+
+

पर्यटन बोर्डको सीईओ निजी व्यवसायमा, स्वतः पदमुक्त हुनसक्ने

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले कानुन विपरीत पर्यटन बोर्डको नेतृत्व लिएको खुलेको छ । सीईओको पद सम्हालेपछि पनि नर्थफेस हिमालय रिसोर्टको लगानीकर्ता तथा सञ्चालक समिति अध्यक्षका रुपमा उनले काम गरिरहेको भेटिएको छ ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ चैत १७ गते २१:४५
बायाँतर्फ रेग्मी र नियमावलीमा भएको व्यवस्था

१७ चैत, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले कानुन विपरीत पर्यटन बोर्डको नेतृत्व लिएको खुलेको छ । सीईओको पद सम्हालेपछि पनि नर्थफेस हिमालयन रिसोर्टको लगानीकर्ता तथा सञ्चालक समिति अध्यक्षका रुपमा उनले काम गरिरहेको भेटिएको छ ।

नेपाल पर्यटन बोर्ड नियमावली २०५५ को नियम ९ को उपनियम २ मा कार्यकारी प्रमुख नियुक्त भएको व्यक्ति कुनै सरकारी, गैरसरकारी, वा अन्य कुनै व्यवसायमा संलग्न रहन नहुने उल्लेख छ । त्यस्तो संलग्नता रहेको भए निजले त्यस्तो सेवा वा व्यवसायबाट अवकाश लिनुपर्ने व्यवस्था छ । ‘र यसरी अवकास नलिएमा व्यक्ति नियक्ति स्वतः बदर हुनेछ,’ नियम ९(२) मा भनिएको छ ।

नियमावलीमा भएको व्यवस्था (रातो लाइनमा)

रेग्मी १४ माघ २०७६ मा सीईओमा नियुक्त भएका थिए । तर, रेग्मीले सीईओ हुँदा पनि नर्थफेस हिमालयन रिसोर्टको अध्यक्षका रुपमा काम गरिरहेको अनलाइनखबरलाई प्राप्त दस्तावेजबाट खुलेको हो ।

कम्पनी रजिष्ट्रारको कार्यलयले नै अद्यावधिक गरेको अभिलेखले रेग्मीले १५ साउन २०७७ सम्म नर्थफेस हिमालयन रिसोर्टका अध्यक्षको हैसियतमा काम गरिरहेको पुष्टि हुन्छ । कम्पनी स्रोतका अनुसार अहिले पनि उनी अध्यक्षको हैसियतमा काम गरिरहेका छन् । ‘उहाँ आधिकारिक रुपमा आजसम्म अध्यक्ष नै हो, सेयर धनी पनि हो,’ एक सञ्चालकले भने,’अनाधिकारिक रूपमा त उहाँसहित ३-४ जना सञ्चालक छौं ।’

नर्थफेस हिमालयन रिसोर्ट सोलुखुम्बुको लुक्लामा अवस्थित छ । यो विशद्ध पर्यटनसम्बद्ध व्यवसाय हो । सीधै स्वार्थको द्वन्द्व हुने व्यवसायमा संलग्न रहेकै अवस्थामा रेग्मी पर्यटन बोर्डमा काम गरिरहेको कागजपत्रहरुले प्रमाणित गर्छन् ।

रेग्मीले  कम्पनीको अध्यक्षको प्रमाणित गरेको शेयरवाला दर्ता किताव

ऐनले त कुनै पनि खालको व्यवसायमा संलग्नलाई सीईओको रुपमा काम गर्न अनुमति दिएको छैन । तर, रेग्मीले सरकारलाई नै गुमराहमा राखेर होटलको सञ्चालक समिति र पर्यटन बोर्डमा कार्यकारी दोहोरो नेतृत्व लिएको कम्पनी रजिष्ट्रारको कार्यालयबाट भएको अभिलेखसम्बद्ध पत्राचारबाट पुष्टि हुन्छ ।

नर्थफेस हिमालयन रिसोर्टका सेयर धनी रुद्रप्रसाद तिमल्सिनाले आफ्नो नाममा रहेको १ लाख २५ हजार कित्ता सेयर जफत गर्न गत वर्ष मञ्जुरीनामा दिएका थिए । उनले ३ लाख ५० हजार १ देखि ४ लाख ७५ हजारसम्मको सेयर जफत गर्दा कुनै उजुरबाजुर नगर्ने भन्दै लिखित निवेदन दिएका थिए । यो निवेदनलाई २८ डिसेम्बर २२०मा अधिवक्ता किशोरप्रसाद शर्माले नोटरी प्रमाणित गरेका छन् ।

