+
+
स्थलगत ६ : स्थानीय निर्वाचन २०७९ :

धवलशमशेरले मैदान छोडेपछि नेपालगञ्जले खोजेको विकल्प

दिपेश शाही रघुनाथ बजगाईं दिपेश शाही, रघुनाथ बजगाईं
२०७८ चैत २३ गते २०:१८

२३ चैत, नेपालगञ्ज । २१ चैत दिउँसो नेपाली कांग्रेस बाँके जिल्ला पार्टी कार्यालयमा नेपालगञ्ज उपमहानगरपालिकास्तरीय छलफल थियो । छलफलको उद्देश्य थियो– चुनावी रणनीति र उम्मेदवारका आकांक्षीहरूको व्यवस्थापन ।

कांग्रेस कार्यकर्ता अनन्तनाथ भट्टराई मध्याह्नको गर्मी  छिचोल्दै पार्टी कार्यालय आइपुगे । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ को वडाअध्यक्षमा दाबेदारी प्रस्तुत गरेर उनी जिल्ला पार्टी कार्यालय पुगेका हुन् । कांग्रेसले जिल्लाभरका वडामा आकांक्षीलाई ‘टिकट पाऊँ’ भन्ने दाबीसहित निवेदन दिन कार्यकर्तालाई सर्कुलर जारी गरेको थियो । सोही अनुसार भट्टराईले पनि पार्टीको वडा कार्यालयमा निवेदन पेश गरेका हुन् ।

कार्यालय परिसरमा वडा र पालिकास्तरीय नेता–कार्यकर्ताको आवतजावत देखाउँदै भट्टराईले चुनावी सरगर्मीले आफूहरूलाई छोइसकेको बताए । ‘हामीलाई त चुनाव लागिसक्यो । म आफैं पनि वडाध्यक्षको उम्मेदवार हुँ । म जस्तै अरू पनि धेरै आकांक्षी हुनुहुन्छ’ उम्मेदवारीकै विषयमा छलफल गर्न नगर कमिटीको बैठकमा सहभागी हुन पुगेका भट्टराईले भने ।

उनले दाबी गरेको वडाअध्यक्षमा हालका दुई जना वडा सदस्यले पनि दाबी गरेका रहेछन् । त्यसकारण उनी जिल्ला कार्यालयमा भेटिने नेताहरूलाई आफू नै प्रमुख दाबेदार हुँ भनेर देखाउन खोजिरहेका थिए ।

तथापि, उनले वडाअध्यक्षमा विजयी भएपछि गर्ने कामका योजनाहरू अनलाइनखबरलाई पनि सुनाए, ‘अहिलेसम्म कृषकलाई राहत दिने र कृषकको जीवनस्तर उकास्ने काम हुनसकेको छैन । मेरो उम्मेदवारी यसैका लागि हो ।’ नेता–कार्यकर्ताको आवतजावत अन्य पार्टीका जिल्ला र नगर कार्यालयहरूमा पनि देखिन्छ ।

चैतमासको चर्को गर्मीले हुरुक्कै बनाउने गरी तातेको नेपालगञ्जलाई आसन्न स्थानीय तह निर्वाचनको राजनीतिले पनि उस्तै गरी तताएको छ । सडक आसपासमा टाँगिएका राजनीतिक दलका चुनाव चिह्न अंकित झण्डा र कार्यकर्ताहरूको दौडधुपले यो स्पष्ट देखाउँछ । भित्री सडकहरूमा पनि सडक नै ढाक्ने गरी जनप्रतिनिधिका आकांक्षीहरूले टाँगेका ब्यानरले उम्मेदवारी दर्ता नहुँदै कार्यकर्तालाई चुनाव लागिसकेको झल्को दिन्छ ।

