+
+

गगन दाइ, कृपया यति काम गरिदिनुहोस् !

यहाँ उल्लेखित कहानी भुल्न चाहेको तर भुल्न नसकेको मेरो अप्रिय र दुःखी विगत हो । मैले मृत्युलाई एकदमै नजिकैबाट महसुस गरेकी छु । मृत्यु मलाई हरेकचोटि आएर हल्लाउँदै गएको छ । धन्न लपेटेर लैजान सकेन ।

गीता पोखरेल गीता पोखरेल
२०७८ फागुन २२ गते १४:२१

गगन दाइ, आज म मुक्तकण्ठले तपाईंको प्रशंसा गर्दछु । हाम्रो चिनजान २०५७ तिर त्रिचन्द्र कलेजमा भएको थियो । म कलेज प्रवेश गर्दा तपाईं कलेज युनियन अध्यक्ष हुनुहुन्थ्यो । परिवार राजनीति गर्ने भएकोले मलाई पनि राजनीतिमा रुचि थियो, त्यसैले मैले राम्रै राजनीतिक वृत्त बनाएकी थिएँ ।

अर्काे वर्ष युनियनको सदस्य बन्नु थियो नेविसंघबाट । चुनाव नजिकियो । याद छ दाजु ! मलाई ‘गीता तिमी उठ्छौ त !’ भनेर मेरो घरको ल्याण्डलाइनमा फोन गर्नुभएको थियो । म कति खुसी भएकी थिएँ । तर राजनीति हो, परिस्थितिले कोल्टे फेर्‍यो । मलाई फोन गरी सोध्ने व्यक्ति मेरो मार्गदर्शक बन्नुहोला भनेर विश्वास गरें ।

तर भित्रभित्रै अर्कै राजनीति हुँदैरहेछ । अन्ततः महिलाले उम्मेदवारी नदिएको भनेर पुरुष पात्रलाई चुनावमा खडा गरियो ।

कहींकतै सुनें, एउटी महिला युनियनमा भएको भए रमाइलो हुन्थ्यो भनी हिंड्ने जमात पनि रहेछ । तथापि त्यो जमातमा तपाईं त हुनुहुन्नथ्यो । तर, मलाई त्यो सुन्दा निकै नमीठो लाग्यो । सोचें, म यी सब पचाउन सक्दिनँ ।

फेरि तपाईंको व्यवहार मसिनोसँग नियालें । आफूभन्दा जान्नेलाई उसले थाहै नपाई उछिनिहाल्ने चतुर्‍याईं तपाईंसँग छ, यो नराम्रो पनि त होइन । सोचें मैले टिकट नपाउनुमा दाजुले मेरो राजनीतिक भविष्य देख्नुभएको हो । अब सोचें, म कहिल्यै राजनीतिमा होमिन्न । अनि मेरो राजनीतिको आँकुरा पलाउन नपाउँदै यसरी निमोठियो जसमा थोरबहुत तपाईंको पनि हात छ । तर मलाई कुनै गुनासो छैन । म आफ्ना भोगाइबाट नै जीवनमा विज्ञ भएँ ।

चुनाव सकियो । तपाईंको पनि कलेज सकियो । मेरो आईएस्सी दोस्रो वर्ष चल्यो । म तपाईंले पार्टनरसिपमा लगानी गरेको हिमाल इन्स्टिच्युटमा ट्युसन पढ्न थालें । हाम्रो भेट भइरहन्थ्यो । पढाइ सकिएपछि तपाईं एफएममा कार्यक्रम सञ्चालन गर्न थाल्नुभयो । म आफ्नो बाटो लागें । तपाईंले लोभलाग्दो राजनीतिक उँचाइ प्राप्त गरेको आजको दिनको जग त्यही त्रिचन्द्र कालमा हालिएको हो ।

त्यसपछि समयले अर्कै वेग समात्यो । म राजनीतिबाट धेरै पर पुगें । कसैले मलाई प्रेम प्रस्ताव लिएर आयो । त्यो युवाको हातमा मेडिकल डाक्टरको प्रमाणपत्र थियो । पढाइ नसकिंदै म उसको प्रेममा परें । मलाई रिझाउन उसले प्रमाणपत्र देखायो । मैले पत्याएँ । एउटा सफल घरबासको सपनामा उनिएर मैले पनि उसलाई स्वीकारें । नतिजा, २० वर्षको उमेरमा म गर्भवती भएँ । ऊ सक्कली डाक्टर थियो । तर कालान्तरमा ऊ प्रेमको मामिलामा नक्कली भएर निस्कियो ।

