+
+

निफ बहस : राम्रो अभिनयको परिभाषा के ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १६:२६

काठमाडौं । राम्रो अभिनय ठ्याक्कै कस्तो हुनुपर्छ ? यसलाई लिएर सबैका आ-आफ्ना तर्क हुन सक्छन् । राष्ट्रिय सभागृहमा चलिरहेको काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा पनि कलाकारको यस्तै जवाफ सुनियो ।

राम्रो अभिनयबारेको छलफलमा कलाकारहरु सुनिल पोखरेल, सरिता गिरी र विपिन कार्कीले भाग लिए । ‘मैले अहिलेसम्म राम्रो अभिनयको परिभाषा बुझ्न सकिरहेको छैन,’ पोखरेलले भने, ‘मैले अभिनयलाई सुरुमा खत्रा मान्ने गर्थें । अहिले आएर जीवन बाँच्नु र अभिनयमा फरक देख्दिनँ ।’

दर्शकको मन र हृदयमा झ्वाट्टै आक्रमण गर्नसक्ने कलालाई राम्रो अभिनय मान्न सकिने सुनिलको तर्क छ । कलाकार इमान्दार बन्नुपर्ने सुझाउँदै उनले कलाकारले पृष्ठभूमि बिर्सन नहुने बताए । थिएटर र फिल्मको अभिनयमा केही भिन्नता हुने भन्दै उनले आँखा र क्यामेराको माध्यमअनुसार अभिनय गर्न आवश्यक रहेको बताए ।

‘थिएटरमा प्रत्यक्ष अभिनय देखाउनुपर्ने हुँदा चर्को सुनिन्छ । जसकारण यसलाई अलग माध्यम भनेर बुझ्दा सजिलो हुन्छ,’ पोखरेलले भने, ‘पहिले थिएटर र फिल्मका कलाकारबीच विभेद थियो, अहिले कमी आएको छ ।’

राम्रो अभिनयबारे अभिनेता कार्कीको धारणा पनि सुनिलको जस्तै छ । केलाई राम्रो अभिनय मान्ने ? विपिनको धारणा छ, ‘म पनि खोजिरहेको छु । सबैको अभिनयको तरिका हुन्छ । अभिनयको एउटै मात्र परिभाषा हुँदैन जस्तो लाग्छ । जसकारण अभिनय राम्रो नराम्रो भन्ने हुँदैन ।’

व्यक्तिपिच्छे अभिनयको शैली फरक हुने भएकाले युवापुस्तालाई अभिनयमा लाग्न अभिनेता कार्कीको आग्रह छ । ‘हामी सबै जना युनिक छौं । निडर भए सबैले आफ्ना अभिव्यक्तिलाई बाहिर ल्याउनुपर्छ । जसले अभिनय जीवन्त देखिन्छ,’ उनले भने, ‘जीवनसँग जोडेर आफ्नो जस्तो सोचेर अभिनय गर्नुपर्छ ।’

अभिनेत्री गिरीले कलाकारको अभिनय उत्कृष्ट नहुनुमा निर्देशकको दोष हुने बताइन् । पात्रको पृष्ठभूमि, भोगाइ र मनोविज्ञान बुझेर मात्र आफूले अभिनय गर्ने उनको भनाइ छ । ‘म अविवाहित महिला । फिल्म आमामा सुत्केरी महिलाको भूमिका निर्वाह गर्नुपर्ने । अप्रेसन गरेको सुत्केरी कसरी हिंड्छन् भनेर बुझ्न म धेरैपटक अस्पताल गएकी थिएँ । जसले मलाई पात्रमा फिट हुन सजिलो भएको थियो,’ उनले भनिन् ।

फिल्ममा रिहर्सलको लागि पर्याप्त समय पनि नहुने र मुख्य पात्रलाई मात्र ध्यान दिइँदा साना पात्रहरु ओझेलमा पर्ने उनले बताइन् । ‘फिल्ममा निकै हतार हुन्छ । साना पात्रलाई तत्कालै लिने चलन छ जसले गर्दा पात्रहरु कमजोर हुन्छन्,’ गिरीले भनिन्, ‘किनकि पात्रलाई विश्लेषण गर्ने समय नै हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?