विभिन्न वडादेखि पालिका तहसम्म नेता–कार्यकर्ताहरूको दौडधुप उस्तै छ । आकांक्षीहरू पार्टी कार्यालय पुग्ने, आफूले आकांक्षा राखेको पदको टिकटका लागि लबिइङ गर्ने गरिरहेका छन् भने जिल्ला तहका नेताहरू केन्द्रको निर्देशन बमोजिम विधि र मापदण्ड तय गर्ने, घोषणापत्र बनाउने जस्ता काममा जुटेका छन् ।

पासाङ ल्हामु मार्गमा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालय परिसरको दृश्यले पनि देखाउँथ्यो नेता–कार्यकर्तालाई चुनावले छोपिसक्यो । कार्यालय परिसरमा भेटिएका नेताहरू पार्टी बचाउने अभियानका रूपमा आसन्न चुनावलाई चित्रित गरिरहेका थिए । यही तर्क गरेर विभिन्न पदका आकांक्षीहरूलाई व्यवस्थापन गर्ने तरिका एमाले नेताहरूले अवलम्बन गरिरहेको देखिन्छ ।

चुनावबारे छलफल गर्दै नेकपा एमालेका नेता कार्यकर्ताहरु ।

सोमबार दिउँसो एमाले पार्टी कार्यालय पुग्दा मूल ढोका अगाडि एउटा र भित्र हलमा अर्को बैठक चलिरहेको थियो । भित्र चुनावी घोषणापत्र तय गर्न नेपालगञ्ज उपमहानगर कमिटीको बैठक बसिरहेको थियो । जहाँ नेताहरू के–कस्ता एजेण्डा उठाउने भनेर पालैपालो आफ्ना कुरा राखिरहेका थिए ।

बाहिर बाँके जिल्लाका पदाधिकारीको बैठक चलिरहेको थियो । जहाँ उम्मेदवार चयनको विधिबारे छलफल चल्दैथियो । निर्वाचन आयोगले संघीय र प्रदेशको समानुपातिक सूचीमा रहेका र सम्बन्धित स्थानीय तहमा ठेक्कापट्टाको जिम्मेवारी लिएकाहरूलाई उम्मेदवार हुन अयोग्य हुने भनेको विषयमा उनीहरू गमिरहेका थिए ।

समानुपातिकको सूची हेरेर र ठेकेदारीमा संलग्न रहेकाहरूको नाम टिपेर तिमीहरू उम्मेदवार हुन नपाउने भयौ भनेर आन्तरिक रूपमा जानकारी गराउने योजना एमाले नेताहरूले बनाइरहेका थिए । ‘ताकि उम्मेदवारको दाबी गर्दै पार्टी कार्यालय नपुग्दै उनीहरूलाई रोक्न सकियोस्’, एक नेताले भने ।

एमाले बाँके जिल्ला पार्टी कार्यालयका सचिव ऐनबहादुर हमाल सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्ने र पार्टीलाई जसरी पनि जोगाउने गरी नेताहरू छलफलमा केन्द्रित रहेको बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिका जसरी पनि जित्नुपर्ने दबाव आफूहरूलाई रहेको उनले सुनाए ।

चुनावी तालमेलबारे राप्रपासँग संवाद भए पनि टुंगो नलागेको भन्दै उनले थपे, ‘हामी एक्लै चुनाव लड्न तयार छौं ।’ अहिले एमालेलाई पार्टी प्रवेशको लहरले उत्साहित बनाएको उल्लेख गर्दै उनले थपे, ‘२०७४ मा हामी पराजित भयौं, यसपटक जसरी पनि जित्नुपर्छ भन्नेमा छौं ।’

नेपाली कांग्रेसको तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका आकांक्षी प्रशान्त बिष्टलाई हामीले जिल्ला पार्टी कार्यालयमा भेट्यौं । उनी कांग्रेस पार्टीको नगरसभापतिसमेत हुन् । मेयर पदका आकांक्षीमा उनी एक्ला छैनन्, अन्य धेरै प्रतिस्पर्धीलाई उछिनेर टिकट हत्याउने उनको दाउ छ ।

बिष्टलाई नै भेटेर र फोन गरेर वडाअध्यक्ष तथा सदस्यहरूको टिकट सुरक्षित गर्न खोज्ने कांग्रेस कार्यकर्ताहरू पनि उत्तिकै रहेछन् ।