हाल कानुन परिमार्जित भइसकेको छ । कानुनको मामलामा म अभागी परें । सहमतिमा भएको यौन सम्बन्ध र त्यो बेलाको उमेरको हद १६ वर्ष मैले नाघिसकेकी थिएँ । विवाहको प्रलोभन देखाएर गरिएको यौन सम्बन्ध बलात्कार मानिंदैनथ्यो सायद ।

मैले वकिललाई मेरा कथा सुनाउँदा यो बलात्कार हो भन्नु भएन । तथापि एउटा अखबारले यो मेरो कथा राजा ज्ञानेन्द्रकी छोरी तत्कालीन अधिराजकुमारी प्रेरणाको बिहेको भोलिपल्टको अंकमा छापेको थियो । विवाहको प्रलोभन देखाइयो भन्ने कुरा मैले पत्रकारलाई भनेकी थिएँ र त्यो समाचारमा यो उल्लेख पनि थियो ।

अनि त जीवनले उल्टो बाटो समात्यो । सम्हाली नसक्नुको जिन्दगी । जीवन र मरणको दोसाँधमा पुगें । दुई मात्र विकल्प थिए मेरासामु । सङ्घर्ष गरेर बाँच्ने र गर्भभित्रको प्राण बचाउने वा आत्महत्या गर्ने ।

मैले प्रेमको गोल्डमेडल पाएकी थिएँ, गर्भवती भएर मकहाँ आत्महत्या गर्न सक्थें र ! बच्चा मेरो जीवनमा सबैभन्दा प्यारो छनोट हो । त्यसैले म जुनसुकै अवस्थामा पनि बच्चा जन्माउने मनस्थितिमा पुगें । मेरो बच्चाको बाबु नेपालबाटै फरार भयो तर म विचलित भइनँ । बीचबीचमा ‘गर्भपतन गर, पैसा दिन्छौं’ भन्दै नेताहरू पठाउँथे, जो हाल पनि मेरो फेसबुकमा साथी हुनुहुन्छ ।

माइतीको सपोर्ट हुने कुरै भएन । म हारगुहार गर्दै महिला आयोग पुगें । डाक्टर दुर्गा पोखरेलले संरक्षक मिलाइदिनुभयो । मैले २०६० सालमा छोरी जन्माएँ ।

समय बित्दै गयो । ममीको मन पग्लियो । म र मेरो बच्चा माइत भित्रियौं । काखको बच्चा छाडेर म काम गर्न थालें, अनि पढ्न पनि । कति संघर्ष गरें, बयान गरिसाध्य छैन ।

आर्थिक र नैतिक समर्थनको अभावका कारण मैले मुद्दा हाल्न सकिनँ ।

मलाई अन्यायको विरुद्ध लड्न ९ वर्ष लागेछ । सायद यतिका समय बित्दा मेरो केसले बलात्कारको हदम्याद नाघेको थियो होला । अलिकति पैसा जम्मा गरें अनि वकिल भेट्न गएँ छिमेकमा । सबै सुनेर वकिल सा’बले मेरो अफिसमा कुरा गरेर मुद्दा फ्रीमा लड्न पहल गर्छु तर, तिमीले पढाइ निरन्तर गर्नुपर्छ भन्नुभयो ।

म यति भावुक भएँ कि मेरो पढाइमा उहाँले निस्वार्थ फोकस गर्नुभएको थियो । तर ती वकिल दाजुको अफिसले मेरो मुद्दा हेर्न मानेन । उहाँले भन्नुभयो, ‘अलि अलि समय र पैसा खर्च हुन्छ, आफन्तले साथ छोड्छन्, दुश्मन उजागर हुन्छन्, मुद्दा बीचमै छोड्ने मनसाय पनि बन्न सक्छ तर, अठोट गरेर लाग्यौ भने न्याय अवश्य मिल्छ, सोच ।’

