
१८ चैत, काठमाडौं । काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्वार उठ्नेहरुको लहड चहिरहँदा गत चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा १८ हजार ४९६ मत ल्याएर चर्चामा आएका पूर्व सचिव किशोर थापा मेयरमा नउठ्ने भएका छन् ।
पार्टीले उठाएको उम्मेद्वारलाई समर्थन गर्ने भन्दै उनले नयाँ पुस्तालाई मेयर उठाउनु पर्ने बताएका छन् ।
पाँच वषअघि आफूले इच्छा गरेर मेयर उठेको र पार्टीले पनि समर्थन गरेको भन्दै उनले अब पुराना पुस्ताले नयाँ पुस्ताका युवालाई अवसर दिनुपर्ने बताए ।
‘मैले केहि गर्छु भन्ने उमेरको बेला अघिल्लो चुनावमा उम्मेद्वार भएँ, अब नयाँ पुस्ता थुप्रै आइसकेका छन्,’ थापाले अनलाइनखबरसँग भने, ‘हाम्रो पार्टीले योग्य उम्मेद्वार उठाउँछ, उसैलाई म समर्थन गर्छु ।’
पार्टीले उठाएको वा स्वतन्त्र रुपमा उठेका योग्य र क्षमतावान उम्मेद्वारलाई समर्थन गर्नु नै नैतिकता रहेको उनले बताए ।
२०७४ मा स्वतन्त्र उम्मेद्वारी दिएका थापालाई रविन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीले समर्थन गरेको थियो । त्यो चुनावमा सुसस्ंकृत राजनीतिको वकालत गर्दै आएको विवेकशील नेपाली दलको तर्फबाट उठेकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत पाएकी थिइन् । आन्तरिक विवाद भएता पनि यी दुवै दल अहिले एक भएका छन् ।

तर थापा र दर्शना दुवैको मत जोड्दा पनि मेयरमा दोश्रो भएका नेपाली कांग्रेसका राजुराज जोशीको भन्दा कम हुन्छ ।
२०७४ को चुनावमा काठमाडौंको मेयर चुनिएका नेकपा एमालेका विद्या सुन्दर शाक्यले ६४ हजार ९१३ मत पाएका थिए । दोश्रो भएका नेपाली कांग्रेसका जोशीले ४५ हजार २६९ मत पाएका थिए ।
अब मेयर नउठ्ने घोषण गरेका थापा विवेकशील साझा पार्टीमा केन्द्रीय समिति सदस्य छन् । पार्टीका एक नेताका अनुसार काठमाडौं महानगरको मेयरको टिकट दिने अधिकार पार्टी अध्यक्ष रविन्द्र मिश्र आफैैंले राखेका छन् ।
प्रतिक्रिया 4