+

कण्डम प्रयोगमा हिच्किचाहट किन ?

२०७८ चैत  २३ गते १७:४० २०७८ चैत २३ गते १७:४०
कण्डम प्रयोगमा हिच्किचाहट किन ?

म कार्यरत बाजुरास्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा गत वर्ष फागुन ७ गते पहिलोपटक शल्यक्रिया गरी आकस्मिक प्रसूति गराइयो । तीन दिनदेखि व्यथा लागेर प्रसूति हुन नसकेकी मुगु, खत्याड गाउँपालिका-१० की सरिता कार्की (परिवर्तित नाम)को बाजुराको कोल्टीमै शल्यक्रिया गरेर बच्चा निकालिएको थियो ।

कार्कीले चौथो सन्तानको जन्म दिंदै थिइन् । तर जब चौथो सन्तानका रुपमा समेत छोरीको जन्म भयो । सरिता न खुसी हुन सकिन् न दुःखी नै । छोराको रहरमा पटकपटक छोरी जन्माइरहँदा उनी आफैंसँग हारेको जस्तै महसुस गरिरहेकी थिइन् । एक त परिवारको अपेक्षा विपरीत छोरी जन्मिनु, अर्को चाहिं लालनपालन गर्नैै गाह्रो हुनु ।

त्यसअघि जन्मेका सन्तानको पनि राम्ररी पालनपोषण हुन सकिरहेको थिएन । अब पनि छोरी जन्मिएकी छे । उनलाई कसरी पाल्छन् होला ? ती विवश आमा, जो परिवारको रहर पूरा गर्न आफैंलाई पीडा दिंदैछिन् । नौ महिना गर्भमा शिशु हुर्काउनु र त्यसलाई जन्म दिनु कति कष्टकर हुँदो हो ?

डा. अच्युतशाली घिमिरे

छोराको लोभमा आफ्नी श्रीमतीलाई कुनै सन्तान उत्पादन गर्ने कारखाना जस्तै बनाउने श्रीमानले उनको पीडा बुझेका छैनन् । प्रसूति पीडा खेप्न कति गाह्रो हुन्छ भन्ने अनुभूत गरेका छैनन् । त्यसैले उनीहरु पटकपटक यौन सम्पर्क गरिरहन्छन्, ताकि छोरा जन्मियोस् ।

छोराको रहरमा बच्चा जन्माइरहँदा आमाको स्वास्थ्य त कमजोर हुने नै भयो, जन्मिएका बालबच्चालाई पालनपोषण गर्न पनि कठिन हुन्छ । उचित खानपानको अभावमा बच्चाहरु कुपोषित हुन्छन् । अर्कोतिर अभाव र भोकमरीको डरलाग्दो शृंखलाले सामूहिक आत्महत्या गर्न समेत उकास्ने गरेको पाइन्छ ।

किशोरीहरु पनि गराउँछन् गर्भपतन

बाजुरा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आउने अरु घटना भनेको अविवाहितहरुको पनि छ । लहडमा असुरक्षित यौन सम्बन्ध राख्ने र अनिच्छित गर्भ रहने क्रम देखिन्छ । गर्भ रहेपछि चिकित्सकको परामर्शबिना नै गर्भपतन गराउन हतारिन्छन् । गर्भपतनका लागि खासगरी उच्च डोजको औषधि खाने गरेको पाइएको छ । जब उनीहरुमा कुनै स्वास्थ्य जटिलता देखापर्छ, तब अस्पताल आउनैपर्ने हुन्छ ।

मैले यहाँ के पनि पाएँ भने यौन सम्बन्धलाई हलुका रुपमा लिने । किशोर पुस्ता प्रेमलाई यौनसँग जोडेर बुझ्ने रहेछन् । त्यसैले प्रेम गर्नासाथ यौन सम्बन्ध राख्न हतारिन्छन् । प्रेम गर्नु भनेकै वा मनोरञ्जन गर्नु भनेकै यौन हो भन्ने बुझाइ रहेछ । तर अपरिपक्क उमेरमा र खासगरी लहडमा गरिने असुरक्षित यौन सम्बन्ध राख्न पुग्छन् । यसले यौनजन्य रोग निम्याउने त छँदैछ गर्भ रहने जोखिम पनि हुन्छ ।

किशोरवयमा अझ भनौं विवाहअघि यौन सम्बन्ध राख्नु उचित कि अनुचित ? यो बेग्लै बहसको विषय हो । तर विवाहअघि असावधानीपूर्ण गरिने यौन सम्बन्धले दुर्घटना निम्त्याउने गरेको पाइन्छ । जोसमा होस गुमाउँदा त्यसको नतिजा भयानक हुने नै भयो ।