सोही बोमेजिम कम्पनी रजिष्ट्रारको कार्यालयले ९ साउन २०७७मा सेयरवाल दर्ता किताब हेरफेरलाई स्वीकृत गरेको देखिन्छ । जसलाई सीईओ रेग्मीले कम्पनी सञ्चालक समितिको अध्यक्षको हैसियतमा आफैंले प्रमाणित गरेका छन् । कम्पनी रजिष्ट्रारले नर्थफेस हिमालयन रिसोर्ट १९ साउन २०७७ मा सो अभिलेख अद्यावधिक भएको जानकारीसहित पत्राचार गरेको छ ।

रेग्मीले प्रमाणित गरेको नर्थफेस हिमालयन रिसोर्टको सेयरवाल दर्ता किताबअनुसार १ देखि १ लाख ७५ हजार कित्तासम्मको सेयर सीईओ धनञ्जय रेग्मीको नाममा कायम छ । त्यसैगरी १ लाख ७५ हजार १ देखि ३ लाख ५० हजारसम्मको सेयर ताप्लेजुङकी सरिता लिम्बु पौडेलको नाममा कायम भएको देखिन्छ । ३ लाख ५०० हजार १देखि स्याङ्जाकी शान्ती रेग्मीको नाममा देखिन्छ ।

रेग्मी आफैंले प्रमाणित गरेको कागजातअनुसार उनी सीईओमा काम गरिरहँदा पनि व्यक्तिगत व्यवसायमा सञ्चालक समितिभित्रै रहेरे काम गरिरहेको पुष्टि हुन्छ ।यसबारेमा बुझ्न खोज्दा रेग्मी अनलाइनखबरसँग सम्पर्कमा आउन चाहेनन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयका एक अधिकारीका अनुसार जुन मितिमा सेयर धनी दर्ता किताबमा भए गरेका काम कारबाहीको उत्तरदायित्व, जवाफदेही र जिम्मेवारी अन्यथा प्रमाणित हुन आएमा समेत कम्पनी र कम्पनीका सञ्चालक एवम् पदाधिकारीहरुको रहने गरी अभिलेख गराएको निर्णय भएको छ, त्यसदिनसम्म उक्त व्यक्ति अभिलेखअनुसार नै पदमा रहेको प्रमाणित हुन्छ ।

‘अभिलेख अद्यावधिक हुँदा उक्त व्यक्ति सञ्चालक वा पदाधिकारी छ भने ऊ त्यसदिनसम्म सोही पदमा काम गरिरहेको थियो भन्ने हो,’ ती अधिकारीले भने, ‘त्यसपछि थप हेरफेर भने भएको हुनसक्छ ।’

कम्पनी रजिष्ट्रारले लेखेको पत्र

रेग्मीलाई यसअघि नै सरकारले निलम्बनको निर्णय गरिसकेको थियो । २ पुसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले अनियमिततामा मुछिएको र पदीय आचरण विपरीत काम गरेको भन्दै सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

तर, सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत  रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

त्यसअघि विदेशबाट फर्किंदा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेका रेग्मीलाई मन्त्रालयले लिखित स्पष्टीकरण पनि सोधेको थियो । पर्यटन बोर्ड सञ्चालक समितिले रेग्मीमाथि छानबिन गर्न गठित समितिले रेग्मीले अनियमितता गरेको ठहर गर्दै प्रतिवेदन पनि बुझाइसकेको छ ।

कर्मचारी सरुवाका नाममा अतिरिक्त खर्च सिर्जना गरेको, अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागी हुँदा कम्तीमा १० जना निजी क्षेत्रका व्यवसायीको सहभागिता सुनिश्चित हुनुपर्नेमा गर्न नसकेको, धेरै खर्च गरेको, बोर्डको निर्देशन नटेरेको प्रतिवेदनमा उल्लेख छ ।

बोर्डमा सीईओको कार्यकक्ष मर्मत गर्दा कागजात मिलाएर आर्थिक अनियमितता गरेको तथा जियोग्राफिकल इन्फर्मेसन सिस्टम जडानका क्रममा त्रिभुवन विश्वविद्यालयसँग गरेको ४ करोड ७३ लाख रुपैयाँमा समेत छानविन समितिले प्रश्न उठाएको छ । छानविन समितिले आर्थिक अनियमितता देखिएको विषयमा अनुसन्धान गरी कारबाही अगाडि बढाउन सिफारिस समेत गरेको थियो ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?