+
+

जीर्ण सडकले वीरगञ्जमा सास्ती, बनाउन खोज्दा ठेकदार नै तगारो

सुरेश बिडारी सुरेश बिडारी
२०७८ चैत २२ गते ८:५२

२२ चैत, वीरगञ्ज । वीरगञ्ज माईस्थानका अमृतलाल जोशी चिटिक्क परेर घरायसी समान किनमेल गर्न रक्सौल जान्छन् । तर मोटरसाइकलमा रक्सौल नपुग्दै उनको शरीर धुलोमैलोले छोपिसक्छ । घरबाट जाँदा लगाएको सेतो लुगा घर आइपुग्दा कालो हुन्छ ।

‘देशको मुख्य प्रवेशद्वार भन्छन्, राजश्व पनि यहींबाट बढी उठाएर लैजान्छन्,’ जोशी भन्छन्, ‘हामी सर्वसाधारण हिउँदमा धुलो र बर्खामा हिलो खान बाध्य छौं । तीनै तहको सरकार मुकदर्शक मात्रै बनेर बसेको छ ।’

वीरगञ्जदेखि मितेरी पुलसम्मको सडकको कारण दुःख पाउने उनी एक्ला होइनन् । वीरगञ्ज–रक्सौल नाका ओहोर–दोहोर गर्ने हरेकले धुले सडकका कारण सास्ती खेप्नु परेको छ ।

पर्साको वीरगञ्ज देशकै आर्थिक राजधानी हो र वीरगञ्ज–रक्सौल नाका नेपालकै प्रमुख । तर यो प्रमुख नाका र देशको आर्थिक राजधानीको सडक भने त्यसलायक छैन ।

नेपाल भारत जोड्ने मुख्य नाका वीरगञ्ज–रक्सौलको मितेरी पुलको नेपाली भाग अर्थात आधा हिस्सादेखिकै सडक जीर्ण छ । पुलमात्रै होइन, पुलदेखि उत्तर शंकराचार्यद्वार, भन्सार कार्यालय हुँदै रजतजयन्ती चोकसम्मको सडक एकदमै जीर्ण छ ।

नेपाल–भारत सीमाको मितेर पुलमा पाल टाँगेर आन्दोलन गर्ने दल पटक–पटक सरकारमा पुगेका छन् । मधेस प्रदेशमा त उनीहरुले नै सरकार चलाए । तर नेपालको प्रवेशद्वारको रुपमा परिचित वीरगञ्ज नाकाको अवस्थामा कुनै सुधार आउन सकेको छैन ।

औद्योगिक कच्चा पदार्थ कोइला जस्ता वस्तु वीरगञ्ज नाका हुँदै भित्रिन्छ । जीर्ण सडक भएकाले टिपर हल्लिएर झर्छ । चिटिक्क परेर रक्सौलमा किनमेल गर्न गएका वा भारतबाट आएका नेपाली वा पाहुना नागरिकको रुप रंग नाकामा आएपछि बिग्रन्छ ।

वीरगञ्जमा तीन वर्षदेखि ई–रिक्सा चलाउँदै आएका मनोज तुराहा मितेरीपुलदेखि रजतजयन्तीसम्म सडकको दुरावस्था देखेर दिक्क लाग्ने बताउँछन् । ‘रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको सडक एकदमै जीर्ण छ । ई–रिक्सा चलाउनै गाह्रो हुन्छ’, उनले भने, ‘राज्यलाई कर तिर्छौं, तर पनि यस्तो दुर्दशा हेरेर बस्नु परेको छ ।’

नेपाली मात्र होइन, भारतीय नागरिकसमेत वीरगञ्जका सडकको दुरावस्था देखेर दुःखी छन् । भारत रक्सौलका राजेन्द्र रामलाई वीरगञ्ज आउँदा सडकको स्थिति देखेर नराम्रो लाग्छ । ‘भारतको राजस्थान, छत्तिसगढलगायत विभिन्न ठाउँबाट पर्यटक नेपालमा घुम्न आउँछन्’, उनले भने, ‘तर नाकामा गम्छाले नाक छोपेर हिंड्नुपर्ने अवस्था छ । यसले राम्रो सन्देश जाँदैन ।’

