+
+
टी-२० श्रृंखला :

(अपडेट) : टी-२० श्रृङ्खलामा पीएनजीमाथि नेपाल १५ रनले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:०१

१४ चैत, काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।

पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे बाउले ३० रन बनाउँदा चार्ल्स अमिनीले २२ तथा लेगा सिएकाले २१ रन जोडे ।

पीएनजीका टोनी उरालाईले दोस्रो ओभरमै करण केसीले आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सोमपाल कामीले अर्का ओपनर सिएकालाई तेस्रो ओभरमा आउट गरे ।

अविनाश बोहराले छैटौं ओभरमा चार्ल्स अमिनीलाई बोल्ड गर्दा पीएनजीले पावर प्लेमा ५५ रन जोड्दा ३ विकेट गुमाएको थियो ।

पीएनजीका कुनै पनि जोडीलाई नेपाली बलरले लामो साझेदारी गर्न दिएनन् । कप्तान असद भाला र सेसे बाउले चौथो विकेटका लागि बनाएको ३२ रनको साझेदारी नै पीएनजीको इनिङ्समा ठूलो साझेदारी बन्यो ।

कप्तान भालालाई नवौं ओभरमा कप्तान सन्दीपले करण केसीबाट क्याचआउट गराए । भालाले ७ रन जोडे । सन्दीपले नै सेसे बाउलाई ११औं ओभरको अन्तिम बलमा एलबीडब्लु धरापमा पार्दा पीएनजीले ९१ रनमा पाँचौ विकेट गुमायो । बाउले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३० रन जोडे ।

अर्को ओभरमा अविनाशले रिले हेकुरेलाई सोमपाल कामीबाट क्याचआउट गराए । १३औं ओभरको अन्तिम बलमा सन्दीपले शून्य रनमै जासोन किलालाई एलबीडब्लु धरापमा पारे । पीएनजीले एक सय रनमै सात विकेट गुमाएको थियो ।

तर नोर्मन भानुअले चाड सपरसँग आठौं विकेटका लागि ६७ रनको साझेदारी गरे । भानुअ क्रिजमा हुँदासम्म पीएनजी जित नजिक देखिएको थियो ।

तर करणले एकै ओभरमा दुई विकेट लिँदै खेल मोडेका थिए । करण केसीले १९औं ओभरमा भानुअलाई एलबीडब्लु धरापमा पार्दै उक्त साझेदारी तोडेका थिए । पाँचौ बलमा भानुअलाई आउट गरेका करणले छैटौं बलमा सिमोन अटाईलाई दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए ।

दीपेन्द्रले बलिङ गरेको अन्तिम ओभरको दोस्रो बलमा कप्तान सन्दीपले अलेइ नाओलाई रनआउट गर्दै नेपालको जित सुनिश्चित पारे ।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए । यस्तै अविनाश बोहराले २ तथा सोमपाल कामीले १ विकेट लिए ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको थियो ।

आक्रामक सुरुवात गरेको नेपालले तेस्रो ओभरमै विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिलाएका थिए । तर तेस्रो ओभरमा कुशल रनआउट भए । कुशलले ११ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २० रन बनाए ।

त्यसपछि अर्का ओपनर आसिफ शेख र रोहित कुमार पौडेलले नेपालको इनिङ्स अघि बढाए । यी दुईले ९ ओभरमा दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे ।

आसिफ र रोहित क्रिजमा हुँदा नेपालले ठूलो स्कोर बनाउने सम्भावना देखिएको थियो । तर १२औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन थाल्यो । आसिफले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

आसिफसहित नेपालले लगातार ५ ओभरमा ५ विकेट गुमायो । अर्को ओभरमा रोहित पौडेल आउट भए । उनले २६ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ४, कुशल मल्ल ११ र लोकेश बम ५ रनमा आउट भए ।

१६औं ओभरमा नेपालले विकेट गुमाउने श्रृङ्खला रोक्यो । उक्त ओभरमा करण केसीले नर्मन भानुअलाई २ छक्का प्रहार गरेका थिए । तर अर्को ओभरमा करण केसी ७ बलमा १४ रन बनाएर आउट भए ।

१९औं ओभरमा सोमपाल कामी १ रन बनाएर आउट भएपछि नेपालले आठौं विकेट गुमायो । विकेट जाने क्रम अझै रोकिएन । अन्तिम ओभरको पाँचौ बलमा आरिफ शेख ३२ रन बनाएर आउट भए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

पीएनजीका लागि अलेइ नाओ र चाड सपर र चार्ल्स अमिनीले २-२ तथा नर्मन भानुअ र रिले हेकुरेल १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?