालत धाउनु जस्तो गाह्रो काम केही लाग्दैन । दिनभर समय दियो थोरै उपलब्धि अनि सरकारी काम त्यसै पनि पट्यार लाग्ने ।

जीवनमा कति अगाडि बढौंला भन्ने जाँगर थियो । सानैदेखि सोेच्थें- म निकै पर पुग्छु । तर अदालतमा गएपछि आफ्नो तन-मन सबै लगाउनुपर्ने । कति झगडा गर्नू ।

पीडकलाई चेतावनी दिएर सुरक्षित हुनपाए पुगेको थियो । खासमा म कसैको जागिर खाने पक्षमा थिइनँ । दुश्मनको पनि चुलोमा आगो बलेको राम्रो नि होइन र ? तर आफूले मात्र क्षमा दिएर कहाँ हुने रहेछ र ! गल्ती स्वीकारेर आइन्दा नदोहोर्‍याउने देखिएसम्म पो क्षमा दिनु । गल्ती के गरें थाहा नहुनेलाई कसरी सम्झाउने ? कसरी प्रायश्चित गराउने ?

सबै वृत्तान्त सुनाएपछि त्यो अपराहृन मैले सिंहदरबारका मूल व्यक्तिलाई मेरा हाकिमले महिलालाई घोर अपशब्द बोलेको अडियोको रेकर्ड दिएँ ।

तिनै अपशब्द बोल्ने हाकिमकी श्रीमती, जो राजनीति गर्छिन् अनि आफ्नो श्रीमान्को बचाउको लागि मेरो चरित्रहत्या गर्दै हिंडेकी थिइन् । उनी कुनै जिम्मेवारी लिएर महिला आयोगमा आउने हल्ला थियो बजारमा । उनी त्यसरी आउने लाइनमा पनि थिइन् । मैले त्यो कुराको विरोध पनि प्रधानमन्त्रीसामु गरेकी थिएँ ।

अन्ततः उनले आयोगमा कुनै पद पाइनन् । यसका अरू पनि कारण हुनसक्लान्, तर मलाई एउटा कारण म पनि हुँ जस्तो लाग्छ । घाइते बघिनीको श्वास गर्जनभन्दा चर्काे र डरलाग्दो हुन्छ, बुझे होलान् ।

विश्व बैंकको सहयोगमा सञ्चालित त्यो परियोजनाको जागिरबाट उनका श्रीमान् पनि हट्नु पर्‍यो । कारबाही भोग्नु अगाडि महिलालाई यौनसँग जोडेर अपशब्द बोल्ने ६५ कटेका ती हाकिम साहेबको राजिनामा आयो, टन्टैसाफ । तर हालसम्म पनि माफी समेत मागेका छैनन् । थुतुनु जोगाउन नसक्ने ती हाकिम र उनकी श्रीमतीले ऐंठन हुने गरी त्यो घटना सम्झिरहलान् । जुनीभरि सम्झिरहून् ।

म तावाबाट उम्केको माछा भुङ्ग्रोमा भने जस्तै भएकी थिएँ, त्यहाँबाट पनि उम्किएँ । महिलाको शरीर तिनलाई मनोरञ्जन वा मजाकको स्रोत मात्र लागिरहन्छ । लाग्छ, नेपाली समाजमा पुरुषहरूको हुर्काइबारे संरचनात्मक सुधार गरिनुपर्छ ।

महिलाले हरेक पाइला फुकेर चाल्नुपर्ने कस्तो रौरव हविगतबाट गुज्रिनुपर्दछ । अनि त्यसमाथि, आफूलाई पुरुषसँग समान प्रतिस्पर्धी बनाउनु पनि पर्छ ।

काठमाडौंमा अदालती चक्कर लगाउँदा मैले धेरै मान्छेको असली रूप चिनेकी छु । मैले त्यो टेलिभिजन कार्यक्रममा आफ्नो पीडा सुनाएपछि सामाजिक रूपमा न्याय पाउने एउटा तिखो बोली पाएँ । यो क्रममा एक पत्रकारबाट पाएको साथ म भुल्दिनँ ।

प्रधानमन्त्रीज्यूको त्यो व्यवहारले मलाई सान्त्वना दियो । हुन त उहाँले यी कुराहरू फेसबुकमा समेत नआउन् भन्ने चाहना राख्नुभएको थियो । तर यति कुरा आज लेख्न मन लागेको छ ।

महिलाको यौनाङ्गको नामै काढेर महिला समेत भएको बैठकमा बोल्ने ती मेरा पूर्वहाकिम जस्तै राजनीतिमा भान्सा चहारिरहने उनकी श्रीमती नेपाली राजनीतिको मैदानमा आज वेटिङ लिस्टमा पनि देख्दिनँ । उनीहरू ओझेल पर्दै गएका होलान् ।

मुटुभित्रका घाउहरू पनि भरिन समय लाग्ने रहेछ । बुझें, समय पनि एउटा औषधि रहेछ । तर केही सुखद उपलब्धिले जीवन जिउने ऊर्जा थपिएको छ । कठिन परिस्थिति त आउँछ, जान्छ । हारेको छैन जीवनसँग । शेर घाइते हुनुको मतलब स्याललाई जंगलमा शासन गर्ने अधिकार प्राप्त हुन्छ भन्ने होइन ।

समाजका जिम्मेवार निकायहरू बिन्ती, छोरीलाई हिंसा सहने होइन, प्रतिकार गर्ने पाठ पढाइदिनुस् । तिम्रो मौनता नै तिम्रो लामो यात्राको खतरनाक बाधक हो भनिदिनुस् । अनि भनिदिनू आवश्यक पर्दा तिमीभित्रको झड्का फाल्न जरूरी छ किनकि झड्का विनाको तारमा त भित्री वस्त्र पनि सुकाइदिन्छ नि मान्छे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?