मैले सुरुमा मुद्दा नहाल्ने विचार गरें । त्यतिबेला म एउटा कार्यालयमा काम गर्थें । बिहान–बेलुका होम ट्युसन पनि पढाउँथें । मैले ट्युसन पढाउने बच्चाको परिवार मेरो बच्चाको बाबुसँग परिचित रहेछन् । मेरो त्योे घटना त्यो परिवारलाई पनि थाहा रहेछ, किनकि पत्रिकाले छापेको थियो । एकदिन कुरा निस्कियो ।

‘गीताजी, त्यो केटी नर्स रहेछ है छोरी पाएको छ रे ! डाक्टरले (मेरो बच्चाको बाउ) पैसा दिएर केस मिलाएछ नि !’ यो कुरा सुन्दा मलाई आकाशले थिचे जस्तो भयो । उभिएको भुईं भासिए जस्तो भयो ।

पीडकले त कति सजिलोसँग उन्मुक्ति पाएछन् । मैले त्यो महिला म आफैं भएको जानकारी गराएँ । उनीहरूको पहिलो वचन थियो, ‘तपाईं जस्तो छोरी कसैको नहोस् ।’ जबकि उनीहरूका दुईवटा छोरीहरू मसँग ट्युसन पढ्थे ।

‘म जस्तो मायाजालमा पर्ने नहोस्, धोका दिएको प्रतिकार गर्ने नहोस् ।’ त्यही होला मेरो बुझाइमा ।

मैले सङ्कल्प गरें कि म यसरी बस्नुहुन्न । हिम्मत जुटाएँ र मुद्दा हालें । मलाई अब केस नाता कायमदेखि सुरु गर्नु थियो । प्रतिवादीले मलाई चिन्दै नचिन्ने, उनको पद र पैसाको लालचमा केस दायर गरेको भन्ने प्रतिउत्तर खाप्यो ।

केस डीएनएसम्म पुग्यो । बाबुछोरीको डीएनए मिल्यो । अन्त्यमा प्रतिवादीले हो भनी स्वीकार ग¥यो । अब अंश र वंशको कुरा सकियो ।

नेपाली भूगोलमा महिलाको लागि न्यायको लडाइँ सजिलो छैन । ईश्वरले वर्तमानलाई शक्ति प्रदान गरून् । पैसा, पद र शक्तिको आडमा महिलामाथि हिंसा गर्ने हुँडार हृदयका पिपासु तह लगाउन कानुनी बाटो मात्र होइन, सचेतनाको बाटो पनि समात्नुपर्दछ ।

अंशको मुद्दा लामो हुने भएकोले मैले अंश बापतको केही रकम लिएँ र वंश पाउने मिलापत्र बन्यो । रकम ठूलै लिएँ कि भन्ने कौतूहल लाग्न सक्ला । मुद्दा चल्नुभन्दा अगाडि नै सबै सम्पत्ति दिदीको नाममा गरिदिएछ मेरी छोरीको बाबुले । भेट्टाएको दाबी गरें । नभेट्टिएको दाबी गर्ने कुरै भएन । मिलापत्रबाट लिएको पैसाले जग्गा समेत किन्न पुगेन, अरु व्यवस्था झन् के हुनु ।

मैले काम गरेर कमाएको जोड्दा पनि जग्गा जोडिएन । मेरो ठूलो सपना थियो– घर बनाएर आमा–छोरी बस्ने ।

मलाई आजसम्म पनि न्याय पाएको महसुस हुँदैन । किन थाहा छ ? मेरी छोरीको जैविक बाबुलाई आज पनि कोही गएर हाम्रो बारेमा सोध्नुभयो भने उसले हामीलाई चिन्दैन । उसलाई पटक्कै पश्चात्ताप छैन । उसलाई फेरि झस्काउनुपर्छ । डीएनए रिपोर्ट देखाउनुपर्छ ।

पाँच वर्षको अदालती यात्रामा मलाई माइतीको साथ भएन । साक्षी बकाउन नातेदारलाई अनुरोध गरें । आए । ठूलो गुन लगाएको छु भन्ने छ तिनीहरूलाई पनि । अन्याय विरुद्ध लड्न मेरो एउटा सानो योगदान हो भनेर मान्न तयार छैनन् ।