सुरक्षित यौन सम्बन्धका लागि कण्डम प्रयोग गर्नुपर्छ भन्ने कुरा सायद सबैलाई थाहा छ । यद्यपि यौन सम्पर्कका क्रममा कण्डम जस्ता सुरक्षित विधि अपनाउन झन्झट मान्छन् । कण्डम हाम्रै स्वास्थ्य केन्द्रमा पाइन्छ, त्यो पनि निःशुल्क । आफूलाई चाहेअनुरुप यहाँबाट लैजान सकिन्छ । यद्यपि उनीहरु स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने कण्डम पनि बोक्दैनन् ।

औषधि पसलमा गएर कण्डम खरिद गर्दा हामीलाई लाज लाग्छ । चिनेजानेका वा साथीभाइले केही भन्छन् कि भनेर डर लाग्छ । स्वास्थ्य केन्द्रमा गएर कण्डम लैजान पनि असहज मान्छन् । यस किसिमको मनोवृत्तिले गर्दा असुरक्षित यौन सम्बन्धको शृंखला बढ्दो छ ।

सुरक्षित यौन सम्बन्धका लागि कण्डम निकै उपयोगी विधि हो । यसले अनिच्छित गर्भ रहने भय मात्र कम गर्दैन, यौनजन्य संक्रमण वा रोग सर्ने जोखिम पनि हुँदैन । कण्डमको उपयोगिता र महत्वबारे अधिकांशलाई ज्ञान पनि छ । कण्डम किन, कसरी र केका लागि प्रयोग गर्ने भन्ने कुराबाट सायदै बेखबर होलान् । तैपनि कण्डम खरिद गर्न मान्छेहरु लजाउँछन् । कण्डम प्रयोग गर्न झन्झट मान्छन् ।

किन लाज ?

अविवाहित होस् वा विवाहित, सन्तानको रहर नहुँदा सुरक्षित विधिहरु अपनाएर यौन सम्बन्ध राख्न उचित हुन्छ । असुरक्षित यौनपछि आपतकालीन पिल्स खानु, गर्भपतन गर्नुभन्दा उत्तम हो, कण्डमको प्रयोग गर्नु ।

त्यसैगरी सन्तानको रहर पुगेका महिला तथा पुरूष दुवैले स्थायी बन्ध्याकरण गर्न सक्छन्  । हाम्रै स्वास्थ्य केन्द्रमा समेत पुरुषहरुले कण्डमप्रति अनिच्छा देखाएर हो कि किन हो महिलाहरुले धेरैले डिपोप्रोभेरा लगाउन आउने गर्छन् । डिपोप्रोभेरा तीन-तीन महिनामा दिने इन्जेक्सन हो । महिलाले डिपोप्रोभेरा जुनसुकै उमेरमा पनि लगाउन सक्छन् ।

धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउँदैन । महिलाले इन्जेक्सन लगाउँदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६ देखि ९ महिनापछि मात्र गर्भाधारण गर्न सक्छन् ।

पाप लाग्दैन

कर्णाली र सुदुरपश्चिमका पहाडी भेगमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्दा श्राप लाग्ने कथन र छोराको व्यापक चाहना हुनाले समेत बच्चा निरन्तर जन्माएर आफ्नो स्वास्थ्य नै प्रतिकूल बनाएका आमाहरु धेरै छन् । लगातार सातदेखि ११ जनासम्म छोरी-छोरी पाउँदा समेत छोरा पाउने धित मरेको हुँदैन । छोरा पाएपछि स्वर्ग जाने बाटो खुल्ने र बुढेसकालमा आराम मिल्ने नाटीकुटी र अन्धविश्वासमा महिलाहरु लगातार सानै उमेरमा बच्चा जन्माइरहन्छन् । यसकै कारण पाठेघर खस्ने, ढाड दुख्ने तथा सेतो पानी बग्ने समस्या लिएर स्वास्थ्य केन्द्र आइपुगेका हुन्छन् ।

त्यसैले अविवाहित र विवाहित दुवै उमेर समूहले यौन सम्पर्कमा अस्थायी परिवार नियोजनका साधन प्रयोग गर्दा आफ्नै स्वास्थ्य र शरीरप्रति जिÞम्मेवार हुन सिकाउँछ । अनेक भ्रममा परी क्षणिक मज्जाका लागि दुर्घटनाको बाटो नरोजौं ।

कण्डम स्वास्थ्य
लेखक
डा. अच्युतशाली घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?