
१६ चैत, काठमाडौं । नेपालमा वर्षेनी गर्भधारण गर्ने करिब १२ लाख महिलामध्ये झण्डै आधाले अनिच्छित गर्भधारण गर्ने गरेको पाइएको छ ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् करिब ६ लाखले अनिच्छित गर्भधारण गर्ने गरेका छन् । ती मध्ये दुई तिहाइले गर्भपतन गराउने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
युएनएफपीएले हरेक बर्ष सार्वजनिक गर्दै आएको विश्व जनसंख्याको स्थिति सम्बन्धी प्रतिवेदन अन्तर्गत यसबर्ष सन् २०२२ को प्रतिवेदन अनिच्छित गर्भाधारणको विषयमा केन्द्रित छ ।
सिइङ द अनसिन : द केश फर एक्सन इन द नेग्लेक्टेड क्राइसिस अफ अनइन्टेन्डेड प्रिग्नेन्सी शीर्षक दिइएको यस बर्षको प्रतिवेदनले समुदाय, महिला तथा किशोरी र विश्व स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएको छ ।
सन् २०१७ को तथ्यांक अनुसार, नेपालमा अनुमानित १२ लाख गर्भाधारण भएकामध्ये झण्डै आधा अनिच्छित गर्भाधारण थियो । त्यसमध्ये करिब ३ लाख ५९ हजारले गर्भपतन गराएका युएनएफपीएले जनाएको छ ।
नेपालमा कानूनी मान्यता प्राप्त गरेको गर्भपतनले मातृ मृत्युदर घटाउन महत्वपूर्ण योगदान गरे पनि, अधिकांस गर्भपतन अहिले पनि अदक्ष सेवा प्रदायक वा गर्भवती महिला आफैंले औषधि वा अन्य कुराको प्रयोग गरी गर्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।
युएनएफपीएका कार्यकारी निर्देशक डा. नतालिया कनेमले गर्भाधारणबारे आधारभूत निर्णय गर्ने शक्ति महिला तथा किशोरीहरुकै हातमा हुनुपर्ने बताए । ‘यो प्रतिवेदन एउटा ‘वेकअप कल’ हो । अनिच्छित गर्भाधारणमा देखिएको यस्तो अप्रत्यासित संख्याले महिला तथा किशोरीहरूको सामान्य मानव अधिकार प्रवद्र्धनमा विश्व समूदायको असफलताको प्रतिनिधित्व गर्छ’ उनले भने ।
प्रतिक्रिया 4