‘फोन उठाउँदा उठाउँदा इरिटेशन भइसक्यो । इरिटेशन हुनु पनि एक खालको रोग जस्तै हो’ उनी आफूसरहका र माथिल्लो तहका नेताहरूलाई पार्टी कार्यालय परिसरमा सुनाउँदै थिए । ‘यो पनि राजनीति गर्ने एउटा शैली हो’, एक स्थानीय कार्यकर्ता भन्छन्, ‘कार्यकर्ताको तारन्तर फोनले इरिटेशन नै हुनु भनेको आफूप्रति कार्यकर्ताको विश्वास र भरोसा छ भन्ने देखाउनु हो । यस्तो कुरा सुनाएर नेताको मन पगाल्न खोजिएको हुन सक्छ ।’

माओवादी केन्द्रका नेता–कार्यकर्ताहरू नगर कमिटीको कार्यालयमा बसेर छलफल गर्ने, उम्मेदवारहरूका आकांक्षीहरूको नाम तयार गर्ने काममा लागेका छन् ।

धवलशमशेरले मैदान छोडेपछि

बाँकेका ८ वटा स्थानीय तहमध्ये राजनीतिक दलहरूको मुख्य ध्यान नेपालगञ्ज उपमहागरपालिकामा छ । यसको मुख्य कारण हो– राप्रपाका महामन्त्रीसमेत रहेका हालका मेयर धवलशमशेर राणाले पुनः मेयरमा नउठ्ने घोषणा गर्नु ।

राणा भन्छन्, ‘लामो समय स्थानीय तहको नेतृत्वमा रहेर नेपालगञ्जमा विकासको नयाँ मोडलको अभ्यास गरें । अब त्यसलाई केन्द्रीयस्तरमा अभ्यास गर्ने योजनामा छु ।’ अर्थात्, राणा अब बाँके जिल्लाबाट आगामी संघीय चुनाव लड्न चाहन्छन् ।

राणाले पुनः मेयरमा नउठ्ने घोषणा गरेपछि नेपालगञ्जको राजनीतिक सरगर्मी बदलिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मेयरका नयाँ-नयाँ दाबेदार थपिएका छन् ।

स्थानीय राजनीतिबारे जानकार सम्पादक झलक गैरे भन्छन्, ‘धवलशमशेर राणाको व्यक्तित्वलाई हेरेर आउने भोटका कारणले उनी पुनः उठ्ने वा नउठ्ने निर्णयले नेपालगञ्जमा ठूलो अर्थ राख्छ ।’

लामो समयसम्म नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा रहेका राप्रपा नेता धवलशमशेर राणाले मैदान खाली गरेपछि नगर नेतृत्वमा पुग्न एमाले, सत्ता गठबन्धन, राप्रपा र मधेशवादी दलहरू आ–आफ्नो रणनीति निर्माणमा व्यस्त छन् । तर जित–हारको तस्वीर अझै अस्पष्ट छ ।

नेपालगञ्जमा विकासप्रेमी नेताको छवि बनाएका धवलशमशेरलाई विगतमा पार्टीको भन्दा व्यक्तिगत भोट बढी आएकाले पनि उनले चुनाव उठ्ने वा नउठ्ने, नउठ्दा कसलाई सहयोग गर्ने भन्ने विषयले अर्थ राख्ने भन्दै उनी थप्छन्, ‘जित–हारकै विषयमा केही भन्न चाहिं चुनावी परिणाम नै पर्खिनुपर्छ ।’

धवलले स्थानीय तह छोडेर संघ ताकेपछि नेपालगञ्जमा अन्य पार्टीहरूमा मेयरको टिकट माग्ने र त्यस अनुसार तयारी गर्दै पार्टीको केन्द्रीय नेतृत्व गुहार्नेहरू बढेका छन् । यसका पछाडि धवलको व्यक्तिगत भोट तान्ने क्षमता मुख्य कारण हो ।