मुख्य राजमार्ग भन्दै मर्मतमा महानगरको छैन चासो

त्रिभुवन राजपथ अन्तर्गत पर्ने भएकाले सडक मर्मतका लागि वीरगञ्ज महानगरपालिकाले चासो लिएको छैन । वीरगञ्जको सडक विस्तार हुन नसक्दा गण्डकदेखि दक्षिणतर्फ मितेरीपुलसम्म ८ किलोमिटर सडक मर्मतमा सडक विभागले समेत चासो दिइरहेको छैन । खाल्टाखुल्टीसमेत नपुरिएको अवस्था छ । पछिल्लो ६ वर्षदेखि यो सडक मर्मत हुन सकेको छैन । मुख्य मार्गको दुरावस्थाका कारण आवागमनमा सास्ती र दुर्घटनाको जोखिम बढेको स्थानीयबासिन्दा बताउँछन् ।

वीरगञ्जको घण्टाघरदेखि माईस्थान र पावर हाउस चोकको अवस्था पनि जीर्ण छ । ‘त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक विस्तार गर्न खोज्दा अदालतमा मुद्दा परेको छ । अदालतले तोड भन्ने आदेश दियो भने सडक सीमा मिचेर बनाएका संरचना भत्किन्छ’, सडक विभागका एक इन्जिनियरले भने, ‘हैन भने सोही अनुसार काम अघि बढ्छ ।’ एकैपटक ८ किलोमिटर सडक बनाउन ठेक्का लगाउने सोचमा विभाग छ ।

काम थाल्ने बेला टेण्डर नहाल्ने व्यवसायीले मुद्दा हालेपछि….

वीरगञ्जको सडक मर्मतका लागि भन्दै व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले दुई वटा प्याकेजमा ठेक्का लगाउने गरी ५ पुसमा सूचना निकालेको थियो । ५/५ करोड रुपैयाँको दुई वटा प्याकेजमा साधारण सडक मर्मत गर्ने योजना आयोजना कार्यालयको थियो ।

अनलाइन आवेदन माग गर्दा दुवै प्याकेजका लागि एउटा/एउटा कम्पनीले मात्रै आवेदन दिए । रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको १.३ किलोमिटर सडकका लागि समा कन्सट्रक्सन र पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मका लागि सागर/निरीक्ष जेभीले आवेदन दिएका थिए ।

रजत जयन्ती चोकदेखि मितेरीपुलसम्म प्याचिङ र ओभरलेको काम नै गर्ने, १ सय ३७ मिटर मितेरी पुल मर्मत गर्न लागिएको थियो । पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मको खण्डमा घण्टाघरदेखि माईस्थानसम्मको पूर्वी लेन तथा हुलाकी र त्रिभुवन राजपथ जोडिएको ठाउँ पावरहाउस चोकमा प्याचिङ गरेर ओभरले गर्ने काम जिम्मा दिन लागिएको थियो ।

आवेदन दिएका दुवै कम्पनी प्राविधिक मूल्यांकनमा पास भए । ९ फागुनमा कार्यालयले आर्थिक प्रस्ताव माग गर्‍यो । तर टेण्डर खोलिसकेपछि मिलेमतोमा ठेक्का लगाउन लागेको भनेर विकास एण्ड ब्रदर कन्सट्रक्सन, विकास झा र विशाल यादवले कार्यालय, सडक विभाग र भौतिक पूर्वाधार मन्त्रालयमा उजुरी गरे । जसले गर्दा निर्माण कम्पनीको प्राविधिक मूल्यांकनको काममा ढिलाइ भयो ।

१० फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल र हेटौंडामा उजुरी पर्‍यो । अख्तियारको पत्र आएपछि योजना कार्यालयले ठेक्का प्रक्रियाको कागजात पठायो । १६ फागुनमा आर्थिक प्रस्ताव खोलियो ।

पावरहाउसदेखि रजतजयन्ती चोकसम्मको काम गर्न प्रस्ताव गर्ने ठेकेदार सागर/निरीक्ष जेभीले लागत अनुमान गरिएभन्दा ०.३४ प्रतिशत बढी रकम राखेर प्रस्ताव गरेको भन्दै ठेक्का रद्ध गरियो । अब यो खण्डमा काम लगाउन फेरि टेन्डर प्रक्रिया सुरु गर्नुपर्ने छ ।

समा कन्सट्रक्सनले १.३४ प्रतिशत कममा आर्थिक प्रस्ताव हालेको थियो । त्यसैको आधारमा २५ फागुनमा साढे तीन महिनामा काम सक्ने गरी योजना कार्यालयले समासँग सम्झौता पनि गर्‍यो । उसले काम सुरु गर्नका लागि सामान ल्याएर सडक किनारमा थुपारेको छ ।

तर मिलेमतोमा ठेक्का हुन लागेको भन्दै सगरमाथा इन्फ्राटेक प्रालिको तर्फबाट दीपेशमान महर्जनले सर्वोच्च अदालतमा १३ फागुनमा नै मुद्दा दर्ता गरे । पहिलो पेशी १८ फागुनमा राखे पनि हेर्न नभ्याइनेमा परेपछि त्यसको ४ दिनपछि अल्पकालीन अन्तरिम आदेश जारी भयो ।

सर्वोच्चले २९ फागुनमा छलफलका लागि बोलाउँदै ५ पुसमा प्रकाशित सूचनामा काम अघि नबढाउनु भनेर अल्पकालीन अन्तरिम आदेश जारी गरेको जानकारीसहितको पत्र २६ फागुनमा योजना कार्यालयमा आयो । जसले गर्दा निर्माणस्थलमा सामग्री झारेर काम अघि बढाउन खोज्ने निर्माण कम्पनीले पनि काम अघि बढाउन पाएको छैन ।

‘दुःख दिने नियत’

ठेक्का प्रक्रियामा सामेल नै नभएका निर्माण कम्पनी र सञ्चालकले दुःख दिने नियतले उजुरी गरेकाले समस्या भएको योजना कार्यालयका प्रमुख इन्जिनियर मनिषकुमार साह बताउँछन् ।

‘ई–बिडिङमार्फत ठेक्का भएको हो । ठेकदार जुनसुकै भए पनि हामीलाई कामसँग सरोकार हुन्छ’, उनले भने, ‘ठेक्का प्रक्रियामा सामेल नै नहुने अनि उजुरी गर्ने गलत प्रवृत्ति हो । यसमा दुःख दिने नियत स्पष्ट देखिन्छ ।’ बोलपत्र आह्वान भएदेखि खोल्दासम्म चुप लागेर बस्ने अनि सम्झौता प्रक्रिया सुरु भएपछि उजुरी गर्नुको पछाडि गलत नियत रहेको स्पष्ट हुने उनको तर्क छ ।

निर्माण कम्पनी सर्वोच्चको आदेशको पर्खाइमा छ । काम गर्नका लागि सर्वोच्चको आदेश पर्खेर बसेको समा कन्सट्रक्सनका सञ्चालक जहुर आलमले बताए ।

‘प्लान्ट, इक्युपमेन्ट यतै थियो,  नगरको काम हो फटाफट गरौं भनेर आवश्यक समान पनि खसाइसकेको छु’, उनले भने, ‘व्यक्तिगत रिसईवी साँध्न सर्वोच्चमा मुद्दा दिएर अल्झाइदिए । अब सर्वोच्चको आदेश पर्खेर बसेका छौं ।’ काम शुरु गरेको एक महिनामा सक्ने उनको लक्ष्य छ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?