अरू कार्यालयमा हुने यौनहिंसा पनि भोगेकी छु र निवेदन नै दिएर प्रतिवाद गरेकी छु । एउटी महिला कर्मचारीले मलाई भन्नुभयो, ‘तपाईंले जस्तो दुर्व्यवहार मैले भोगेको छैन ।’ संयोग भनौं, केही दिन नबित्दै कार्यालयका हाकिमले महिलालाई बैठकमै तथानाम भनेछन् । ती महिला पनि बैठकमा उपस्थित पनि थिइन्, जसको अडियो मेरो हात पर्‍यो ।

हिंसा भएको थाहा पाउन चेतना हुनुपर्छ । सोचें, उनलाई हिंसा नभएको होइन । चेतना र मुख खोल्ने हिम्मत दुवै नभएको हो । अरू झिनामसिना यौन हिंसा त मैले कति सामना गरें, गरें ।

अर्को पीडा मैले लेख्न छुटाउनुहुन्न । वकिल सा’बले भन्नुभएको थियो, ‘तिमीलाई आफ्नाले साथ छोड्छन् ।’ साथ छोड्ने मात्र होइन रहेछ, नुनचुक छर्कने रहेछन् ।

माइतीमा कुनै चेली मैले जसरी बस्नु नपरोस् । मेरो भोगाइ यही हो । दाजुभाइले दिनहुँ घर छोडेर जा भन्थे । आमा पनि होमा हो गर्ने । मलाई साथ दिने व्यक्ति मात्र मेरा बुवा । ‘यो मेरो घर हो, तिमीहरू मसँगै बस्छौ, कतै जाँदैनौ’ भन्दा मलाई कति ठूलो राहत मिल्थ्यो ।

दाजुभाइले लगाएका वचन त म नमर्दासम्म भुल्न सक्दिनँ । उनीहरू मलाई निर्धक्क भन्थे, ‘तैंले छोरी लिएर छुट्टै बसेपछि कोठाको बाहिर केटा मान्छेको जुत्ता सजाउनुपर्छ । त्यसो नगरे तँलाई र तेरी यो छोरीलाई बलात्कार गर्छन् ।’ कति दम्भ भरिएको पुरुषवादी सोच हो, अनुमान गर्न पनि नसकिने कुरा, तर मैले भोगें । ‘विष हालेर आमाछोरी नै सकिदिन्छौं’ भनेको सुन्दा मुटु–कलेजो नै क्षत–विक्षत हुन्थ्यो ।

कार्यालयमा काम गर्न जाँदा छोरीलाई आत्मरक्षा गर्न सिकाएर हिंडेका अनगिन्ती दिनहरू थिए । मर्न कसलाई मन हुन्छ र ? हामीले आत्मसुरक्षाको लागि कोठामा हतियार सुरक्षित राखेका थियौं, जुन प्रयोग गर्नु चाहिं परेन ।

त्यसैले मलाई तिहारको केही महत्व छैन । भाइटीका नलगाएको ६/७ वर्ष भएछ, लगाउने इच्छा कहींकतै छैन । छोरीले सानोमा रहर गर्दा प्रत्येक तिहारमा तुच्छ वचन सुनेका छौं । मलाई छोरीको खुसीका लागि सतर्क हुनुपर्थ्यो ।

म कुनै हालतमा माइत छोड्ने पक्षमा थिइनँ । मेरो यौवनको फाइदा एउटा समाजको जिम्मेवार व्यक्तिले उठायो । मलाई सहयोगको साटो उल्टो अपजस बाहिरका मानिसहरूले मात्र होइन, मलाई जन्मदिने घरले समेत लगाएको छ । छोरीले ‘बाबु नभएकी’ भनेर कति वचन सुन्नु परेको थियो । त्यो कलिलो बाल मस्तिष्कमा कति आघात पुगेको थियो होला ।

दाजुभाइका कुटाइ समेत भेट्यौं हामी आमा–छोरीले; मात्र एउटा व्यक्तिको धोकाले गर्दा । आफ्नै फुपूका छोरा ठूलीआमाका छोरा हाम्रो घर आएर म र मेरी छोरी माइतबाट निस्कनुपर्छ भन्दा हामीमाथि कति बज्रपात भयो होला, यो अनुमान बाहिर छ ।