राणालाई भेट्न एमाले अध्यक्ष केपी ओली नेपालगञ्ज नै आएका थिए । ओलीले नै चुनावी तालमेलको प्रस्ताव गरेको तर, निर्णय हुन बाँकी रहेको बताउँछन्, राप्रपाका सहमहामन्त्री ऋषिराम देवकोटा । ‘एमाले अध्यक्ष आउनुभयो र तालमेलको प्रस्ताव राख्नुभयो । बाहिर तालमेल हुने भनेर आयो । तर, निर्णय भएको छैन’, देवाकोटाले अनलाइनखबरसँग भने ।

केपी ओलीको तालमेलको प्रस्तावलाई धवलको व्यक्तिगत भोट तान्ने प्रयासका रूपमा बुझ्दछन् स्थानीय नेताहरू । धवलशमशेर विगतमा एमाले नै भएको र एमालेले नै २०५४ सालमा मेयर बनाएको भनेर एमाले नेताहरू प्रचार गरिरहेका छन् । नेकपा एमाले बाँके जिल्ला पार्टी कार्यालयका सचिव ऐनबहादुर हमाल भन्छन्, ‘धवललाई उठाए जित्छन् भनेर हामीले नै सुरुमा मेयर बनाएका हौं ।’

२०५१ सालमा भएको मध्यावधि चुनावमा नेपालगञ्जबाट स्वतन्त्र उम्मेदवार उठेर पराजित भएका थिए धवल । त्यसपछि एमाले प्रवेश गरेका धवललाई एमालेले २०५४ सालको स्थानीय चुनावमा टिकट दियो र विजयी भए । तर, २०६२-६३ सालको जनआन्दोलनअघि नै धवलले एमाले छोडे । २०७४ को चुनावमा उनी राप्रपाबाट पुनः नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा विजयी भए । तर राप्रपाकै उपमेयर उम्मेद्‍वार रमारानी गुप्ता पराजित भइन् ।

धवलको कामका कारण २०७४ मा भन्दा पार्टीको भोट बढेको बताउँछन् राप्रपा नेताहरू । सहमहामन्त्री देवकोटा भन्छन्, ‘हामीले २०५४ सालमा जितेर काम गर्‍यौं, द्वन्द्वले रोक्यो । अहिले फेरि अवसर पाउँदा विकासको नयाँ मोडल दिनसकेका छौं । यसकारण अहिले हाम्रो पार्टीको भोट बढेको छ ।’

पार्टीले आफ्नै ढंगले चुनावको तयारी गरिरहेको उनको भनाइ छ । राप्रपा फुटेर राप्रपा नेपाल बनेको छ नि ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘४-५ जना गएर राप्रपालाई केही फरक पर्दैन । राप्रपाले आफ्नो ढंगले जित्नेगरी चुनावको तयारी गरिरहेको छ ।’

एमालेबाट मिश्र एक्ला दाबेदार

नेपालगञ्जको मेयरमा एमालेबाट पशुपति दयाल मिश्र अहिलेसम्मका एक्ला दाबेदार हुन् । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूहका उनी सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरे पनि पराजित भए ।

केही महिना अघि एमालेमै प्रवेश गरेका मिश्रलाई यो पटक एमालेले नेपालगञ्जको मेयरका रूपमा अगाडि सारेको छ । यसअघि आफू हारे पनि अब सिङ्गो एमाले आफूसँग भएकोले यसपटक विजयी हुने उनको दाबी छ । एमाले नेताहरूका अनुसार अहिलेसम्म मिश्र बाहेक अरू कसैले मेयरमा खासै दाबी गरेका पनि छैनन् ।

कांग्रेसभित्र अन्तरसंघर्ष

नेपाली कांग्रेसमा सुरेश कनोडिया, उमा थापा मगर, प्रशान्त बिष्ट मेयर पदका प्रबल दाबेदारका रूपमा देखा परेका छन् । कनोडिया २०७४ को चुनावमा मेयरमा पराजित उम्मेदवार हुन् । कनोडिया पराजित हुँदा कांग्रेसबाटै उपमेयरमा भने उमा थापा मगर विजयी भएकी थिइन्, जो अहिले मेयरको दाबेदार हुन् ।

