+
+

न्यायाधीशको सुनुवाइमा चोलेन्द्रको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १६:११

१५ चैत, काठमाडौं । मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठको सुनुवाइ थियो ।

सुनुवाइको सुरुमै प्रस्तावित न्यायाधीश श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सर्वोच्च अदालतमा हाल देखिएका समस्या र समाधानको उपायबारे पनि आफ्नो धारणा राखे । त्यसपछि सांसदहरुले श्रेष्ठलाई प्रश्न गर्ने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि सम्झिए ।

‘पहिला आदर्शको कुरा गर्ने पछि प्रतिवद्धता विपरीत काम गर्ने समस्या छ’ नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले भने, ‘चोलेन्द्रशमशेर जबराले पनि सुनुवाइका क्रममा अनुहारमा कालो दलेर निस्किन्न भन्नुभएको थियो । अहिले बारले नै अनियमितता र भ्रष्टाचारी भन्यो । अहिले संसदमा महाअभियोग विचाराधीन छ ।’

कांग्रेसकै सांसद जितेन्द्रनारायण देवले निलम्बित प्रधानन्यायाधीश जबराको नाम त लिएनन् । तर, उनले समस्याको पहिचान भएको र गलत कार्यका विरुद्ध नेपाल बार एशोसिएसन र सांसदहरु एक्सनमा उत्रिएको बताए ।

‘रोगको पहिचान भइसकेको छ । मेडिसिन पहिचान गर्नुपर्छ र मेडिसिन पहिचान भए पनि डोज तलमाथि भयो भने काम गर्दैन । पुरै डोज लगाउनुपर्ने छ’ उनले भने ।

सर्वोच्च अदालतमा सुरु भएको गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियाको विषयमा पनि सांसदहरुले चासो राखे । त्यस क्रममा सांसदहरुले पटक पटक निलम्बित प्रधानन्यायाधीश जबराको नाम जोडे ।

साथसाथै उनले न्यायालयमा हुन सक्ने विकृति, विसंगति र भ्रष्टाचार नियन्त्रणका लागि हरिकृष्ण कार्कीको नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा जोड दिए ।

नेकपा माओवादी केन्द्रका सांसद अमृता थापाले प्रधानन्यायाधीश जबराको प्रसंग निकालेर प्रश्न गरिन्, ‘व्यक्ति गलत कि सिष्टम गलत हो ? समस्या कहाँ छ ?’ जवाफ दिने क्रममा प्रस्तावित न्यायाधीश श्रेष्ठले नेपालमा सिष्टम भन्दा व्यक्ति गलत भएर समस्या हुने गरेको बताए ।

यस्तै, सर्वोच्च अदालतमा सुरु भएको गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रियाको विषयमा पनि सांसदहरुले चासो राखे । त्यस क्रममा सांसदहरुले पटक पटक निलम्बित प्रधानन्यायाधीश जबराको नाम जोडे ।

नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक समेत रहेका समिति सदस्य देव गुरुङले भने, ‘चिठ्ठा प्रणालीबाट मुद्दा तोक्ने जो सुरु भयो चोलेन्द्रको पालामा त्यो ठीक थियो किनभने रञ्जन कोइरालाको मुद्धा लगायतमा प्रश्न उठ्यो । तर, आम रुपमा सिष्टमकै रुपमा कति ठीक होला या नहोला ?’

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले पनि गोलाप्रथाबाट मुद्दा तोक्ने विधिले कत्तिको प्रभावित पार्छ ? भन्दै प्रश्न गरिन् ।

उनले पनि तात्कालिक अवस्थामा (चोलेन्द्र प्रधानन्यायाधीश रहँदासम्म) गोलाप्रथा राम्रो भएको भए पनि दीर्घकालसम्मै रहँदा के हुन्छ ? भनेर राम्रा र नराम्रो पक्षमा टीकाटिप्प्णी भइरहेको बताइन् ।

सांसदहरुलाई जवाफ दिँदै सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित श्रेष्ठले पनि गोलाप्रथाबाट पेशी तोक्ने प्रक्रिया बेठीक रहेको बताए । उनले निलम्बित प्रधानन्यायाधीश जबराको नाम त लिएनन् ।

तर, जबरातर्फ संकेत गर्दै उल्टै प्रश्न गरे, ‘खास गरेर प्रधानन्यायाधीश र मुख्य न्यायाधीश मुद्दा तोक्दा हुन सक्ने चलखेल, जुन अहिले सेटिङ भनिन्छ, त्यो नियन्त्रण भएकै हो । तर यसले भ्रष्टाचार कम गर्छ ?’

गत फागुन १ गते ९८ जना सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन् । संसदले महाअभियोग सिफारिस समिति गठन गरे पनि महाअभियोगमाथिको छलफल सिफारिस समितिमै भने पुगिसकेको छैन ।

न्यायालयमा सुधार गर्छु भन्ने कसम खाएर प्रधानन्यायाधीश बनेका जबरालाई महाअभियोग प्रस्ताव दर्ता भएको स्मरण गर्दै सांसदहरुले प्रस्तावित न्यायाधीश श्रेष्ठलाई पनि सचेत गराउन जबराकै चर्चा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?