वकिल सा’ब भन्नुहुन्थ्यो, ‘तपाईंमा अनुभव छ जुन जो–कोहीले महसुस गर्न सक्दैन ।’ मैले अंशबापत लिएको पैसाको कुरा त एक महिला मन्त्रीले पत्रकारसँग भनिछन्, ‘यो केटीको चरित्र ठीक छैन, पैसाको लागि बच्चा पाएकी हो ।’

बच्चा त उनले पनि पाएकी छन्, थाहा छैन कति पैसाको लागि पाइन् । समाजको बुझाइ तिनै महिला मन्त्रीको भन्दा गतिलो छैन ।
बुवाको क्रियापुत्री बसेकी नाबालक छोरीको ‘अब संरक्षक छैन, त्यो केटी टार्गेट गर्नुपर्छ’ भन्ने मनस्थिति भएको पुरुष आफ्नै आँखाले देखेकी छु ।

त्यसैले पुरुषप्रधान सोच भएका हामी सबै सोचौं, हामीलाई कथं कदाचित केही भइहाल्यो भन्ने के हाम्रा छोरी सुरक्षित रहलान् ?

हिजो म माथि भएको यो घटना भोलि तपाईंको परिवारमा नहुने ग्यारेन्टी छ र ? अहिले पनि नेपालका कुनै पनि सचेत महिलाले ‘मैले यौनजन्य हिंसा भोगेको छैन’ भन्छन् भने ती महिला हातमा गन्न मिल्ने भाग्यमानी महिला हुन् ।

मेरो आदरणीय गगन दाइ, तपाईं कानुन बनाउने मुकाममा हुनुहुन्छ । महिलालाई कस्मेटिक सामग्री वा उपभोगको साधन बनाउने व्यक्तिलाई कानुनको दायरामा हुल्न सकिने कानुन बनाउन तपाईंबाट बुलन्द भूमिकाको अपेक्षा अरू आम मानिसले झैं मैले पनि गरेकी छु ।

यहाँ उल्लेखित कहानी मैले भुल्न चाहेको तर भुल्न नसकेको मेरो अप्रिय र दुःखी विगत हो । मैले मृत्युलाई एकदमै नजिकैबाट महसुस गरेकी छु । मृत्यु मलाई हरेकचोटि आएर हल्लाउँदै गएको छ । धन्न लपेटेर लैजान सकेन ।

मेरो छोरीको बाबु अहिले काठमाडौंको बजारमा नाम चलेको डाक्टर हो । पढालेखा परिवारको छोरो हो । अनि उसले ‘पैसा लिएर हत्या गर’ भनेको भ्रूण बढेर, जन्मिएर उच्च शिक्षा लिइरहेकी छ । मैले यो सबै कहानी मेरी छोरीलाई बुझाएकी छु ।

नेपाली भूगोलमा महिलाको लागि न्यायको लडाइँ सजिलो छैन । ईश्वरले वर्तमानलाई शक्ति प्रदान गरून् । पैसा, पद र शक्तिको आडमा महिलामाथि हिंसा गर्ने हुँडार हृदयका पिपासु तह लगाउन कानुनी बाटो मात्र होइन, सचेतनाको बाटो पनि समात्नुपर्दछ ।

महिला हिंसा विरुद्ध छोरीहरू मात्र होइन, छोराहरू पनि अघि सर्नुपर्दछ । साँझ परेपछि छोरीहरूलाई घरबाहिर ननिस्कनु भनेको खासमा छिमेकका पुरुषहरू बद्मास छन् भनेको पनि त हो । यति मात्र पनि बुझिदिए हुन्थ्यो ।

आज न्यायको लडाईंमा निस्किएकी ती पात्रलाई साथ दिन म भूगोलको अर्कै रेखामा भए पनि साथमा छु है । अँध्यारो तथा उष्ण सुरुङबाट बाहिर निस्कँदा तपाईं सुनजस्तै उज्यालो भएर निस्कनुहोस् ।

हालः बेलायत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?