प्रशान्त बिष्ट हाल कांग्रेसको उपमहानगर समिति सभापति हुन् । तीनै जनाको मेयरमा दाबीको आ–आफ्नै तर्क छन् । कनोडिया अघिल्लो पटक पार्टीले नै अन्तर्घात गरेर पराजित भएको भन्दै पुनः अवसर पाउनुपर्ने बताउँछन् ।

उनको पार्टी सभापति शेरबहादुर देउवा र देउवा पत्नी आरजु राणासँग सीधा संवाद भइरहेको कतिपय कांग्रेसकै नेताहरू बताउँछन् । नेपालगञ्ज मेडिकल कलेजका संचालक रहेका कनोडिया आर्थिक रूपमा सबल मानिन्छन् ।

उमा थापा मगर हालकी उपमेयर हुन् । उपमेयरले मेयर चलाउन सक्छ भन्ने देखाउनुपर्छ र महिलालाई सधैं ‘उप’मा राख्नुहुन्न भन्ने कांग्रेसले नेपालगञ्जबाटै देखाउनुपर्ने उनको तर्क छ ।

‘उपमेयरमा पाँच वर्षको अनुभव मेरो मेयर पदमा प्रबल दाबेदारी हो । अनुभव मात्रै छैन काम पनि गरेको छु । मैले आफूलाई मेयर भन्दा कम हुन नदिएकाले पनि मैले यस पटक मेयरमा टिकट पाउनुपर्छ’, थापा मगरले अनलाइनखबरसँग भनिन् ।

संविधानले नै मेयर, उपमेयरमा एक जना महिला भनेको छ । तर, विगतमा पार्टीहरूले ९४ प्रतिशत महिलालाई उपमेयर बनाए । अब पनि त्यही संस्कृतिलाई निरन्तरता दिनुहुन्न भन्ने आफ्नो मत रहेको भन्दै उनले थपिन्, ‘पार्टी समावेशी भएछ भन्ने सन्देश दिन पनि महिलालाई मेयरमा टिकट दिनुपर्छ ।’

अर्का दाबेदार बिष्टका आफ्नै तर्क छन् । पटक–पटक अवसर लिएकालाई थप अवसर दिने मात्र नभई नयाँलाई पनि अवसर दिनुपर्छ भन्ने उनको भनाइ छ । अहिले उपमहानगरपालिका सभापति पनि भएकाले स्वाभाविक रूपमा आफू मेयरको दाबेदार भएको उनको तर्क छ । ‘नगरसभापति भनेको नगरको दाबेदार हैन र ?’ उनको प्रतिप्रश्न छ ।

मेयर पाउने माओवादी आश

कांग्रेसभित्र मेयरका दाबेदारहरूको अन्तरसंघर्ष चर्किरहेको बेला माओवादी केन्द्र भने आफ्नो पार्टीले मेयर पाउने आश राखेर बसेको छ ।

केन्द्रबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने निर्णय भएको छ। त्यसको गृहकार्यमा नेपालगञ्ज पनि छ ।

गृहकार्य जारी रहेकाले माओवादी केन्द्र, केन्द्रबाट नै मेयर र उपमेयर कसले लिने भन्ने निर्णय होस् भन्ने चाहन्छ । एक स्थानीय नेता भन्छन्, ‘माओवादीले मेयर, कांग्रेसले उपमेयर लिने र बाँकी वडाहरूमा मिलाउने भन्ने छ । सोही अनुसार हाम्रो तयारी छ ।’

यही सोचले मेयर आफूले पाउने अपेक्षामा माओवादी केन्द्रभित्र दौडधुप चलिरहेको छ । नेपालगञ्जमा माओवादी केन्द्रलाई पार्टीका रूपमा स्थापित गराउने नेता भनेर स्वर्गीय दामोदर आचार्यलाई भनिन्छ ।

