
२० चैत, जनकपुरधाम । सत्तारुढ गठबन्धनले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने तयारी सुरु गरेका छन् ।
निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने सन्दर्भमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको संयुक्त बैठक आइतबार जनकपुरधाममा बसेको छ ।
बैठकले प्रदेशका सबै स्थानीय तहको समीक्षा गर्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले जानकारी दिए ।
‘जिल्लाको गठबन्धन दलको बैठक बसेर प्रत्येक पालिकाको अवस्थाको बारेमा समीक्षा गरेर प्रतिवेदन पेश गर्न सबै जिल्लामा पत्राचार गरिएको छ’ उनले भने, ‘प्रत्येक जिल्लामा यसको समन्वय भने नेपाली कांग्रेसले गर्नेछ ।’
जिल्ला स्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर मंगलबार २२ गतेसम्म प्रतिवेदन बुझाउन भनिएको सभापति यादवले बताए । यो प्रतिवेदन आइसकेपछि थप छलफललाई अगाडि बढाउने उनले बताए ।
बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र जनमोर्चाका नेताहरुको सहभागिता थियो ।
प्रतिक्रिया 4