+
+

चर्च ब्वाइजको सपना पूरा भएको क्षण

‘२०६६ सालमा क्लब स्थापना भएपछि हामी ‘सी’ डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल थियौं । ‘सी’ डिभिजन लिगका लागि छनोट भएदेखि नै शीर्ष डिभिजन खेल्ने सपना थियो । आजको दिन हाम्रो लागि सपना पूरा भएको क्षण हो ।’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७८ चैत २२ गते १९:३०
Photo Credit : CBU

२२ चैत, काठमाडौं । सातदोबाटोको एन्फा मैदानमा बाँसबारी क्लबलाई ५–१ ले पराजित गरेपछि चर्च ब्वाइज युनाइटेडका खेलाडी र अफिसियलले ठूलो खुसियाली मनाए । तीन वर्षको बीचमा ‘सी’ डिभिजन छनोट हुँदै शीर्ष डिभिजनमा बढुवा हुनु उनीहरुका लागि सपना पूरा भएको क्षण थियो ।

शहीद स्मारक ‘बी’ डिभिजन लिगमा १४ टोली प्रतिस्पर्धामा छन् । यसबाट शीर्ष दुई टोली ए डिभिजनमा उक्लनेछन् । चर्च ब्वाइजले एक खेल अगावै उपाधि निश्चित गरेर चर्च ब्वाइज शीर्ष डिभिजनमा बढुवा हुँदा अर्को टिमको टुंगो लाग्न बाँकी छ ।

‘बी’ डिभिजन लिगमा १२ खेलबाट चर्च ब्वाइजको २६ अंक भएको छ । उसले ८ खेल जितेको छ, २ खेल बराबरी र २ खेलमा हार ब्यहोरेको छ । प्रतियोगिताभर अहिलेसम्म २९ गोल गर्दा ११ गोल खाएको छ ।

मनाङ र हिमालयन शेर्पाको बाटो पछ्याउँदै

नेपालको फुटबलमा यसअघि मनाङ मर्स्याङदी र हिमालयन शेर्पा क्लबले लगातार फड्को मार्दै ‘डी’देखि ‘ए’ डिभिजनसम्मको यात्रा तय गरेका थिए । अहिले ‘डी’ डिभिजनको व्यवस्था हटाएर ‘सी’ डिभिजन छनोट खेलाउने गरिएको छ ।
२०७६ सालमा सी डिभिजन छनोटको उपाधि जितेको चर्च ब्वाइजले गत वर्ष चैतमा ‘सी’ डिभिजन लिगको उपाधि उचालेको थियो । तीन वर्षको अन्तरमा लगातार उपाधिसँगै शीर्ष डिभिजनमा पुग्ने सफलतामा मनाङ र शेर्पापछि चर्च ब्वाइजको पनि चर्चा हुनेछ ।

‘२०६६ सालमा क्लब स्थापना भएपछि हामी ‘सी’ डिभिजन छनोटमा लगातार पाँचपल्ट असफल थियौं । ‘सी’ डिभिजन लिगका लागि छनोट भएदेखि नै शीर्ष डिभिजन खेल्ने सपना थियो । आजको दिन हाम्रो लागि सपना पूरा भएको क्षण हो,’ स्थापनादेखि नै क्लबको नेतृत्व गरिरहेका रुवेन राईले अनलाइनखबरसँग भने, ‘१२ वर्षको अन्तरमा हामीले मोफसलका नकआउट प्रतियोगितामा नियमित सहभागिता जनाएर ३० वटा उपाधि जितेका थियौं । क्लबको यो सफलताका लागि यसअघि योगदान गरेका सम्पूर्णलाई श्रेय जान्छ ।’

नेपाली फुटबलका दुई पुराना क्लबहरु रानीपोखरी कर्नर टिम आरसीटी र ब्वाइज युनियन तथा गत संस्करणको उपविजेता खुमलटार युथ क्लबलगायतको चुनौति पन्छाउन चर्च ब्वाइजलाई सहज थिएन । तर, अध्यक्ष राई टिमबाट यस्तो नतिजा अपेक्षित रहेको बताउँछन् ।