केही समय अगाडि दामोदरको निधन भएपछि उनको विरासत कसले लिने ? भन्ने भइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै दामोदरकी श्रीमती पार्वता आचार्यलाई अगाडि सार्नुपर्ने अभिव्यक्ति दिएका कारण जिल्लाका अरू आकांक्षी मौन छन् ।

दामोदरको १३औं तिथिमा नेपालगञ्ज आउँदा प्रचण्डले ‘दामोदरको उत्तराधिकारीको रूपमा पार्वता आचार्य अगाडि सर्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । यसकारण पार्वता आचार्यलाई मेयरको दाबेदारका रूपमा हेरिएको छ ।

यसको अलावा नन्दलाल वैश्य, आदेशकुमार अग्रवाल र नवीन शर्मा माओवादीका तर्फबाट मेयरका दाबेदार छन् । वैश्य उद्योग वाणिज्य महासंघबाट राजनीति गर्दै आएका नेता हुन् । आदेशकुमार अग्रवाल मधेश केन्द्रित दलबाट राजनीति सुरु गरेर माओवादी भएका हुन् ।

नवीन शर्मा लामो समयदेखि नेपालगञ्जमै रहेर राजनीति गर्दै आएका नेता हुन् । ‘२०५८ सालदेखि नेपालगञ्जमा रहेर राजनीति गर्दै पार्टी बनाउँदै आएको छु । २०-२१ वर्षसम्म यहाँको इन्चार्ज भएँ । अहिले उपमहानगरको इन्चार्ज र लुम्बिनी प्रदेश कमिटी सदस्य छु’ शर्मा थप्छन्, ‘२०७४ सालमा पनि मेयरको दाबी गरेको थिएँ प्रदेशमा लड्नुहोला भनियो । पछि गठबन्धन भयो भनेर प्रदेशमा छोडियो । यसकारण यसपटक मेयरमा मैले अवसर पाउनुपर्छ भन्ने हो ।’

गठबन्धनमा नरहने जसपाको पत्र

केन्द्रमा पाँचदलीय गठबन्धन छ । सोही अनुसार गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्ने केन्द्रीय निर्णय छ । तर, यसको अर्थ तालमेल गर्नैपर्छ भन्ने नरहेको बुझाइमा छन् नेपालगञ्जका जसपा नेताहरू । एक नेता भन्छन्, ‘गठबन्धनले भनेको हो । यसको अर्थ गठबन्धन बाहिर तालमेल गर्न नपाउने भन्ने होइन होला । ठीक छ हामी कसैसँग गठबन्धन गर्दैनौं ।’

जसपाले नेपालगञ्जमा कसैसँग गठबन्धन नगर्ने भनेर गठबन्धनलाई लिखित रूपमै जानकारी समेत गराएको छ । जसपा जिल्ला अध्यक्ष कमरुद्दिन राय भन्छन्, ‘बाँकेमा हामीले यसअघि पनि गठबन्धन विनै जित हासिल गरेका छौं । त्यसैले यसपटक पनि कसैसँग गठबन्धन नगर्ने हाम्रो निर्णय छ । यही निर्णय गठबन्धनका दलहरूलाई लिखित रूपमै बुझाइसकेका छौं ।’

उनले चार वटा पालिकामा एक्लै चुनाव लड्ने औपचारिक निर्णय गरेको बताए । ‘नेपालगञ्ज उपमहानगर, नरैनापुर, जानकी र डुडुवा गाउँपालिकामा हामी गठबन्धन गर्दैनौं । बाँकी चार वटामा गठबन्धन गर्ने भए त्यसका लागि तयार छौं’ रायले अनलाइनखबरसँग भने । राय आफैं पनि जसपाबाट नेपालगञ्ज उपमहानगरको मेयरका दाबेदार हुन् ।

हेर्नुहोस् नेपालगञ्जको चुनावी चहलपहलका थप तस्वीरहरु

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?