‘पहिलो कुरा त हामीले ए डिभिजन लिग खेल्न नपाएका उत्कृष्ट खेलाडीहरु अनुबन्ध गर्‍यौं । एन्फाले लिगको सूचना निकाल्ने वित्तिकै प्रशिक्षण सुरु गर्‍यौं,’ राईले सफलताको कारण खुलाए, ‘अरु टिमले प्रशिक्षण सुरु गर्दा हाम्रो टिम सेट भइसकेको थियो ।’ टिमलाई ३ महिना प्रशिक्षणमा राखेकाले राम्रो प्रदर्शन सम्भव भएको राईले बताए ।

फुटबलको भोक शान्त पार्न राईले राष्ट्रिय खेलकुद परिषद, ललितपुरमा क्लब दर्ता गरेका थिए । क्लब निर्माण गरी फुटबल खेल्ने उनको योजना थियो । दर्ता भएपछि सहयोगी बढ्दै गए । सपना थपिँदै गयो । २०६७ सालमा सी डिभिजन छनोटमा दोस्रो भएको टिमले त्यसपछि लगातार चार संस्करणमा सफलता पाउन सकेन ।

विक्रम लामा, रुवेन राई र रमेश दंगाल ।

यसबीचमा मोफसलका गोल्डकपहरु खेलिरहेकै थियो । चर्च ब्वाइजले दमक गोल्डकप, बसाहा गोल्डकप, पाथीभरा गोल्डकप, दुहवी गोल्डकप, सुरुङ्गा गोल्डकपलगायत मोफसलका नकआउट प्रतियोगिता जितेको छ । अहिले राष्ट्रिय टोलीका सदस्या तेज तामाङ, दिनेश राजवंशीलगायतले चर्च ब्वाइजबाटै खेलेका थिए । अध्यक्ष राईले यो सफलताका लागि यसअघि आफ्नो टिमबाट खेल्ने तथा सहयोग गर्ने सबैको योगदान रहेको बताए ।

राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर विक्रम लामाको अदृश्य सहयोगलाई पनि क्लबले राम्रो मूल्यांकन गरेको छ । ए डिभिजन लिगमा थ्रीस्टारका कप्तान विक्रम आफ्नो करिअरको सुरुवातदेखि नै कुनै न कुनै भूमिकामा चर्च ब्वाइजसँग अनुबन्धित छन् ।

आधिकारिक भूमिकामा नरहे पनि बी डिभिजन लिगको उपाधि दिलाउन विक्रमको रणनीतिले धेरै सहयोग गरेको छ । गत वर्ष नेपाल सुपर लिग (एनएसएल)मा धनगढी एफसीबाट खेलेका रमेश दंगाल सहायक प्रशिक्षकका रुपमा टिममा अनुबन्ध छन् ।

‘चर्च ब्वाइज’ नाममा शंका नगर्न आग्रह

अध्यक्ष राईले सुरुमा हिमालयन ब्वाइजको नामबाट क्लब दर्ता गर्न खोजेका थिए । यो नाम यसअघि नै प्रयोग भइसकेको भनेपछि बिकल्प खोज्ने क्रममा उनको दिमागमा चर्च ब्वाइज आयो । इलाम माइ नगरपालिका स्थायी घर भएका राई क्रिष्टियन धर्मवलम्वी हुन् ।

‘आमरुपमा नेपालमा क्रिष्टियनहरुलाई झोले, डलरे आदि आरोप लगाइन्छ । हामी क्रिष्टियनले पनि खेलको विकासका लागि आफ्नो तर्फबाट लागि पर्नुपर्छ भन्ने मान्यताले फुटबलबाट योगदान दिने उद्देश्यसहित यो क्लब स्थापित भएको हो,’ राईले प्रष्ट पारे, ‘हामी फिफा, एएफसी र एन्फाको मार्गनिर्देशनको पालना गछौं । नेपालको कानून र संविधानको अधिनमा रहेर योगदान दिन चाहन्छौं ।’

फुटबलको अन्तर्राष्ट्रिय नियममै धर्मप्रचारको माध्यम हुन नपाउने उल्लेख छ । धर्म प्रचारका लागि फुटबल क्लब नखोलिएको र धर्म प्रचार नगर्ने राईले प्रष्ट पारेका छन् । उनले भने, ‘हामीलाई नामसँग जोडेर धारणा नबनाउनुहोला । क्लबको सञ्चालक समितिमा सबै धर्मका व्यक्ति हुनुहुन्छ । फुटबल विकासका लागि धर्मभन्दा माथि उठेर सामुहिक भावनाबाट लागिरहेका छौं ।’

चर्च ब्वाइज क्लबका अध्यक्ष रुवेन राई ।

चर्च ब्वाइजलाई उसको आर्थिक आम्दानीको श्रोतमा पनि विदेशी सहायताको आरोप लाग्न थालेको छ । ४८ लाख रुपैयाँ बजेटमा विदेशी दातृ निकायबाट कुनै पनि रकम नआएको अध्यक्ष राईले प्रष्ट पारेका छन् ।

‘अहिलेसम्म हामी सञ्चालक समितिकै व्यक्तिहरुबीच पैसा उठाएर क्लब चलाइएको छ’, उनले भने । चर्चहरु नै फुटबल वा कुनै पनि खेलकुदको विपक्षमा रहने गरेको भन्दै अध्यक्ष राईले क्लबले धर्म प्रचार नगर्ने दोहोर्‍याए ।

क्लबलाई मोफसलमा केन्द्रित गर्ने लक्ष्य

ए डिभिजनमा बढुवा भएपछिको रणनीतिबारे क्बले अहिलेसम्म कुनै योजना बनाएको छैन । बी डिभिजनकै एउटा खेल बाँकी छ । तर, शीर्ष डिभिजनका टोलीले एएफसी क्लब लाइसेन्स पाउनका लागि अनिवार्य रुपमा केहि मापदण्ड पूरा गर्नुपर्छ । क्लबको आफ्नै एकेडेमीदेखि उमेर समूहको टिम र मैदान हुनुपर्ने व्यवस्था छ ।

‘लिग सकिएपछि हामी क्लबको कार्यसमितिबाट भावी योजनाबारे छलफल गर्नेछौं । पक्कै पनि शीर्ष डिभिजनमा धेरै चुनौतिहरु हुनेछन् । मुख्य कुरा त आर्थिक चुनौति नै हो । क्लबको व्यवस्थापन र उत्कृष्ट टिम निर्माणका लागि हामी प्रायोजक, शुभचिन्तक तथा क्लबका पदाधिकारीको सहयोग नै मुख्य हुनेछ,’ अध्यक्ष राईले भने ।

उनले क्लबको फुटबल गतिविधिलाई मोफसल केन्द्रित गर्नुपर्ने व्यक्तिगत सोचाइ सुनाए । ‘फुटबलका उत्कृष्ट प्रतिभाहरु गाउँमा छन् । उनीहरुकै घरदैलोमा पुगेर वातावरण सुहाउँदो अभ्यास र प्रशिक्षणको व्यवस्था किन नगर्ने भन्ने लागेको छ,’ राईले भने । त्यसका लागि पूर्वको इलाम, झापा वा मोरङमध्ये एक स्थानमा क्षेत्रीय एकेडेमी स्थापना गरी नियमित प्रशिक्षणको व्यवस्था मिलाउने उनको योजना छ ।

‘काठमाडौंमा हाम्रो केन्द्रीय एकेडेमी रहनेछ । हामीले अहिले पनि मनकामना स्कुलसँग सहकार्य गरिरहेका छौं,’ अध्यक्ष राईले भने, ‘क्षेत्रीयस्तरमा पूर्वमा एउटा एकेडेमी स्थापना गरी खेलाडी उत्पादन गर्नेछौं ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?